विद्यालय पुनर्निर्माणलाई ४० अर्ब अपुग «

विद्यालय पुनर्निर्माणलाई ४० अर्ब अपुग

एक वर्षअघि नै सम्पन्न गर्नुपर्ने विद्यालय पुनर्निर्माणका लागि ४० अर्ब रुपैयाँको स्रोत अझै सुनिश्चित हुन सकेको छैन । भूकम्पको केही समयमै तयार भएको पोस्ट डिजास्टर रिकभरी पे्रmमवर्क (पीडीआरएफ) ले १ खर्ब १० अर्ब ७९ करोड लाग्ने अनुमान गरे पनि हालसम्म ७० अर्बको मात्र स्रोत सुनिश्चित भएको छ ।
सरकारले ५ वर्षभित्र विद्यालयलगायतका संरचना पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, ६ वर्ष पुग्न लाग्दा समेत विद्यालय पुनर्निर्माण सकिएको छैन भने यसका लागि बजेटको पनि अभाव छ ।
सरकारले गत आर्थिक वर्षसम्म विद्यालय पुनर्निर्माणका लागि ५३ अर्ब १९ करोड खर्च गरिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सीएलपीआईयू) ले जनाएको छ । सीएलपीआईयूका अनुसार चालू आर्थिक वर्षको लागि १८ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ । यसरी हेर्दा चालू आर्थिक वर्षसम्म ७१ अर्ब ६९ रुपैयाँको मात्र स्रोत सुनिश्चित भएको देखिन्छ । १ हजार ५१९ मध्ये ८८२ विद्यालयका ५ हजार ८७३ कक्षाकोठा निर्माणका लागि बजेटको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।
स्रोत नभए पनि ७० प्रतिशतभन्दा बढी विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको सीएलपीआईयूले जनाएको छ । आयोजना प्रमुख रामशरण सापकोटाका अनुसार, प्राथमिकतामा आधारमा चालू आवको अन्त्यसम्ममा ७ हजार ५८३ विद्यालय नै निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
सीएलपीआईयू र शिक्षा पत्रकार सञ्जालको सहकार्यमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मापदण्डमा परी निर्माणको लक्ष्य राखिएका ७ हजार ५५३ विद्यालयमध्ये हालसम्म ६ हजार २४६ वटा विद्यालय निर्माण सम्पन्न भएको जानकारी दिइयो ।
पोस्ट डिजास्टर निड एसेसमेन्ट (पीडीएनए) ले ९ हजार ९२ विद्यालय बनाउनुपर्ने सुझाव दिएकोमा जग्गा, भौगोलिक आवस्था र मर्जका कारण ७ हजार ५ सय ५३ विद्यालयमात्र बनाउने योजना अघि बढेको थियो । २०७२ वैशाख १२ को भूकम्पबाट अति प्रभावित १४ र कम प्रभावित १७ जिल्लाका ९ हजार ७२ विद्यालयका ५४ हजार ५८४ कक्षाकोठामा क्षति पुगेको थियो । यसमध्ये २१ हजार १६९ कक्षाकोठा पूर्ण रुपमा ध्वस्त भएका थिए । यसरी नै १२ हजार ५२२ कक्षाकोठामा अधिक क्षति पुगेको थियो भने २० हजार ८९३ कक्षाकोठामा आंशिक क्षति पुगेको थियो । त्यसमध्ये ३२७ मर्ज भएको र १५३ विद्यालय सञ्चालनमा नरहेको सीएलपीआईयूले जनाएको छ । निर्माण गर्नुपर्ने ९ हजार ७२ मध्ये ७ हजार ५५३ विद्यालयमा पुनर्निर्माणको काम भइरहेको बताइएको छ ।
विद्यालय पुनर्निर्माणमा गैरसरकारी संस्था, विद्यालय व्यवस्थापन समिति, एडीबी, जाइका, भारत सरकारलगायत विकास साझेदारहरुको अनुदान र ऋण सहयोग छ । हालसम्म गैरसरकारी संस्थामार्पmत ७ सय ७० मध्ये ७ सय ५९ निर्माण सम्पन्न र ११ निर्माणाधीन छन् । यसैगरी विद्यालय व्यवस्थापन समितिमार्पmत ६ हजार ५४ मध्ये ४ हजार ९ सय ३३ निर्माण सम्पन्न र १ हजार १ सय २१ निर्माणधीन छन् । एडीबी, जाइका, भारत सरकारलगायत विकास साझेदारमार्पmत ७ सय २९ मध्ये ५ सय ५४ निर्माण सम्पन्न र १ सय ७५ वटा विद्यालय निर्माणाधीन छन् ।
विद्यालय पुनर्निर्माणमा स्वीकृत कार्यक्रमका लागि लागतअनुसार बजेट अभाव रहेको र छुट्याइएको बजेट पनि समयमा निकासा हुन नसक्दा तोकिएको लक्ष्य प्राप्त गर्न नसकिएको सीएलपीआईयूले जनाएको छ । चालू आवमा नै विद्यालय पुनर्निर्माणको सबै काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्