सोमेश्वर गढीमा सबै संरचना ढुंगाका «

सोमेश्वर गढीमा सबै संरचना ढुंगाका

भरतपुर : भ्रमण वर्ष २०२० का लागि सरकारले सूचीकरण गरेका १ सय गन्तव्यभित्र परेको माडी नगरपालिकाको सोमेश्वर गढीको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चार महिना लगाएर अध्ययन भइरहेको गुरुयोजना दुई हप्ताभित्र पूर्ण रूपमा तयार हुँदैछ ।
आरएन्डआर इन्जिनियरिङ कन्सल्टेन्सीले सोमेश्वर क्षेत्रको सर्भे गरेर पर्यटकीय संरचना निर्माणका लागि गुरुयोजना बनाइरहेको छ । करिब २ किमि क्षेत्रमा पर्यटकीय संरचना बन्नेछन् । सबै संरचना ढुंगाका हुनेछन्, पर्याप्त बजेट भएमा ५ वर्षमा सबै संरचना तयार हुनेछन् । सोमेश्वर गढीको ऐतिहासिक तथा धार्मिक महत्वलाई टेवा पुर्याउँदै पर्यापर्यटन विकासमा सहयोग गर्ने लक्ष्यसहित गुरुयोजना बनाइएको छ ।
केही संशोधन हुँदैछ, प्रत्येक संरचनाको लागत अनुमान पनि निकालिनेछ । दुई हप्ताभित्र गुरुयोजनाको पूर्ण प्रतिवेदन नगरपालिकालाई बुझाउने तयारी गरिएको र गुरुयोजनाले करिब ८ बिघा क्षेत्रफललाई समेट्नेछ । नेपाल–भारत सीमा पर्ने क्षेत्र भएकाले गढीले राष्ट्रियतालाई पनि उजागर गर्छ । गढीबाट नेपाल–भारत दुवैतर्फका टाढा–टाढाका सहर हेर्न मिल्ने गरी अग्लो भ्युटावरको डिजाइन गरिएको छ । ठाउँठाउँमा पार्कको परिकल्पना गरिएको छ, ऐतिहासिकता झल्काउने गरी केही नयाँ संरचना प्रस्ताव गरिँदैछ ।
गढी संरचनालाई म्युजियम नजिकै बनाउने गरी संशोधन गरिनेछ । सीमा क्षेत्रमा समस्या हुने महसुस गरेर नेपाली भूमिमै गढीको संरचना बनाउन प्रस्ताव गरिएको छ । म्युजियमनजिकै गढीको स्वरूप तयार हुनेछ, गढीको महत्व र इतिहासबारे सूचना लिन सकिने म्युजियम हुनेछ ।
गढी जान आउने सवारी पार्किङ स्थलबाट नजिकै म्युजियम, गढी स्वरूप र पिकनिक स्पर्ट हुनेछन् । सोमेश्वर फेदीमै समेत पर्यटक रमाउनेछन्, चिसापानी क्षेत्रको पर्यावरणले लोभ्याउनेछ । गढी नपुग्दासम्म पर्यटक जिज्ञासु हुने गरी संरचना डिजाइन भइरहेको छ । पाताल गंगाको नामले चिनिदै आएको चन्द्रकुण्डको दायाँतर्फ विष्णु भगवानको मूर्ति शिलामा बनाइनेछ भने दायाँतर्फ शिव मन्दिर बनाइनेछ । त्योभन्दा माथि मनोरञ्जन पार्क बनाइने छ । त्योभन्दा पर अग्निकुण्डको दायाँतर्फ शालीग्राम पार्क बनाइनेछ । सामेश्वर क्षेत्रमा पुराना शालिग्राम प्रशस्तै छन्, उत्खनन् गरेर त्यही पार्कमा राखिनेछ । प्राकृतिक शिलाले पर्यटक रमाउनेछन् । गढी पुग्न १ किमि पैदल हिँड्नुपर्नेछ ।
