अव्यवस्थित संरचनाले कुरुप बन्दै चन्दननाथ मन्दिर
कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर पछिल्लो समय कुरुप बन्दै गएको छ । मन्दिर आसपासका क्षेत्रमा सरकारी तथा निजी प्रयोजनका लागि निर्माण गरिएका अव्यवस्थित भौतिक संरचनाले प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर कुरुप बन्दै गएको हो ।
मन्दिर संरक्षण तथा प्रवद्र्धनका लागि अहिलेसम्म गुरुयोजना निर्माण गर्न नसक्दा मन्दिर वरिपरि मनलाग्दी संरचना निर्माण हुन थालेका छन् । जसले गर्दा मन्दिरको शोभा नै हराएको छ भने पहिला चारैतिरबाट देखिने मन्दिर आजभोलि भवनले छोपिएको छ ।
मन्दिरको पश्चिममा जिल्ला प्रशासनको नयाँ तथा पुरानो भवन, होटल, उत्तरमा बन्न लागेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको पाँच तले भवन, दक्षिणतिर निर्माण भएका निजी ठूला भवनले गर्दा चारैतिरबाट मन्दिर छोपिएको छ । मन्दिर वरिपरि भवन निर्माण गर्नु अघि व्यक्ति तथा कार्यालयहरूले गुठी समितिसँंग कुनै समन्वय नगरेको चन्दननाथ गुठी समितिले बताएको छ । एक्कासि पाँच तला बन्ने भन्दै तीन तलाको काम सुरु भएपछि मात्र थाहा भयो । गुठी समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले भने, “यो भवनले मन्दिर छेक्यो । मन्दिरको गरिमा र पहिचान मेट्ने प्रयास भयो, सुन्दरता हरायो, यो राम्रो भएन ।”
मन्दिर वरिपरिको घर एकतले मात्रै लगाउने परम्परागत चलन थियो । समयक्रमसँंगै दुई तलासम्म लगाउने कार्यको थालनी भयो । उनले थपे, “अहिले त व्यक्तिगत र सरकारी भवनले मन्दिर नै ढाक्न थालिसके । मन्दिरमा खडा हुने ५२ हाते लिङ्गाभन्दा अग्लो भवन निर्माण हुनुले यहाँको धार्मिक आस्था संकटमा पर्न सक्ने देखिन्छ ।”
मुगु रारा ताल हुँदै जुम्ला चन्दननाथ घुम्न आउने पर्यटकको संख्या वृद्धि भइरहेको अवस्थामा मन्दिर नै छोपिएपछि गुरुयोजनाअनुसार काम गर्नुपर्ने पर्यटकले सुझाव दिएका छन् । पुरातत्व विभाग, गुठी समितिले पनि धार्मिक तथा सांस्कृतिक महत्व बोध गर्न नसकेको स्थानीय बताउँछन् । पहिलो मन्दिर परिसरमा रहेको मार्गमा सिलौटबाहेक कालोपत्रे नगर्ने भनियो । अहिले वरिपरिको पूरै क्षेत्र कालोपत्रे भइसकेको छ । चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले बताए ।
मन्दिर आसपासमै जिल्ला अदालत जुम्लाको भवन बनेको छ । त्यो ठाउँमा मन्दिरका भकारी राखिन्थे । पूर्वअध्यक्ष आचार्यले थपे, “यहाँ प्रमाण बोलिरहेका छन् । तर ती प्रमाण थन्किएका छन् । अहिले चन्दननाथ भैरवनाथ मन्दिर आसपासका सबै भवन आधुनिक बनेका छन् । घर निर्माण गर्दा पहिले जानकारी दिने चलन छैन ।”
चन्दननाथ गुठी समितिले मन्दिरको गुरुयोजना निर्माण गर्न नसकेका कारण धमाधम भवन निर्माण गर्ने र मन्दिरको जग्गा मास्ने कार्य भइरहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले तत्काल मन्दिरको गुरुयोजना निर्माण गर्नुपर्ने बताए । संस्कृतिसम्बन्धी जानकार पूर्णसिंह कठायत भवन बनाउँदा एक पटक मन्दिरसँंग समन्वय हुनुपर्ने बताउँछन् । उनले भने, “मन्दिर सबैको आस्थाको धरोहर हो । यो धरोहरको आफ्नै प्रकारको पहिचान छ । यो पहिचान मेटिन हुँदैन ।” यो विषयमा पुरातत्व विभाग र गुठी समिति केन्द्रीय कार्यालय नै जिम्मेवार हुनुपर्ने जुम्लावासी बताउँछन् ।
नेपालको भाषा संस्कृतिको उद्गमस्थल जुम्ला हो । धार्मिक धरोहरका रूपमा रहेको चन्दननाथ मन्दिर हो । प्राचीनकालदेखि स्थापित धरोहरलाई प्रत्यक्ष असर पर्ने गरी भवन बनाइएको छ । भूकम्प, दैवीप्रकोप भएको खण्डमा भवनको तला भत्किएर मन्दिरको भौतिक संरचनामा क्षति हुन जान्छ । यो भवन तीन तलाभन्दा माथि बनाउन मिल्दैन । गुठी समितिका अध्यक्ष रोकायाले भने, “सबै सरोकारवाला मिलेर भवन तीन तलामै रोकिदिन आग्रह गरेका छांै ।