Logo

ब्रुसबाङका चेपाङलाई घरमै नागरिकता

जिल्लाको विकट क्षेत्र ब्रुसबाङका चेपाङलाई न्यानो कपडाका साथै घरमै पुगेर नागरिकता पनि प्रदान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी धोलक ढकालको नेतृत्वमा टोलीले ३६ परिवारका सदस्यलाई न्यानो कपडा, म्याटे«स, कम्बल, ब्लांकेट, त्रिपाल, गुन्द्री, किचेन सेट, सुत्केरी महिलालाई पछ्यौरा, वृद्धहरुलाई ज्याकेट आदि वितरण गरेको थियो । साथै ७५ वर्षिय बेसरी माया चेपाङलाई सहायक प्रजिअ ढकालले नागरिकता प्रदान गरे ।
चेपाङसँग साक्षात्कार गरेका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक राखी जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरुलाई ब्रुसबाङका चेपाङलाई जाडोबाट बचाउन आग्रह गरेका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअको प्रस्तावलाई गैसस प्रतिनिधिहरुले समर्थन गरेका थिए ।
सामान हस्तान्तरणमा जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, यूएमएन, केयर नेपाल, प्रयास नेपाल, सिर्डस धादिङ, सहयात्री समाज, नारिजागरण केन्द्र, फोकस नेपाल, हिम्स नेपाल, एक्सन नेपाल, सुहाआरा, अक्सफाम, नेपाल युथ फाउण्डेसन महाशक्ति चिउरा उद्योगको साझेदारी थियो ।

प्रतिक्रिया दिनुहोस्