Logo

अनुशासित भएर उद्योग–व्यवसाय चलाउनुपर्छ

लकडाउन समाधान होइन

राजेन्द्र मल्ल
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
नेपाल चेम्बर अफ कमर्सको हालै सम्पन्न ७०औं वार्षिक साधारणसभाले आगामी तीन वर्षका लागि अध्यक्षको जिम्मेवारी उद्यमी राजेन्द्र मल्ललाई दिएकोे छ । दुई दशकदेखि चेम्बर आन्दोलनमा सक्रिय उनी निजी क्षेत्रभित्र स्पष्ट वक्ताका रूपमा परिचित छन् । चेम्बर अभियन्ताहरूले व्यावसायिक स्वार्थभन्दा माथि उठेर मुलुकको दिगो आर्थिक विकास तथा समग्र निजी क्षेत्रको प्रवद्र्धनका लागि काम गर्नुपर्ने धारणा राख्ने मल्ल व्यावसायिक रूपमा पनि उत्तिकै सफल छन् । २०६२ सालमा चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा प्रवेश गरेका मल्लले कोषाध्यक्ष, उपाध्यक्ष र पछिल्ला दुई कार्यकाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी लिइसकेका छन् । उनले उत्पादनमूलक उद्योगदेखि व्यापार, बिमा, पर्यटन, शिक्षा, जलस्रोत, उड्डयन र कृषि क्षेत्रमा व्यवसाय विस्तार गरेका छन् । निर्जीवन बिमा व्यवसायी संघको समेत नेतृत्व सम्हालिसकेका मल्ल पछिल्ला वर्षमा चेम्बरलाई देशव्यापी बनाउने अभियानसँगै निजी क्षेत्रका अन्य संगठनसँग पनि सहकार्यमा जुटेका छन् । उत्पादनमूलक व्यवसायबाट ट्रेडिङतर्फ मोडिने उद्यमीहरूको परम्पराबाट केही फरक बन्दै उनले लगानीलाई कृषि र पर्यटनतर्फ बढाएका छन् । व्यवसायको पाटो सफल रूपमा अगाडि बढाएका छन्, सामाजिक काममा पनि उत्तिकै अग्रसर मल्ल मठमन्दिर निर्माण, क्लबहरूमा सक्रिय छन् । अध्यक्ष मल्लसँग चेम्बरका आगामी कार्ययोजना, प्रतिस्पर्धी अन्य निजी क्षेत्रका संस्थासँगको सहकार्य, उद्योग–व्यवसायमा दोस्रो लहरको कोरोना प्रभाव, वर्तमान राजनीतिक अवस्थालगायत समग्र उद्योग–व्यवसायका मुद्दामा कारोबारका लागि दीपेन्द्र थापाले गरेको कुराकानीको सार :

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । निजी क्षेत्रका विभिन्न संघ–संगठनमा नेतृत्वमा पुग्नका लागि निकै ठूलो प्रतिस्पर्धा हुने गरेको बेला चेम्बरमा चाहिँ कसरी सर्वसम्मत नेतृत्व चयन सम्भव भयो ?
नेपाल चेम्बर अफ कमर्समा मलगायत सबै ५५ जनाको कार्यसमिति सर्वसम्मत चयन भयो । सबै सरोकारवाला, अग्रज तथा चेम्बरलाई माया गर्ने मनहरूको साझा उपलब्धि हो भन्ने मलाई लाग्छ । करिब डेढ दशक अनवरत रूपमा चेम्बरमा गरेको अथक मेहनतको फल अहिले मैले पाएको हुँ भन्ने लागेको छ । चेम्बरका सम्पूर्ण सदस्य तथा अग्रजहरूको साथ र मायाले गर्दा नै म अध्यक्षमा निर्विरोध चयन हुन सम्भव भएको हो । उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु । मेरो कार्यकालमा मैले अगाडि सारेका योजना पूरा गर्न पनि उहाँहरूले मलाई पूर्ण सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

