Logo

नेपाली पर्यटकलाई आकर्षित गर्दै टाइगर रिसोर्ट

कोरोना भाइरस संक्रमण र जोखिमका कारण १ वर्षदेखि बन्द रहेको पश्चिम क्षेत्रकै पहिलो पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकहरुले गन्तव्य बनाउन थालेका छन् ।

एक महिना अघि सञ्चालनमा आएको रिसोर्टले बाह्य मुलुकका पर्यटक पाउन नसके पनि आन्तरिक पर्यटक आउन सुरु भएसँगै बिस्तारै चहलपहल सुरु भएको रिसोर्टका महाप्रबन्धक लक्ष्मण थापाले बताए । “एक महिना भयो सञ्चालनमा आएको, आन्तरिक पर्यटकहरु आउने क्रम  सुरु भएको छ , नेपाली पर्यटकलाई लक्षित गरी प्याकेजहरु बनाएका छौं” थापाले भने ।

रिसोर्टमा स्थानीयसँगै नेपालका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटकहरु आउने क्रम सुरु भएको र नेपालीलाई लक्षित गरी विभिन्न प्याकेजहरु बनाइएको रिसोर्टको सेल्स मार्केटिंग डाईरेक्टर  रणधिर यादवले बताए ।

“टाइगर रिसोर्ट खुल्यो भनेर सोध्ने क्रम देश भित्र र बाहिरबाट सुरु भइसकेको छ, भारतीय पर्यटकहरुले पनि आउन चाहेका छन् तर बोर्डर अझै सहज छैन, भारतबाट निजी सवारी साधन आउन अझै रोक लगाइएकाले पर्यटक आउन सकेका छैनन्” उनले भने, “बुकिङ गर्ने सोधपुछ गर्नेहरु अहिले धेरै छन् भारतबाट पनि बुकिंग गर्छन् तर आउन सक्दैनन ।” बाह्य जिल्लाका मात्रै नभई रुपन्देहीको भैरहवा, बुटवल, नवलपरासी, कपिलवस्तु, पाल्पाबाट समेत पर्यटकहरु आउन थालेका छन् ।

 नेपालीलाई लक्षित गरी एक रातको प्याकेज (बेड एन्ड ब्रेक फास्ट) मा अर्को रात निःशुल्क अफर ल्याएको र छिटै आकर्षक फेमेली प्याकेज, हनिमुन प्याकेज, समर इज कुल समर प्याकेज ल्याउने तयारी भइरहेको यादवले बताए । नेपालीहरुले पनि पाँच तारे होटल रिसोर्टको अनुभव गर्न सकुन भन्दै सोही अनुसारको प्याकेज बनाइएको उनले बताए । रिसोर्टले नयाँ वर्षलाई लक्षित गरी इनहाउस कार्यक्रम (रिसोर्टमा बस्न आउनेहरुका लागि) सार्वजनिक गरेको छ ।

रिसोर्टमा नेपालको सबैभन्दा लामो स्वीमिङ पुल रहेको छ । १८ हजार स्क्वायर फुट क्षेत्रफलमा रहेको रिसोर्टको प्राय सबै कोठाबाट सिधै पुलमा जान सकिने गरी बनाइएको छ । ३ वर्षअघि सञ्चालनमा आएको टाइगर रिसोर्ट नेपालको पर्यटन क्षेत्रमा ठूलो वैदेशिक लगानी भएको रिसोर्ट हो । रिसोर्टमा ६ स्वीट रुम, ४ जुनियर स्वीट रुम, २ भिल्ला तथा ९० डिलक्स गरी १०२ कोठाहरु रहेका छन् भने क्यासिनो समेत सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्