पद बाँडफाँड कार्यदल ओली फर्केपछि

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समिति बैठक मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सम्पन्न भएको छ । बैठकले राष्ट्रियसभा र प्रदेशसभा गठनमा देखिएका जटिलता अन्त्यको प्रयास खोज्न कार्यदल बनाउने निर्णय गरेको छ ।
कार्यदलमा एमालेबाट ३ र माओवादी केन्द्रबाट ३ जना नेता सदस्य छन् । एमालेका सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव सदस्य रहेको कार्यदल बनाइएको हो । कार्यदलले प्रदेशसभा गठन र राष्ट्रियसभामा भागबण्डाको सहमति जुटाउने बताइएको छ ।
बैठकले पद बाँडफाँट र नीति तय गर्नका लागि कार्यदल बनाउने बताइएकोमा त्यस्तो कार्यदल भने गठन गर्न सकेन । बुधबार एमाले अध्यक्ष ओली एक साताका लागि उपचारका लागि विदेश जाने भएकाले उनी आएपछि बस्ने बैठकले कार्यदल बनाउनेछ ।