Logo

मध्यनेपालको डढुवामा महोत्सव तथा चैते दसैं मेला

पश्चिम लमजुङको मध्यनेपाल–८ डढुवामा पाँच दिने महोत्सव सुरु भएको छ । स्थानीय क्रियटिभ युथ क्लब एवं मध्यनेपाल नगरपालिका–८ वडा कार्यालयद्वारा करापुकोट डढुवा दुर्छा महोत्वस तथा ऐतिहासिक चैते दसैं मेला–२०७८ को आयोजना गरेको हो ।
‘राष्ट्र विकासमा युवाको प्रतिबद्धता–लगनशील, सिर्जनशील सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित सो महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन्
महोत्सव उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले विकट बस्तीको विकासका लागि गण्डकी प्रदेश सरकारले सडक, विद्युत्, खानेपानीलगायतलाई प्राथमिकतामा राखेको बताए । सडक विद्युत् खानेपानी लगायतका आधारभूत संरचनाको विकास गर्नसके जिल्लाका ग्रामीण बस्तीहरुमा समृद्धिको ढोका खुल्ने भन्दै मुख्यमन्त्री गुरुङले प्राथमिकताको आधारमा ग्रामीण विकासको क्रम सुरु भइसकेको उल्लेख गरे ।
स्थानीय संस्कृतिको जर्गेना, पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको लक्ष्य सहित महोत्सव आयोजना गरिएको स्थानीय वडाध्यक्ष अमृत तामाङले जानकारी दिए । एक सातासम्म सञ्चालन हुने सो महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विविध सांस्कृतिक झाँकी प्रदर्शन, राष्ट्रव्यापी सेभेन साइडको फुटबल प्रतियोगिता, छेलो प्रतियोगिता, स्थानीय कृषि प्रदर्शनीलगायत विशेष आकर्षण रहेको छ ।
मध्यनेपालको डढुवा गाउँमा अघिल्लो वर्षदेखि नै व्यावसायिक होमस्टे सुरु भएको थियो । स्थानीय कला संस्कृतिको संरक्षण गर्दै गाउँमै रोजगारीको अवसर सृजना गर्न मध्यनेपाल–८, डढुवाका स्थानीयले व्यावसायिक होमस्टे सुरुवात गरेका हुन् ।
गुरुङ समुदायको बहुल्यता रहेको डढुवा होमस्टेमा स्थानीय समुदायको चलन चल्तीका खाना, संस्कृतिको अनुभव गर्न पाइने स्थानीयले बताएका छन् । स्थानीय उत्पादनबाटै आर्थिक स्तर उकास्ने उद्देश्यसहित व्यावसायिक होमस्टे सुरुवात गरिएको स्थानीयले बताएका छन् ।
डढुवा गाउँमा होमस्टे प्रवद्र्धनको निम्ति मध्यनेपाल नगरपालिकाले पनि विशेष सहयोग गर्दै आएको छ । लमजुङका उत्तरी भेगमा धेरै गाउँहरुमा व्यावसायिक घरवास कार्यक्रम सुरु भएपनि पश्चिम भेगमा नयाँ भएकाले डढुवा गाउँ होमस्टेको लागि उपयुक्त भएको सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्