योगप्रसाद उपाध्यायको ‘माई लाइफ एन्ड टाइम’
कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक दोस्रोपटक लकडाउनको पूर्वसध्यामा छ । अधिकांश मानिसमा त्रास छ । यो बेला मानिसले विभिन्न माध्यममार्फत समयको सदुपयोग गरिरहेका छन् । कसैले पुस्तक पढेर फुर्सदको सदुपयोग गर्दै छन् भने कसैले आफूलाई मन पर्ने सिनेमा हेरेर समय कटाइरहेका बेला एउटा पढ्न लायक पुस्तक छ, नेपाली कांग्रेसका पुराना पुस्ताका राजनीतिज्ञ योगप्रसाद उपाध्यायको पुस्तक ‘माई लाइफ एन्ड टाइम’ । केही महिनापहिले पाटनढोकामा सार्वजनिक गरिएको उक्त पुस्तक पढ्दा निराश हुनु पर्दैन ।
नेपालको राजनीतिमा रुचि हुने र विशेष गरी नेपाली कांग्रेसको इतिहासप्रति रुचि हुनेका लागि यो पुस्तक उपयुक्त छ । पुस्तकमा केहि पक्ष रोचक र बहुउपयोगी छन् । लेखकको बाल्यावस्था र प्रारम्भिक शिक्षा तथा बीपी कोइरालासँगको पत्राचार, जुन बीपीप्रति आस्था राख्ने र कांग्रेसको इतिहासका विषयमा अनुसन्धान गर्नेका लागि उपयोगी सामग्री मान्न सकिन्छ ।
यसैगरी लेखक २०४७ सालको अन्तरिम सरकारको गृहमन्त्री हुँदाका बखत र अमेरिकामा राजदूत भएर बस्दा तत्कालीन नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई र तत्कालीन जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको एकै समयमा अमेरिका भ्रमणले लेखकमा पर्न गएको अप्ठेरोको पुस्तकमा सटीक चित्रण गरिएको छ ।
यसैगरी केही विरोध अनि न्युयोर्कका तत्कालीन राजदूत जयराज आचार्यले खेलेको भूमिकाले कोइरालामा परेको नकारात्मक असरको परिणामजस्ता विषय पुस्तकमा समेटिएको हुँदा जान्नुपर्ने र जोकोहीले बुझ्नुपर्ने विषय हुन्छ ।
बेलाबखतमा कनकमणि दीक्षितले यस्ता कार्यक्रमका लागि हल उपलब्ध गराउनु, राजनीतिज्ञले लेखेका आत्मवृत्तान्त वा अन्य पुस्तक अध्ययन गर्न त्यति जाँगर नलगाउने पूर्वसचिव शरदचन्द्र पौडेलजस्ता र अहिलेका पुस्ताका प्रखर नेता डा. शेखर कोइरालाजस्ता सबै किसिमका मानिसको जमघटका बीच सार्वजनिक गरिएको यो पुस्तकले अहिलेका पुस्तक पढ्न रुचाउने कांग्रेसका कार्यकर्तालाई उपयोगी हुने देखियो ।
तारानाथ रानाभाटसँगको संवाद तथा विभिन्न जिम्मेवारीमा बसेर पनि राजाको नियत र भूमिकाको अनभिज्ञता तथा लामो समय कांग्रेसको राजनीति गरेर गिरिजाप्रसाद कोइरालाको जाँगर, जोस र नियतसँग अनुकूल हुन नसक्नु उपाध्यायका आसेपासेको नियत र षड्यन्त्र नबुझ्नु लगायतले लेखकका लागि अमेरिकाका लागि राजदूत त्यति सहज भएनछ भनेर पुस्तक पढेर थाहा पाउन सकिन्छ ।
ताप्लेजुङमा जन्मिएका लेखक योगप्रसाद उपाध्याय लुइँटेलको नेपाली राजनीतिमा राम्रो स्थान भए पनि सक्रिय राजनीतिमा उनको रुचि कम देखियो । विशेष गरी कृष्णप्रसाद भट्टराईसँग उनी नजिक थिए । उनी कोठे राजनीतिमा सिपालु थिए र वासु रिसाल, ओमकारप्रसाद श्रेष्ठसँगको उठबस धेरै थियो तर जनता र कार्यकर्ताबीचको राजनीति कम थियो ।
यो पुस्तक पढ्दै जाँदा उनले यो पुस्तक आफ्नै रुचि र तदारुकतामा भन्दा पनि कसैको आग्रहमा पुस्तक प्रकाशन गरेको जस्तो देखिन्छ । जे भए पनि अन्तरिम सरकारका गृहमन्त्री र अमेरिकाका लागि नेपाली राजदूत भएर काम गर्दाका अनुभव, त्यो बेला हुने राजनीतिक तिकडमलगायतका विषयमा लेखकले पाठकलाई न्याय गरेको देखिन्छ ।