चेम्बरको नयाँ कार्यसमितिलाई उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघलगायतका प्रतिस्पर्धी संस्थाले आफ्नै कार्यालयमा स्वागत गर्नुलाई कसरी लिनुभएको छ ? यसले भोलिका दिनमा निजी क्षेत्रबीच घनीभूत सहकार्य हुन्छ भन्ने संकेत गरेको छ भन्न मिल्छ ?
पक्कै पनि । मुलुकको आर्थिक विकास र प्रगतिका लागि आमव्यवसायी निजी क्षेत्रको प्रतिनिधित्व गर्दै तीनै संस्था एक भएर जानेछौं भन्ने सन्देश प्रवाह भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले यसरी स्वागत गर्नु निजी क्षेत्र एक हो, छ र रहिरहनेछ भन्ने गतिलो सन्देश हो । हामीले यसअघि पनि महासंघका पदाधिकारीलाई स्वागत गरेका थियौँ । हामी हाम्रो संगठनको स्वरूप र ढाँचाअनुसार व्यावसायिक उत्थान र हकहितको काम निरन्तर गर्दै जानेछौं । सम्पूर्ण रूपमा निजी क्षेत्रको आर्थिक उत्थान र निजी क्षेत्रको विकासका लागि तीनै संस्था एकै स्थानमा छौं भन्ने सहकार्यको सुरुवात हो भन्ने सन्देश हो । निजी क्षेत्र र सरकार एकै रथका दुई पाङ्ग्रा हुन् । सरकार र निजी क्षेत्र मिलेर नै मुलुकको आर्थिक विकास सम्भव छ । सरकारले पनि निजी क्षेत्रमाथि सधैँ सदाशयता राख्नुपर्छ भने निजी क्षेत्रले पनि सरकारलाई कर राजस्वमार्फत सेवा र आर्थिक टेवा दुवै दिनुपर्छ । सरकारले सधैं निजी क्षेत्रलाई साथै लिएर जानुपर्छ । व्यवसायीको हकहित र सरकारसँग सहकार्य गरी अगाडि बढ्नका लागि चेम्बरले सधै पुल (सेतु) का रूपमा रहेर काम गर्नेछ । व्यवसायीको मर्का हामी व्यवसायीलाई नै थाहा हुने भएकाले गर्दा सरकारसँग सहकार्य गर्दै व्यवसायीको संस्था पुलका रूपमा रहनु जरुरी छ । यसरी व्यवसायी र सरकारबीच हाम्रो मागलाई सम्बोधन गर्न र सरकारलाई आर्थिक टेवा दिन चेम्बर सधैं तयार छ । हामी सरकारसँग हातमा हात र काँधमा काँध जोडेर सहकार्यका लागि तयार छौँ ।

तपाईं चेम्बरको नेतृत्वमा आइरहेका बेला मुलुकमा फेरि कोरोनाको संक्रमण बढ्न थालेको छ । अघिल्लो वर्षको कोरोना र लकडाउनले व्यापार–व्यवसाय तङ्ग्रिन नपाएको बेला फेरि शिथिल बन्ने स्थिति देखिएको छ । अब तपाईंको नेतृत्वले यो स्थितिको सामना कसरी गर्छ ?
कोभिड–१९ ले विश्वभर नै प्रभाव पारेको अवस्था छ । हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा अझ बढी प्रभाव पारेको छ । दोस्रो लहरको कोभिड पनि प्रवेश गरेकाले अझ बढी प्रभाव पार्ने देखिन्छ । यसले गर्दा सरकार र विश्व स्वास्थ्य संगठनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको मापदण्डको पालना गर्दै अनुशासित भएर उद्योग–व्यवसाय सञ्चालन गर्नुपर्छ । गत वर्ष सरकारले लकडाउन गर्दा अर्थतन्त्र नराम्रोसँग प्रभावित बन्न पुग्यो । त्यसैले गर्दा थलिएको अर्थतन्त्र विस्तारै तङ्ग्रँदै गर्दा फेरि सरकारले लकडाउन गर्दा अझ विकराल समस्या आउने भएकाले सरकारले लकडाउन गर्नु हुँदैन । कोभिडको दोस्रो लहरले अझ समस्या आउने देखिन्छ । त्यसैले गर्दा स्वास्थ्य मापदण्ड अपनाएर काम–कारबाही गर्दै लानुपर्छ । कोभिड–१९ विरुद्धको खोपलाई व्यापकता प्रदान गर्नुपर्छ । कोभिड खोपमा निजी क्षेत्रलाई पनि सहभागी गराएमा जनतामा छिटो लाभ पु¥याउन सकिन्छ । जनमानसमा चाँडो खोप पु¥याउन सकिएमा उत्पादकत्व पनि बढेर जाने थियो भने उद्योगधन्दा सञ्चालनमा सहज हुने थियो ।

