लाप्राकको एकीकृत नमुना बस्ती स्थानीय सरकारलाई हस्तान्तरण «

लाप्राकको एकीकृत नमुना बस्ती स्थानीय सरकारलाई हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरेको छ ।
एनआरएनएले धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण गरेको नमुना बस्ती बिहीबार गाउँपालिकालाई हस्तान्तरण गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र सांसद हरिराज अधिकारीको उपस्थितिमा संघका अध्यक्ष कुमार पन्तले गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतिकात्मक साँचो हस्तान्तरण गरे ।
भूकम्प प्रभावित लाप्राकका ५ सय ७३ घरधुरीका लागि त्यति नै संख्यामा घर बनाइएको छ । गुप्सीपाखाको १८.३२ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । २०७३ साल कात्तिकमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणको शिलान्यास गरेका थिए । लाप्राकको पुरानो बस्ती पहिरोको जोखिममा रहेको र २०७२ सालको भूकम्पपछि थप जोखिम बढेकाले अहिलेको बस्तीभन्दा दुई किलोमिटर माथिको गुप्सीपाखामा एकीकृत बस्ती बनाइएको हो । एउटा घर निर्माणमा १० लाख रुपैयाँभन्दा बढी खर्च भएको संघले जनाएको छ । एकीकृत नमुना बस्ती निर्माणका लागि नेपाली सेना, स्थानीय बासीन्दासहित स्वयं सेवकले पनि श्रमदान गरेका थिए ।
बस्तीमा निर्माण भएका सबै घर एकै प्रकारका छन् । लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार एनआरएनएले २ तले ४ कोठे घर बनाएको हो । एकीकृत बस्तीमा झ्यालढोका गुणस्तरीय नभएको स्थानीयले गुनासो गर्दै आएका छन् । बस्तीका घरका लाभग्राही छनोट गोला प्रथाबाट गरिएको छ । केही लाभग्राही नयाँ घरमा आएर बस्न थालिसकेका छन् । बस्तीका एक घरबाट अर्को घरमा जाने बाटो, ढल निकास, भूसंरक्षण लगायतका काम भने बाँकी छ । ती काम पुनर्निर्माण प्राधिकरणमार्फत छिट्टै सुरु हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । “एक घर बराबर ५ लाख रुपैयाँका अन्य संरचना बन्नेछ,” उनले भने, “एनआरएनसँगको समन्वय र सहकार्यमा बस्तीमा बनाउन बाँकी रहेका सबै संरचना बनाउनेछौं ।” बस्तीका लाभग्राहीलाई घरको लालपुर्जा उपलब्ध गराउने काम पनि सुरु भइसकेको छ । एउटा घरले ३ आना २ पैसा अर्थात् १ सय वर्गमिटर क्षेत्रफलको लालपुर्जा पाउने छन् । घर आफ्नो स्वामित्वमा आए पनि उनीहरूले १० वर्षसम्म बेचबिखन गर्न नपाउने जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख रामशरण आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्