प्रधानाध्यापक नबस्दा विद्यालय अस्तब्यस्त «

प्रधानाध्यापक नबस्दा विद्यालय अस्तब्यस्त

गोरखा-प्रधानाध्यापक नबस्दा सिर्दीबासको पाङसिङ प्राथमिक विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि अस्तब्यस्त भएको छ ।
चुमनुब्री गाउँपालिका–३ सिर्दीबासको सो विद्यालयमा प्रधानाध्यापक रत्नप्रसाद धिताल नियमित नहुँदा बालबालिकाको पठनपाठनका साथै प्रशासनिक काम अस्तब्यस्त भएको स्थानीय बासिन्दाले बताएका छन् । असोज पहिलो साता चितवनस्थित घर जान निस्किएका प्रधानाध्यापक अझै विद्यालय नपुगेको शिक्षिका रामकुमारी गुरुङले बताइन् । “हेडसर ३/४ महिनामा एक सातामात्रै देखिनुहुन्छ,” उनले भनिन्, “तलब लिने बेलामात्रै आउने हो । यहाँ नियमित पढाइ हुन्न । विद्यार्थीको भविष्य अन्धकार हुने भयो ।” पाँच कक्षासम्म पढाइ हुने सो विद्यालयमा विषयअनुसारको शिक्षक नहुँदा कोर्स अघि बढ्न नसकेको उनको भनाइ छ ।
गणित विषयका शिक्षक मिलन लामाको असोजमा मृत्यु भएपछि प्रधानाध्यापकै अनुपस्थितिमा रिक्त शिक्षक पदपूर्ति प्रक्रिया अघि बढ्न नसकेको विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष कान्छा गुरुङले बताए । गणित विषयसँगै प्रधानाध्यापकले पढाउने नेपाली विषयको कक्षा पनि सञ्चालन हुन नसकेको उनको भनाइ छ । “हेडसरले कागजमा रिर्पोट राम्रो देखाउँछन्,” उनले भने, “तर काम त्यसो छैन । विद्यालयमा नै आउँदैनन् । पोहोर छात्रवृत्ति नै बाँडेनन् ।” निजी स्रोतकी शिक्षिका नम्रता गुरुङले १६ महिनादेखि तलब पाउन नसकेको शिक्षिका गुरुङले बताइन् । मासिक आठ हजार रुपैयाँ पारिश्रमिक पाउने गरी निजी स्रोतमा नियुक्त गरे पनि तलब नपाएको उनको भनाइ छ । यस्तै, ईसीडीकी शिक्षिका ज्ञानु घलेले पनि तलब पाउन सकेकी छैनन् । ईसीडी शिक्षिकालाई सरकारले दिने छ हजारमा थपेर विद्यालयले मासिक ११ हजार ३ सय रुपैयाँ तलब दिदै आएको थियो । तर पाँच्ँ महिनायता उनले आन्तरिक स्रोतबाट पाउने रकम पाउन नसकेको शिक्षिका गुरुङले बताइन् ।
विद्यालयमा प्रधानाध्यापक नै नभएपछि ब्यवस्थित पठनपाठन हुन नसकेको ब्यवस्थापन समितिका अध्यक्ष रमन गुरुङले स्वीकार गरे । “हेडसर नै बस्दैनन्,” उनले भने, “हेडसर नभएपछि अरु मिसले तलब पनि भनेको बेला पाउँदैन । मन लगाएर काम गर्नुभएको छैन । एउटा सरको ठाउँ खाली नै छ ।” “निजी स्रोत र ईसीडी शिक्षिकालाई तलब ब्यवस्थापनको पहल भइरहेको उनको भनाइ छ । प्रधानाध्यापक धिताललाई पटकपटक सम्पर्क गरे पनि उनले फोन नउठाएको अध्यक्ष गुरुङले बताए । “फोन नै उठाँदैनन्,” उनले भने, “फोन नम्बर पनि फेरिरहन्छन् । कात्तिक २३ गते फोन भएको थियो, आउँछु भन्या मान्छे अहिलेसम्म अत्तोपत्तो छैन । फोन पनि उठाउँदैनन् ।”
शिशुदेखि पाँच कक्षासम्म सञ्चालन हुने सो विद्यालयमा पर्याप्त भवन पनि नभएको स्थानीय बुद्ध गुरुङले बताए । “विद्यालयमा जम्मा ५ कोठा मात्र छ,” उनले भने, “ईसीडी र १ कक्षा एउटै कोठामा चल्छ । ५ कक्षा टहरामा चल्छ ।” विद्यालयमा ९५ जना भर्ना भए पनि एक सय २० जना नियमित पढ्न आउने शिक्षिका गुरुङले बताइन् । शिक्षक ब्यवस्थापन लगायत शिक्षासम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहमा रहेकाले यो समस्यालाई स्थानीय तहले सम्बोधन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेलले बताए । तर गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले शिक्षासम्बन्धी कार्यविधि निर्माणमा अलमल भएकाले थप काम गर्न नसकेको बताइन् । “कार्यविधि बनाउन ढिलाइ हुँदा हामीलाई समस्या छ,” उनले भनिन्, “पाङसिङ स्ुकलमा समस्या छ, स्रोतब्यक्ति, विद्यालय ब्यवस्थापन समितिसँग छलफल गरेर प्रधानाध्यापकलाई नियमित बस्ने वातावरण बनाउनुका साथै रिक्त पदपूर्ति गर्ने पहल गर्नेछौं ।”

प्रतिक्रिया दिनुहोस्