कोरोना बढेसँगै नेपालमा फेरि लकडाउन हुनुपर्छ भन्ने आवाज पनि उठिरहेका छन् । के लकडाउन यो समस्याको समाधान हो ?
लकडाउनले न त रोगको नियन्त्रण गर्छ न भोकको, लकडाउन भएमा रोगभन्दा भोकले मर्ने सम्भावना बढेर जानेछ । विगतको अभ्यासलाई हेर्दा पनि आर्थिक चलायमान नहुँदा आमजनमानसको दैनिकीमा ठूलो समस्या ल्याउँछ । त्यसैले हामीले स्वास्थ्यका सबै मापदण्ड पालना गरी व्यवसायी पनि अनुशासित भएर व्यापार–व्यवसाय गर्नुपर्छ । समाजले पनि स्वास्थ्य मापदण्ड अपनाएर जीवनयापन चलायमान बनाउनुपर्छ ।

अहिलेको राजनीतिक अवस्थालाई चेम्बरले कसरी हेरिरहेको छ ? राजनीतिक स्थिरताको पक्षमा रहेको निजी क्षेत्र अहिले संघीय सरकारदेखि प्रदेश सरकारसम्ममा देखिएको अस्थिरतालाई कसरी मूल्यांकन गर्छ ?
नेपालको अस्थिर राजनीतिबाट निजी क्षेत्र जानकार छ र यसबाट अभ्यस्त भइसकेको अवस्था छ । हामी निजी क्षेत्रले सरकारलाई तिर्नुपर्ने कर राजस्व नियमित तिर्दै आएका छौं, तिरिरहनेछौं । हामी निजी क्षेत्र र आम जनमानस स्थिर सरकार नै चाहन्छ । स्थिर सरकार भएमा देशमा उद्योग–व्यवसायमा लगानी बढेर जाने निजी क्षेत्रले सहज व्यवसाय गर्ने वातावरण तयार हुन्छ । देशको आर्थिक विकास हुनका लागि राजनीतिक स्थायित्व आवश्यक हुन्छ । रानीतिक पार्टीले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक हुन सकेको छैन । मात्र नेताजीहरूको जुँगाको लडाइँमात्र हो जस्तो मलाई लाग्छ । हामी सबैले मभन्दा पनि हामी हौं, हामीले गर्नुपर्छ भन्ने भावनाको विकास गर्न सकेको खण्डमा मुलुकले चाँडै आर्थिक उन्नति–प्रगति गर्छ भन्ने मैले ठानेको छु ।

नेपाल चेम्बरको नेतृत्वमा तपाईं आइसकेपछि आमव्यवसायी तथा मुलुकको अर्थतन्त्रले के फरक महसुस गर्नेछ ? तपाईंका एजेन्डाहरू केके हुन् ?
मभन्दा पनि हामी भन्ने भावनाको विकास गर्नुपर्छ । चेम्बरका सबै अग्रजहरू जिल्ला, नगर, गाउँपालिकाको सल्लाह–सुझावलाई लिएर काम गर्नुपर्नेछ । यसअघिका कार्यसमितिले गर्दै आएको राम्रो कामलाई निरन्तरता दिनेछु । हामीले नवीनतम सोचका साथ नयाँ अवधारणाका काम गर्ने सोच बनाएका छौं । आयातभन्दा बढी मेरो कार्यकालमा निर्यातलाई जोड दिने खालका कार्यक्रम अगाडि बढाउनेछु । उद्योग स्थापनाका लागि सरकार निजी क्षेत्रबीच सहकार्य गर्दै व्यवसायमा प्रोत्साहन गर्नेछौं । आर्थिक उन्नतिका साथै उपत्यकामा बढ्दै गएको वायु प्रदूषणलाई नियन्त्रण गर्दै विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिने खालका कार्यक्रमलाई प्रोत्साहन गर्नेछु । मुलुकलाई आत्मनिर्भर बनाउनका लागि के–कस्ता कामहरू गर्न सकिन्छ, चेम्बरको एक समितिले अध्ययन गरिरहेको छ । मुलुकमा उत्पादन भएका सामग्रीलाई कसरी निर्यात गर्न सकिन्छ, त्यसमा चेम्बरले आगामी दिनमा काम गर्नेछ । यहाँको जडिबुटी तथा विद्युत् निर्यात गर्नका लागि मेरो टिमले काम गर्नेछ । विद्युतीय यन्त्र तथा उपकरणको प्रयोगमा जोड दिनुपर्छ यसमा सरकारले पनि सहजीकरण गर्न सहयोग गर्नुपर्छ ।