दशगजा नपुग्दै आउने गोलपार्क क्षेत्रमा शालिक र नेपालको ठूलो झन्डा राखिनेछ । दशगजा क्षेत्रमा प्रवेश गर्न आकर्षक गेटमा नेपालको झन्डा आकृति राखिनेछ । अंग्रेजयुद्धमा वीरगति पाएकामध्ये इतिहासमा उल्लेख भएका दुई जनाको पूर्ण कदको शालिकले संयुक्त रूपमा समातेको नेपालको विशाल झण्डाको स्वरूप राखिनेछ । गोलपार्क नजिकै हेलिप्याड बनाइनेछ । ‘सोमेश्वर गढी’ लेखिएको ठूला अक्षर तल्लो भेगबाट हेर्न मिल्ने बनाइनेछ ।
त्योमाथि मेला गर्न मिल्ने संरचना बनाइनेछ । हाल शिवलिंग भएको ठाउँमा शिव मन्दिर बन्नेछ । त्यसमाथि ढुंगेधारा बनाइनेछ । हाल रहेको मन्दीर नजिकै भोग दिने क्षेत्र कायम गरिनेछ । यस्तै सामेश्वरको टाकुरामा अग्लो भ्युटावर बनाइनेछ । गढी पुग्न उकालो लाग्दा करिब ५ स्थानमा आराम स्थल बनाइनेछ ।
सोमेश्वरगढीलाई बहुआयामिक पर्यटकीय गन्तव्यका रूपमा समेत विकास गरिनेछ । धार्मिक, ऐतिहासिकसँगै राष्ट्रप्रेम समेत गढी क्षेत्रले बढाउनेछ । प्राकृतिक सौन्दर्यतामा रमाउन पाइनेछ, नेपाल भारतको दृश्य हेर्न मिल्नेछ, बाघको करिडोर क्षेत्रको समेत अध्ययन गर्ने थलो बन्नेछ ।
चितवनको हावापानी गर्मी भए पनि सोमेश्वरगढीले पहाडी क्षेत्रको शितलता प्रदान गर्नेछ । करिब १ किमि हिँडेपछि गढी क्षेत्र पुग्ने गरी उच्चस्तरको ग्राबेल बनाउने काम भएको छ । ट्रेकिङका लागि गढी जानुपर्छ भन्ने मान्यता स्थापित हुनेछ, ढुंगैढुंगाका संरचनाले पर्यटक लोभिनेछन् । गुरुयोजना तयार भइसकेपछि सो अनुसारका निर्माणलाई गति दिइनेछ । ४१ लाख बराबरको गोलपार्क छिट्टै शिलन्यास हुँदैछ । तीन–चार वर्षमा गुरुयोजनाका सबै संरचना तयार हुनेछन्, माडीकै मुख्य गन्तव्यका रूपमा गढी स्थापित हुनेछ ।
सोमेश्वर पर्वत नेपाल–भारत सिमानाको सबैभन्दा अग्लो शिखर हो । यो क्षेत्रमा नेपाल भारतको ४५ नम्बर सीमा स्तम्भ छ । यही पर्वत श्रृंखलामा सोमेश्वर गढी पर्छ । पाल्पाका राजा मुकुन्दसेनले अंग्रेजबाट बचाउन यो गढी निर्माण गरेका थिए । वसन्तपुर बजारबाट सोमेश्वर गढी फेदि करिब ११ किमिको दूरीमा छ । वाल्मीकि, सौराहा, गोलाघाट र सोमेश्वरगढी जोड्ने गरी पर्यटकीय मार्ग बनाउने गरी छलफल भइरहेको उनले बताए । स्थानीय युवालाई कर छुट, सहुलियत ऋण सुविधा दिएर ठूला रिसोर्ट खोल्न प्रोत्साहन गरिनेछ । जनजातिका होमस्टे खोल्न पहल भइरहेको छ । माडी नगरपालिकाले यो वर्ष करिब २ करोड बजेट पर्यटन विकासमा लगाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्