जोखिम बढे लकडाउनको विकल्प छैन
भारतका धेरै सहरमा तीव्र रूपमा कोरोना संक्रमण बढेको छ । खुला सिमानाका कारणले नेपालमा पनि त्यसको प्रभाव पर्न सक्ने देखिएको छ । हाम्रा धेरै नेपाली दाजुभाइ रोजगारीका लागि भारत गएका छन् । यतिबेला उनीहरू फर्किने क्रम तीव्र रूपमा बढिरहेको छ । लुम्बिनी प्रदेशका केही जिल्ला, कर्णाली प्रदेशका झन्डै सबै जिल्ला र सुदूरपश्चिम प्रदेशका धेरै मानिस पश्चिम नाका भएर नेपाल फर्कन्छन् भने एक नम्बर प्रदेशको काँकडभिट्टा र विराटनगरको जोगवनी नाकाबाट पनि उत्तिकै मात्राम नेपाली फर्कने गरेका छन् । यसैगरी वीरगन्ज नाकाबाट पनि नेपाली फर्कने क्रम जारी छ । यिनै नाका भएर दिनहुँ हजारौंको संख्यामा नेपाल आउने क्रम जारी रहँदा नेपालमा कोरोना फेरि भित्रिने खतरा पनि बढेको छ । विदेशमा रहेका नेपाली नेपाल आउने क्रम बढेसँगै नेपालमा कोरोनाको जोखिम ह्वात्तै बढेको हो । कोरोना जोखिम बढेसँगै नेपालगन्जमा नेपालगन्ज उपमहानगरपालिकाले एक साताका लागि स्कुल बन्द गरेको छ । अहिले देखिएको दोस्रो लहरको कोरोनाले बालबालिकालाई बढी असर गरेको तथ्यांकले देखाएको छ । स्वास्थ्य मन्त्रालयले पनि भीडभाड हुने स्थान बन्द गर्न आह्वान गरेको छ । कोरोनासम्बन्धी के कस्तो तयारी छ भनी यिनै समसामयिक विषयमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरूसँग कारोबारकर्मीहरूले गरेको कुराकानीको सारसंक्षेप :
पहिले सचेतना, अटेर गरे कारबाही गर्छौं
खगेन्द्रप्रसाद रिजाल
प्रमुख जिल्ला अधिकारी, कैलाली
चैतको सुरुदेखि वैशाख १ गतेसम्म हामीले ८ हजार ५ सय ७५ जनाको एन्टिजेन परीक्षण गरेका छौं । त्यसमध्येमा ५ सय ११ पोजेटिभ केस छ । कोरोना संक्रमणका हट स्पटहरू मुम्बई, दिल्ली, गुजरात, पञ्जाबबाट आएका सबै जनाको हामीले एन्टिजेन परीक्षण गर्ने गरेका छौं । उनीहरूसँगसँगै खाने, सँगै सुत्ने गरेकालाई पनि हामीले एन्टिजेन परीक्षण गर्ने गरेका छौं । त्यसबाहेकका ठाउँबाट आएका मानिसको ज्वरो नाप्ने र ज्वरो आएका, रुघा लागेका, सिँगान बग्ने लक्षण छ भने उनीहरूको टेस्ट गर्ने गरिएको छ । उनीहरूमध्ये पोजेटिभ आएकालाई धनगढी उपमहानगरपालिकाले व्यवस्थापन गरेको कनरी आइसोलेसन सेन्टरमा राख्ने गरिएको छ । १० दिन भएपछि पुनः टेस्ट गरेर नेगेटिभ आएपछि घर पठाउने गरिएको छ । १० दिनअगावै घर जान चाहनेलाई त्यहींबाट ग्रुप बनाएर छुट्टै गाडीको व्यवस्था गरेर होम आइसोलेसनमा जाने गरी पठाउने गरिएको छ । पोजेटिभ भएका मध्ये ३४ जना अहिले कनरीको आइसोलेसनमा छन् । बाँकी निको भएर र होम आइसोलेसनमा बस्ने गरी गएका छन् । अस्ति केही दिन किटको अभाव हुन्छ कि भन्ने थियो । अहिले किटको अभाव पनि छैन । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट पनि किट पठाएको छ । यूएनडीपीले पनि सहयोग गरेको छ ।