नेपाल चेम्बर सात दशक इतिहास बोकेको मुलुकको सबैभन्दा पुरानो संस्था पनि हो । तर, यो संस्था त्यति गतिशील बन्न सकेन र यसका काम–कारबाही नतिजामुखीभन्दा पनि बढी प्रचारमुखी भए भन्ने आरोप छ नि ?
चेम्बर २००७ सालमा स्थापना भएको संस्था हो । स्थापनाकालदेखि नै मुलुकमा आर्थिक उन्नतिका लागि काम गर्दै आएको छ । हामीले साना व्यवसायी तथा ठूला व्यवसायीलाई करको दायरामा ल्याएर नियमित सरकारलाई राजस्व संकलनमा सहयोग गर्दै आएका छौँ । साना व्यवसायीलाई करको दायरामा कसरी ल्याउने भनेर सरकारलाई सुझाव दिँदै आएका छौं । सरकारले कर राजस्व तिर्ने संघसंस्था तथा व्यवसायीहरूलाई सधैं प्रोत्साहन गर्ने वातावरण बनाउन सकेको खण्डमा व्यापारिक वर्गलाई प्रोत्साहन मिल्ने थियो । सरकारले ठूला व्यवसायी र ठूला कर तिर्नेलाई मात्र सम्मान गर्दै आएको छ । यसलाई जिल्लास्तरमा पु¥याउन सकेको खण्डमा जिल्लाका व्यवसायीहरूमा कर तिर्नु भनेको मुलुकलाई आर्थिक विकासमा सहयोग गरेको हो र सम्मान पनि हो भन्ने चेतना हुन सक्छ । यसलाई हामीले प्रचारमा भन्ने कि मुलुकका लागि कर र राजस्व संकलनमा सहयोग गरेको भन्ने ? उत्पादन हुने क्षेत्र र बजारको बीचमा बिचौलिया हावी हुँदा उत्पादित वस्तुको मूल्य बढेर गएको छ । यसको रोकथामका लागि सरकारलाई सुझाउँदै आएका छौं । चाहे त्यो घरजग्गा कारोबार होस् या कृषिका सामग्रीमा होस्, बिचौलियाले गर्दा उपभोक्ताले महँगो भार बेहोर्नुपरेको छ । घरजग्गाको कारोबारमा ठूलो राजस्व छली हुने गरेको छ । यसको कारोबार गर्नका लागि ब्रोकर मोडलमा गएर कारोबार अनुमति दिनुपर्छ, तब मात्र सरकारले उचित राजस्व प्राप्त गर्छ । हाल कुनै पनि नियम तथा कानुन र कार्यालयबिना नै घरजग्गाको कारोबार हुँदा राजस्व चुहावट हुने गरेको छ ।

तपाईं आफैंमा सफल र सक्रिय व्यवसायी, यत्रो ठूलो संस्थाको नेतृत्वमा पुग्नुभएको छ । व्यवसाय र संस्थाका कामलाई कसरी समय व्यवस्थापन गर्नुहुन्छ ?
मैले गरेका सबै व्यवसायमा कर्पाेरेट कल्चर छ । सबै व्यवसायमा प्रमुख कार्यकारी अधिकृतलाई जिम्मेवार बनाएको छु । उहाँहरूले सबै व्यवसाय हेर्ने हो । बोर्डमा रहेर सल्लाह–सुझाव दिने काम गर्दै आएको छु भने मेरो ठूलो छोराले पनि मेरो व्यवसायमा सहयोग गर्दै आएको छ । छोराको सहयोगले पनि मलाई चेम्बरमा धेरै समय दिन र थप सोच्न समय दिएको छ । औसतमा चेम्बरलाई मैले दैनिक ४÷५ घण्टा छुट्याएको छु । व्यवसायीको माग तथा परेको समस्या हामी छलफल गर्दै चेम्बरले काम गर्ने कार्यसूची बनाएर काम गर्ने योजना बनाएका छौं । कार्यसमिति मसिक रूपमा बैठक गरेर छलफल गर्ने गरेका छौं । चेम्बरको कार्यसमितिमा चाँडै अन्य पदाधिकारीसमेत मनोनयन तथा नियुक्त गर्नेछौं । यो तीन वर्षको कार्यकालमा मैले फलदायी, उत्पादनमूलक बनाउँदै मुलुकलाई सम्मुनत बनाउन आर्थिक गतिविधि बढाउन जोड रहनेछ ।

