Logo

कर्णालीका हरेक जिल्लामा ५० देखि ५ सय आइसोलेसन बेड बनाइने

कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच–पाँच सय शैय्याको आइसोलेसन बेड विस्तार गर्ने भएको छ । बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथाम गर्नका लागि यस्तो निर्णय गरेको हो ।
प्रदेशका सबै जिल्ला अस्पतालमा थप ५० शैय्यादेखि १०० शैय्याका अस्पताल निर्माण गर्ने र प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ५ सय शैय्यासम्मका कोरोना संक्रमणका बिरामीको उपचार गर्नका लागि शैय्या बिस्तार गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘दोश्रो चरणमा फैलिएको कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथामका लागि सबै प्रकार नीति अबलम्वन गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई योजना बनाउन निर्देशन दिइएको छ,’ उनले भनिन्, ‘कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलगाएतका अन्य कामलाई प्रभावकारी ढंगले अगाडी बढाउने निर्णय भएको छ ।’ उनका अनुसार कोरोना भाइरस अहिले बढिरहेको भए पनि तत्कालका लागि कुनै प्रकारको लकडाउन नगर्ने र सामाजिक दुरी कायम राखेर प्रदेश सरकारका काम कारबाही अगाडी बढाउने कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्