प्रदेश संक्रमण व्यवस्थापन समिति (पीसीसीएमसी) र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको पनि बैठक गरी भीडभाड नगरौं, मास्क लगाएर मात्रै हिंडौं, सेनिटाइजर प्रयोग गरांै र भौतिक दूरी कायम गरौं भनिरहेको अवस्था छ । यो कुराको सूचना पनि निकालेका छौं । सूचना पालन भएन भने संक्रामक रोग नियन्त्रण ऐनबमोजिम कारबाही हुन्छ पनि भनेका छौं । त्रिनगर भन्सार नाका र खक्रौला भन्सर नाकामा हेल्थ डेस्क राखिएको छ । दुईवटै हेल्थ डेस्कबाट नेपाल भित्रिनेहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । भारतबाट आउनेहरूलाई प्रतिव्यक्ति पाँचवटा मास्क पनि वितरण भइरहेको छ । उनीहरूलाई स्वास्थ्यकर्मीले घर जाँदा मास्क लगाएर जान र घर गएर १० दिनसम्म छुट्टै बस्न सुझाव दिइरहेका छन् । १० दिनपछि कुनै पनि लक्षण नदेखिएपछि मात्रै परिवारसँग हेलमेल गर्ने गरी सम्झाइबुझाइ पठाउने गरिएको छ । मास्कका साथैसाथै उनीहरूलाई कोरोना संक्रमणबाट जोगिने सूचना लेखिएको पम्प्लेट पनि दिन्छौं । भारतबाट आएर काठमाडौं जानेलाई पनि एयरपोर्टमा हेल्थ डेक्स राखेर परीक्षण गर्ने गरिएको छ ।
विसु पर्व सकिएपछि मान्छे आउने क्रम पनि कम हुन्छ कि भन्ने अनुमान छ । आइसोलेसनमा नअट्ने अवस्था आएमा कभर्ड हल, नगरपालिका र स्थानीय विकास मन्त्रालयबाट आइसोलेसनका लागि स्थान माग्ने निर्णय गरेका छौं । हामीले त्यसका लागि पत्राचार पनि गरिसकेका छौं । जिल्लाका स्थानीय तहहरूलाई पनि स्कुलबाहेकका आइसोलेसन केन्द्रहरूलाई तयारी अवस्थामा राख्न भनेका छौं । हामीले तयारी गरिसकेको हुनाले मानिसहरूलाई आइसोलेसनमा राख्न तत्काललाई अप्ठेरो पर्दैन ।
ट्राफिक प्रहरी, नेपाल प्रहरीलाई हामीले दैनिक बिहान, दिउँसो र साँझ ‘भीडभाड नगरौं, मास्क लगाउन हिंडौं, मास्क नलगाएमा कारबाही गरिन्छ’ भनेर माइकिङ गर्न लगाएका छौं । आजदेखि रेडक्रससँग पनि त्यस खालको चेतनामूलक कार्यक्रम गर्नका लागि कुरा भएको छ । रेडक्रसले मास्क वितरण गर्ने काम पनि गरिरहेको छ । पहिलो पटक मास्क नलगाउनेलाई मास्क दिने, लगाउन लगाउने काम गरिरहेका छौं । पछिचाहिँ अटेर गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐनअनुसार ठाउँका ठाउँ कारबाही पनि गर्छौं । अहिले हामीले सब समितिहरूलाई बोलाएर बसका स्टाफ र यात्रुहरूलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्न, मास्क र सेनिटाइजर व्यवस्था गर्न भनेका छौं । म आफैं पनि राति ८ बजे त्रिनगर भन्सारमा गएर अनुगमन गरेको छु । त्यहाँ पनि कतिपयले मास्क नलगाएरै आइरहेको देखियो । मैले नै उनीहरूलाई मास्क लगाउन अनुरोध गरें । पहिलो कुरा सचेत गराउने नै हो । त्यति गर्दागर्दै पनि भएन भने ऐनबमोजिम ठाउँका ठाउँ जरिवाना गर्ने व्यवस्थाअनुसार कारबाही हुन्छ ।
तत्काल लकडाउन गर्नका लागि केन्द्रीय सरकारले पनि सोचिरहेको अवस्था छैन । खासगरी कोरोनाको न्यू भेरिएन्ट बालबालिकाहरूलाई छिटो संक्रमण भइरहेको देखिएको छ । हालसम्म संक्रमितमध्ये १० प्रतिशत बालबालिका छन् । त्यही भएर विद्यालयहरूलाई वैकल्पिक विधिबाट सञ्चालन गर्ने कि भनेर छलफल भइरहेको छ । हामीले पनि विद्यार्थीका बारेमा सोच्नैपर्छ । ‘मर्नुभन्दा बौलाउनु बेस’ भनेझंै तत्काल शिक्षाभन्दा पनि ज्यान जोगाउने महŒवपूर्ण कुरा हो । त्यही भएर हामीले यहाँका प्याब्सन, एनप्याब्सन र जिल्लाका शिक्षा समन्वय एकाइसँग छलफल गरिरहेका छौं । एक–दुई दिनमा यसको पनि निचोड निस्किन्छ । पूर्ण लकडाउनभन्दा पनि अहिले हामीले सूचना निकालेर राति ९ बजेपछि रात्रिकालीन व्यवसायहरू नखोलौं भनेका छौं । रात्रिकालीन लकडाउन गर्न सकिन्छ, तर पूर्णकालीन लकडाउन हुन्छ भन्ने मलाई लाग्दैन ।
