Logo

अन्तरविद्यालय सिकाइका लागि पढाइ मेला

रुकुम-रुकुम पूर्वको भूमे गाउँपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिल्लास्तरीय पढाइ मेला आयोजना गरिएको छ । विद्यार्थीहरूलाई बाहिरी ज्ञानसहित विद्यालयस्तरमा भइरहेका पढाइ एक अर्कामा आदानप्रदान गर्ने उद्देश्यले नौलो कार्यक्रमको आयोजना गरिएको हो ।
मेलामा पढाइ सामग्री तथा पाठ्यपुस्तक पनि प्रदर्शन गरिएको छ । विश्वखाद्य कार्यक्रमको आर्थिक र विश्व शिक्षाको प्राविधिक सहयोगमा मिक नेपालले पढाइ मेलाको आयोजना गरेको हो । विश्व शिक्षा कार्यक्रम रुकुमका कार्यक्रम अधिकृत प्रमोदकुमार विष्टले जिल्लाका विभिन्न विद्यालयबीचको सिकाइ अवस्था एकआपसमा घुलमिल गराउने कार्यक्रमको उद्देश्य रहेको बताए । भूमे गाउँपालिका–२ को त्रिवेणी माध्यमिक विद्यालय काँक्रीमा प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत पढाइ मेला आयोजना गरिएको थियो । त्यस्तै आठबिसकोट नगरपालिकाको दीपज्योति आधारभूत विद्यालयमा आयोजक गरिएको छ । पढाइ मेलामा शिक्षक र विद्यार्थीको भेलासँगै शिक्षण सिकाइका क्रियाकलाप र विभिन्न प्रतियोगीता पनि आयोजना गरिएको थियो ।
पढाइ मेलाले विद्यालय तथा विद्यार्थीलाई थप ऊर्जा हौसला थप्ने र यस्तो कार्यक्रम सञ्चालन नभएका अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार गर्नुपर्ने पढाइ मेलामा सहभागी सहिद वासु स्मृति नमुना आधारभूत विद्यालयका प्रध्यानाध्यापक विष्णुकुमार शर्माको भनाइ छ । शिक्षाको पहिलो खुट्किलोको रूपमा रहेको प्रारम्भिक कक्षाका बालबालिकाको सिकाइ प्रभावकारी र गुणस्तरीय होस् भनेर संस्थाद्वारा रुकुम पूर्व ७३ र पश्चिमका ९४ विद्यालयमा कार्यक्रम संचालन गरिएको र कार्यक्रम उपलब्धिमूलक भइरहेको आयोजक संस्था मिक नेपाल रुकुमका अध्यक्ष भिउमान घर्तीले बताए ।
प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाको लेखाइ, पढाइ र सिकाइ सीप वृद्धि संचालन गरिएका यस्ता कार्यक्रमले जिल्लाका दुर्गम बस्तीमा राम्रो प्रभाव पार्ने आयोजक संस्थाले अपेक्षा गरेका छन् । कार्यक्रममा विभिन्न प्रतियोगीतामा स्थान हासिल गर्ने विद्यार्थी र गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट काम गर्ने शिक्षकलाई समेत सम्मान गरिएको थियो । बालबालिकालाई किताबी किरोको रूपमा मात्र विकास भइरहेको पुरानो शिक्षण प्रणालीलाई हटाउँदै यस्ता रचनात्मक कार्यक्रमले प्रयोगात्मक रूपमा खेल्दै पढ्दै शिक्षामा आर्कषण गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्