वैदेशिक लगानीमा भारत अगाडि «

वैदेशिक लगानीमा भारत अगाडि

नेपालमा हालसम्म सबैभन्दा बढी वैदेशिक लगानी गर्ने मुलुकमा भारत अगाडि रहेको छ ।
नेपाल राष्ट्र बैंकको वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण अध्ययनकाअनुसार नेपालमा आएको कुल वैदेशिक लगानीमध्ये भारतबाट ५६ अर्ब पाँच करोड रुपैयाँ आएको छ । उत्पादनमूलक उद्योग, पर्यटन, उर्जा तथा मझौला उद्योगका लागि भारतबाट लगानी आएको देखिएको अध्ययनले जनाएको छ ।
त्यसैगरी चीनबाट २७ अर्ब ५६ करोड रुपैयाँ, सेन्ट किष्ट एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड रुपैयाँ, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड रुपैयाँ र सिङ्गापुरबाट आठ अर्ब ७३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७५-०७६ को अन्त्यसम्ममा नेपालमा १ खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको पनि राष्ट्र बैंकले वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण अध्ययनले जनाएको छ । अध्ययनकाअनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजी ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको अंश ९ प्रतिशत छ । आर्थिक वर्ष २०७५-७६ को अन्त्यसम्ममा नेपालको कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले घटेको पनि अध्ययन प्रतिवेदनले देखाएको छ ।
२०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशहरूको प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनले देखाएको छ । चुक्ता पुँजी, रिजर्भ, प्रत्यक्ष वैदेशिक लगानीकर्ताबाट लिइएको कर्जाका सम्बन्धमा अध्ययनले जोड दिएको राष्ट्र बैकको भनाइ छ ।
अध्ययन अनुसार सेवा क्षेत्रअन्तर्गत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ । औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत क्षेत्रमा दुई प्रतिशत वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ को विश्वव्यापी परिवेशमा दक्षिण एसिया वैदेशिक लगानी भित्र्याउनेमा अग्रस्थानमा छ । दक्षिण एसियामा २०१९ मा १० प्रतिशत वैदेशिक लगानी बढेर ५८ अर्ब ४३ करोड अमेरिकी डलर पुगेको छ । जसमध्ये भारतले सबैभन्दा धेरै ५०.५५ अर्ब अमेरिकी डलर भित्र्याउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्