प्रस्तुति : मुकेश चौधरी
जोखिम न्यूनीकरणमा प्रशासन गम्भीर छ
कोशहरि निरौला
प्रमुख जिल्ला अधिकारी, मोरङ
कोभिड–१९ को दोस्रो लहर फेरि सुरु भएको छ । विराटनगरस्थित कोभिड अस्पतालमा बिहीबार पनि एक जनाको मृत्यु भएको छ । केही दिनअघि पनि एक जनाको मृत्यु भएको थियो । कोभिडको जोखिम न्यूनीकरण र रोकथामका लागि मोरङ प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेको छ । मुख्य रूपमा भारतसँगको खुला सिमानाका कारण कोभिडको जोखिम बढ्दो छ । जोगबनी नाकामा भारतबाट आउनेहरूको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । तर, खुला बोर्डरका कारण अन्य नाकाबाट आउने–जाने क्रम जारी छ । अहिले पनि थुप्रै नेपाली उपभोक्ता जोगबनी गएर सामान खरिद गर्ने गरेका छन् । उपभोक्ता आफैं सचेत हुनुपर्ने हो । किनभने भारतमा दैनिक झण्डै २ लाखको हाराहारीमा संक्रमित थपिने क्रम छ । सबैभन्दा ठूलो समस्या भनेको जोगबनी गएर सामान खरिद गर्नु नै हो । मुख्य नाकाबाट मात्रै नभएर अन्य नाकाबाट पनि लुकीछिपी सयौं आवतजावत गर्ने गरेका छन् । सीमित स्रोतसाधनका बाबजुत पनि प्रशासनका तर्फबाट काम भइरहेको छ ।
भारतसँग रोटीबेटीको सम्बन्ध भएकाले पनि समस्या देखिएको छ । माइत, मावल, ससुराली जानेलाई छेक्नु पनि भएन । कि त कडा लकडाउन गर्नुप¥यो । अहिलेकै अवस्थामा आवतजावतमा प्रतिबन्ध लगाउने अवस्था छैन । जिल्लास्तरबाट सीमा बन्द गर्न सम्भव छैन । संघीय सरकारले नै निर्णय गर्नुपर्छ । कोभिडको जोखिम बढेकाले सर्वसाधारण सचेत हुनुपर्छ । भीडभाडमा नजाने र कोभिडका लागि सरकारले सार्वजनिक गरेको स्वास्थ्य मापदण्डलाई कार्यान्वयन गरेमा जोखिमबाट बच्न सकिन्छ । प्रशासनका तर्फबाट कोभिडको जोखिम न्यूनीकरणका लागि काम भइरहेको छ । अस्पतालहरूलाई चुस्तदुरुस्त राख्न सरोकारवाला निकायसँग छलफल भइरहेको छ । स्थानीय सरकारसँग मिलेर पूर्वतयारी भइरहेको छ । नेपालमा पनि पछिल्लो केही सातायता बढ्दो क्रममा छ । मोरङको विशेषगरी विराटनगर महानगरपालिकामा संक्रमितको संख्या बढ्दै गएको छ । सभा, सम्मेलन र भीडभाड नगर्न हामीले आग्रह गरिरहेका छौं । प्रशासनका तर्फबाट कोभिडको जोखिम न्यूनीकरणका लागि कुनै कमी हुन दिएका छैनौं ।
प्रस्तुति : मीनकुमार नवोदित
अवस्था हेरेर पुनः लकडाउन गर्नुपर्ने पनि हुनसक्छ
दीर्घराज उपाध्याय
सहायक प्रमुख जिल्ला अधिकारी, बाँके
भारतका धेरै सहरमा तीव्र रूपमा कोरोना संक्रमण बढेको अवस्था र खुला सिमानाका कारणले त्यसको प्रभाव बाँकेमा पनि पर्न सक्ने देखिएको छ । हाम्रा धेरै नेपाली दाजुभाइहरू रोजगारीका लागि भारत जानुहुन्छ र यतिबेला उहाँहरूको फर्किने क्रम एकदम तीव्र रूपमा बढिरहेको छ । लुम्बिनी प्रदेशका केही जिल्ला, कर्णाली प्रदेशका झन्डै सबै जिल्ला र सुदुरपश्चिम प्रदेशका धेरै मानिसहरू यही नाका भएर आउने गरेका कारण दिनहुँ हजारौंको संख्यामा आइरहनुभएको छ । त्यसैले बाँके जिल्लामा पनि केही समययता हामीले एकदमै जोखिम अवस्था आउन सक्ने आकलन गरेका छौं र त्यसैअनुसारको तयारी पनि गरेका छांै । किनभने विगतदेखि पाठ सिक्दै केही तयारी गर्दै आइरहेका छौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको अघिल्लो बैठकबाटै हामीले सीमा नाकामा चेकजाँचका साथै सबैको अभिलेख राख्ने, स्वास्थ्य परीक्षण गर्ने र शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गरी अलि बढी नै लक्षण भएकालाई हस्पिटलमा र सामान्य लक्षण छ भने होम आइसोलेसनमा बस्ने व्यवस्था गरेका छौं । केही दिनयता भेरी अस्पतालका साथै पीसीआर टेस्ट गर्ने ल्याबहरूमा परिक्षण गर्न आउनेहरूको संख्या बढिरहेको छ । अस्पतालमा पहिलेभन्दा बढी नै लक्षण भएका व्यक्तिहरूमा संक्रमण देखिएर उपचारका लागि आउने गरेको अवस्था छ, जसले गर्दा अस्पतालमा बेडहरूको अवस्था पनि भरिभराउ हुने अवस्था पुगिसक्यो । त्यसैले हामी चाँडै नै थप व्यवस्थापनमा जुट्दै छौं । त्यो भनेको सबै स्थानीय तहहरूमा आइसोलेसनको व्यवस्था गर्ने, किनभने सबै बिरामी जसलाई आइसोलेट गर्न आवश्यक छ तर तत्काल उपचार आवश्यक नहुन सक्छ, त्यस्तालाई त्यही आइसोलेसन सेन्टरमा आइसोलेट गर्नुपर्ने हुन्छ । जसलाई उपचार नै गर्नुपर्ने छ, त्यसलाई अस्पताल लिएर उपचार गराउन सकियो भने हाम्रा बेडहरू र जनशक्तिले धान्ने अवस्था रहन्छ । त्यसैले सबै स्थानीय तहहरूमा आइसोलेसन सेन्टर सञ्चालन गर्न हामी अनुरोध गर्छौं र त्यसो भएमा सहज हुनेछ ।
अर्को महŒवपूर्ण कुरा भनेको बिरामी भएर आइसकेपछि उपचार गर्नुभन्दा पनि बिरामी नै हुन नदिने खालको वातावरण हामीले तयार गर्नुपर्नेछ । त्यो भनेको अहिलेको अवस्थामा समुदायमा टेस्टको दर र त्यसको नतिजा हेर्दाखेरि समुदायस्तरमा फैलिइसकेको हो कि भन्ने हामी आशंका गर्न सक्छौं । त्यसैले त्यो चेन ब्रेक नगरेसम्म हामीलाई अलि गाह्रो छ । त्यो चैनब्रेक गर्नका लागि स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गराउने विषयमा हामीले अलि कडा गर्नुपर्ने देखिन्छ । यसका लागिचाहिँ सबै स्थानीय तहका समुदायस्तरसम्म पनि हामीले प्रोटोकल पालनामा विशेष ध्यान दिन हामी अनुरोध गर्छाैं । त्यो भइसकेपछि संक्रमण बढ्ने दर घट्छ । त्यो तत्काल आवश्यक छ, नत्र संक्रमण दर बढ्दै जाने भयो भने हामीले बेडको संख्या बढाए पनि हाम्रो स्रोतले धान्न नसक्ने हुन सक्छ । हाम्रो अस्पतालको जुन अहिलेको स्वास्थ्य संरचना छ, त्यसले धान्न नसक्ने अवस्था आयो भने गाह्रो हुन्छ । त्यसैले हामीले रोकथामको विषयमा मापदण्ड पालना गर्ने÷गराउने विषयमा अझ कडाइ गर्नुपर्ने अवस्था देखिएको छ । त्यसका लागि कुन अवस्थासम्म जाने, पछिल्लो चरणमा बढ्दै गयो भने लकडाउन नै गर्नुपर्ने अवस्था पनि आउन सक्छ । अथवा हाम्रा सबै सेवा प्रवाहका कुराहरू र व्यापार–व्यवसायहरू सीमित रूपमा सञ्चालन गर्नुपर्ने पनि हुन सक्छ । त्योचाहिँ हामी विस्तारै अवस्था हेर्दै निर्णय गर्नेछौं । तथापि अहिले तत्कालका लागि हामीले गर्ने तयारीमा के राखेका छौं भन्दाखेरि सीमा नाकामा कडाइ गर्ने, सबै स्थानीय तहमा भएका आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्ने र संक्रमण दर नियन्त्रण गर्न समुदायस्तरमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोधका साथै कडाइ गर्ने तयारी गर्नुपर्ने देखिन्छ, हाम्रो तत्कालको तयारी पनि त्यही छ ।
प्रस्तुति : लक्ष्मण ढुंगाना