Logo

निषेधाज्ञापछि सुनसान बन्यो नेपालगन्ज

कोरोना संक्रमणको दोस्रो लहर भयावह रूपमा फैलिन थालेपछि बाँकेको नेपालगन्जमा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । दुई सयभन्दा बढी संक्रमित भएको स्थानमा स्थानीय प्रशासनले लकडाउन गर्न सक्ने प्रावधान अनुरूप उच्च संक्रमणको जोखिममा रहेको नेपालगन्जमा बुधबार राति १२ बजेदेखि एकसाताका लागि निषेधाज्ञा गरिएको हो ।
निषेधाज्ञा जारी गरिएपछि बिहीबार अत्यावश्यक कामबाहेक हिँडडुल बन्द गरिएको छ । नेपालगन्जका बजार सुनसान बनेका छन । सडकमा मानिसहरूको उपस्थिति कमै देखिन्छ । नेपालगञ्जका पसल व्यवसाय पूर्णरूपमा बन्द भए पनि सडकमा हिँडडुल गर्ने र सवारी साधनको चाप भने उस्तै थियो । प्रशासनले बिहान ९ बजेसम्म अत्यावश्क कामका लागि केही खुकुलो गरे पनि दिउँसो भने केही कडाइ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले बताए । ‘जिल्लामा १ हजार ४ सय ३७ सक्रिय संक्रमित हुँदा नेपालगन्जमा मात्र आधाभन्दा बढी संक्रमित देखिएपछि कोरोना संक्रमण फैलावटको साङ्लो तोड्न भन्दै निषेधाज्ञा जारी गरिएको हो’ उनले भने ।
कोरोनाको चेन ब्रेक गर्न गरिएको बन्दा बन्दीको समयमा भारतबाट नेपालीहरू आउने क्रम बढेपछि नाकाबाट नगरबसले बसपार्कमा ल्याएर सम्बन्धित गन्तब्यतिर पठाउने व्यवस्था गरिएको छ । हाल बाँकेमा १ हजार २ सय ६६ जना जिल्लाका विभिन्न आईशोलेसनमा रहेका छन । हालसम्म जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ६ हजार १५४ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ४ हजार ८ सय २१ पुगेको छ । त्यसैगरी, कोरोनाबाट जिल्ला भित्रका ६७ र अन्य जिल्लाका ९८ गरी १ सय ६५ जनाले ज्यान गुमाएका छन ।
संक्रमितको संख्या बढ्दै गएपछि गरिएको बन्दाबन्दीका क्रममा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएमलगायतका अत्यावश्यक सेवाहरू एवं सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरू र हवाइ सेवा भने निर्वाध सञ्चालनमा छन् ।
त्यस्तै एम्बुलेन्स, शववाहक, दमकल, झण्डावाल सवारी र कूटनीतिक नियोग, लामो दूरीका सवारी साधन, मालकबाहक साधन, निर्माण सामग्री ढुवानीका साधानहरू, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधन, अनुमति लिएका सवारी साधन पनि चलेका छन् । निषेधाज्ञा वैशाख १५ गते राति १२ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्