तामाकोसी पाँचौको भवन निर्माण सुरु
तामाकोसी पाँचौ जलविद्युत् आयोजनाका लागि भवन निर्माण सुरु भएको छ । आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटडले आयोजनाका लागि स्थायी रूपमा कार्यालय र आवास प्रयोजनका लागि भवन निर्माण थालेको हो ।
आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको तयारी भइरहेको बेला चालू आर्थिक वर्षका लागि नेपाल सरकारको अनुदानबाट कम्पनीले भवन निर्माण थालेको हो । विगू गाउँपालिका–३ जामुनेमा भवन निर्माणको काम जारी छ । यो आयोजनाको लागि कर्मचारी बस्ने स्थायी संरचना हो ।
तामाकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधानले आयोजनाका लागि जामुनेको पुलको छेउमा स्थायी आवास निर्माण गर्न लागेको बताए । स्थायी संरचनाका लागि २५ करोड खर्च हुनेछ । साइटको काम र आयोजनाको वित्तीय व्यवस्थापनको काम पनि जारी रहेको बताए । वित्तीय व्यवस्थापनको काम भएपछि आयोजनाका लागि ठेकेदार छनोट गरी निर्माणमा जाने उनले बताए ।
आयोजनाका इन्जिनियर मनीष भण्डारीले भवन निर्माणका लागि १८ महिनामा पूरा गर्ने गरी २०७७ माघदेखि काम सुरु भएको हो । २०७९ असारसम्म भवनको काम सबै पूरा हुनेछन् । आवासीय प्रयोजनका लागि विभिन्न प्रकृतिका १६ वटा भवन निर्माण हुने इन्जिनियर भण्डारीले बताए ।
आवास भवनका लागि श्रृंगेश्वर–क्रेरा जेभीले जिम्मा लिएको छ । भवन निर्माण कम्पनी श्रृंगेश्वर–क्रेराका प्रतिनिधि गणेशविक्रम शाहीले भवन निर्माणका लागि माटो परीक्षण पूरा गरी जग हाल्ने काम सुरु भएको जानकारी दिए । निर्माण स्थलसम्म पुग्ने प्रवेशमार्ग निर्माण र जग्गा तयारीसमेत पूरा भएको छ ।
वित्तीय व्यवस्थापन प्रक्रिया जारी
आयोजना निर्माणका लागि कम्पनीले वित्तीय व्यवस्थापनको काम पनि जारी राखेको छ । आयोजनाको वित्तीय व्यवस्थापनका लागि स्वदेशी र विदेश दुवै वित्तीय संस्थासँग छलफल अगाडी बढाएको हो ।
आयोजना बनाउन सरकारले चीनबाट १५ अर्ब रुपैयाँ अर्थात १५ करोड डलर वैदेशिक लगानी ल्याउन प्रक्रिया सुरु गरेकोे छ । आयोजनामा ऋण लगानीका लागि एसियन इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) बाट ऋण लिन प्रक्रिया सुरु भएको हो । आयोजना बनाउन करिव १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एआईआईबीबाट ऋण लिनका लागि अर्थ मन्त्रालयमार्फत प्रक्रिया अघि बढेको छ ।
एआईआईबीले पनि आयोजनामा ऋण लगानीका लागि नेपाल सरकारलाई ९ लाख डलर अनुदान सहयोग गरेर हग्लर बेल्ली पाकिस्तानलाई परामर्शदाताको रूपमा नियुक्त गरी आयोजनाले पार्ने जैविकविविधता कार्ययोजनाको बारेमा अध्ययन गराउँदैछ । परामर्शदाताको प्रतिवेदनपछि एआईआईले वित्तीय व्यवस्थापन गर्नेछ ।
प्रमुख कार्यकारी अधिकृत प्रधानले आयोजना निर्माणका लागि स्वदेशी वित्तीय कम्पनीहरूसँग पनि छलफल जारी रहेको बताए । कर्मचारी सञ्चय कोषले पनि आयोजनामा लगानीका लागि चासो राखेकाले छलफल भइरहेको बताए । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता पनि कर्मचारी सञ्चय कोष हो । माथिल्लो तामाकोसी पूरा हुन लागेकाले सञ्चय कोषको लगानी तामाकोसी पाँचौंमा गर्ने इच्छा राखेको हो । तामाकोसी पाँचौं माथिल्लो तामाकोसीकै क्यासकेट आयोजना हो । यहाँ बाँधका कुनै पनि संरचना बनाउनु पर्दैन ।
आयोजनाको जर्मन परामर्शदाता ल्याह्मेरले गरेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार आयोजनाको क्षमता ९८.५ मेगावाट र लागत १६ अर्ब लाग्ने अनुमान छ । आयोजनामा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको टेलरेसबाट निस्कने पानीलाई ८ किलोमिटर सुरुङ बनाएर विगू गाउँपालिका–४ सुरिटारमा भूमिगत विद्युत्गृह बनाएर पानी खसालिने छ । आयोजना सुरु गरेको ४ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ ।
आयोजना २ प्याकेजमा निर्माण गर्ने लक्ष्य छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रामेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् माथिल्लो तामाकोसीले निर्माण गरेको २२० केभीको गोंगर खिम्ती प्रसारण लाइनमा जोडिने छ । दुवै आयोजनाको विद्युत् एउटै प्रसारण लाइनबाट जाँदा खिम्ती सबस्टेसनसम्म पुग्दा हुने चुहावटको हिसाब आएपछि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) हुनेछ ।