तपाईं बिमा व्यवसायमा पनि लामो समयदेखि क्रियाशील हुुनुहुन्छ र निर्जीवन बिमा सञ्चालक संघको नेतृत्वमा पनि हुनुहुन्छ । कोरोना बिमाको भुक्तानीसम्बन्धी लामो विवादले बिमा व्यवसायको विश्वसनीयता घटाएको जस्तो लाग्दैन ?
म बिमा व्यवसायमा लागेको करिब २५ वर्ष पूरा भएको छ । निर्जीवन बिमा व्यवसायी संगठनको पनि अध्यक्ष छु । कोरोना बिमा ल्याएको त छ, त तर सरोकारवाला निकायसँग छलफल तथा सहकार्य नगरी ल्याएको हो । त्यसो हुँदा हाल बिमा भुक्तानी भइरहेको छ । संसारमा कहीं नभएको पोलिसी लिएर नियामक निकायले गलत गरेको हो । सम्बन्धित निकायसँग छलफल नगर्ने अनि पालना गरेन भनेर नीति निर्देशन जारी गर्ने, यो अलिक भएन भन्ने लाग्छ । यद्यपि बिमा कम्पनीहरू मापदण्ड पूरा भएकाको हकमा भुक्तानी गरिरहेको छ । सरकारले सरोकावाला पक्षलाई सँगै लिएर जान नसक्दा बिमामा समस्या भएको हो ।

सरकार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा छ, राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा छ । चेम्बर अफ कमर्स कस्तो बजेट र मौद्रिक नीति आउनुपर्छ भन्ने धारणा राख्छ ?
सरकारले गत वर्ष बजेट ठूलो ल्याएर पछि आकार घटायो । सरकारले आय र व्ययको हिसाब राखेर बजेट ल्याउनुपर्छ जस्तो लाग्छ । हाल देखिएको महामारीलाई नियन्त्रण गर्न र थलिएको अर्थतन्त्रलाई पुनस्र्थापित गर्ने गरी राहतसहितको प्याकेजवाला बजेट सरकारले ल्याउनुपर्छ, जसले गर्दा आमव्यवसायीले पनि केही हदसम्म भए पनि राहत प्राप्त गर्नेछन् । अहिलेको बजेटले सरकारको चालू खर्च घटाउनमा जोड दिएर मितव्ययी बजेटको खाका कोर्नुपर्छ । कोभिड–१९ को रोकथाम तथा यसबाट पारेको प्रभावलाई नियन्त्रण गर्न बजेट केन्द्रित हुनुपर्छ भने आमजनमानसले राहत महसुस गर्ने बजेट ल्याउनुपर्छ । मौद्रिक नीतिले पुनर्कर्जा कोषलाई जोड दिनुपर्छ र सबै व्यवसायीले समान ढंगबाट पुनर्कर्जा प्राप्त गर्ने खालको आउनुपर्छ । दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्छ ।

यदि त्यसो हो भने कोभिडकै बीचमा पनि केही युवा उद्योग–व्यवसायमा आउन चाहन्छन्, त्यस्ता युवालाई कस्तो प्रेरणा दिन चाहनुहुन्छ ?
नयाँ व्यवसायीहरूलाई डिजिटल पेमेन्ट र नगद कारोबारमा जोड दिन आग्रह गर्छुु । अब प्रविधिको युग भएकाले प्रविधिमूलक उद्योग–व्यवसायमा युवा उद्योगीले काम गर्नुपर्छ । नेपालमा विदेशी लगानी भिœयाउनका लागि युवा वर्गले प्रविधिको प्रयोग गर्दै नवीन सोचका साथ आउनु जरुरी छ । अनलाइन बिजनेस र नेपालको व्यापारलाई प्रविधिको प्रयोग गर्दै निर्यातमा जोड दिनु आवश्यक छ । नयाँ उद्योगी तथा युवा वर्ग उद्योगी नै बन्नुपर्छ, जसले आयातलाई प्रतिस्थापन गर्दै निर्यातमा जोड दिन सकोस् । मभन्दा पनि हामी भन्ने भावनाबाट सरकार तथा व्यवसायीले काम गर्नुपर्छ । अन्य देशलाई अनुसरण गर्दै विकासतर्फ लाग्नुपर्छ । नेपाल प्रचुर सम्भावना भएको देश हो, तर नीतिगत रूपमा कति सहजीकरण गर्ने भन्ने सरकारले सोच्नुपर्छ । लगानीका लागि उचित वातावरण दिने हो भने स्वदेशी तथा विदेशी लगानीकर्ता नेपालजस्तो देशमा लगानी गर्न इच्छुक नहुने कुरै छैन । स्थायी सरकार र नीतिगत दूरदर्शिता लगानीका लागि पहिलो आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्