रूरू जलविद्युत आयोजनाको आइपीओ बाँडफाँट
रूरू जलविद्युत आयोजनाको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले पाएका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार बाँडफाँट गर्दा ३७ हजार ९१६ जना आवेदकले मात्र सेयर पाएका हुन् ।
क्यापिटलका अनुसार कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता सेयर खरिद आवेदन परेको थियो । जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । अर्थात भाग्यमानी ३७ हजार ९१६ जना आवेदकले कम्पनीको १० कित्ता सेयर प्राप्त गरेका छन् ।
यसरी बाँडफाँट गरी बाँकी रहेको ७ कित्ता सेयर पुनः सेयर पाउने ३७ हजार ९१६ जनालाई गोलाप्रथामा सहभागि गराएर ७ जनालाई थप १–१ कित्ता वितरण गरिएको हो । यसअनुसार कम्पनीको आइपीओ ७ जनाले ११ कित्ता र ३९ हजार ९०९ जनाले १० कित्ता पाएका छन् । बाँकी आवेदकले सेयर पाउन सकेनन् ।
कम्पनीले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गरेको थियो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइपीओमा कुल १६ लाख ८३ हजार १२१ वटा आवेदन मार्फत २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता खरीदको लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग भएको तुलनामा ६२.१० गुणा बढी हो ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा छ ।
कम्पनीको वित्तीय विवरणअनुसार प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ छ । कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।