Logo

बिहेको लगनले बढायो सुनको कारोबार

एक वर्षसम्म सुनसान बनेको सुनचाँदी बजारमा अहिले चहलपहल बढ्न थालेको छ । लगनको सिजन सुरु भएसँगै बजारमा गरगहना किन्ने ग्राहकको चहलपहल बढ्न थालेको हो । लकडाउनका कारण लामो समयसम्म पसल बन्द भएको र मूल्य लगातार बढेकाले एक वर्ष सम्म सुनचाँदीको कारोबार ठप्पप्रायः थियो ।
कोरोना भाइरसका कारण एक वर्ष ठप्पै भएको सुनचाँदीको कारोबार अहिले आएर ह्वात्तै बढ्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । अहिले विवाहको सिजन सुरु भएकाले बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको उनको भनाइ छ । ‘नयाँ वर्ष सुरु भएसँगै लगनको महिना भएकाले पनि सुनको कारोबार पनि बढ्न थालेको छ,’ उनले भने, ‘अहिले दैनिक बजारमा ४० केजीमाथि सुनको माग हुने गरेको छ, मागको आधारमा उपलब्ध भएको कोटाले माग धान्न कठिन छ ।’
सरकारले गत चैत १९ गतेदेखि कच्चा सुनको कोटा १० केजीबाट बढाएर २० केजी पु¥याएको थियो । सरकारले त्यसअघि गत वर्ष लकडाउन र निषेधाज्ञाको समयमा सुनको कोटालाई २० केजीबाट घटाएर १० केजीमा सीमित पारेको थियो । वैशाख महिना विवाहको सिजन पनि भएकाले सुनको माग बढेकाले २० केजी सुन कम भएको व्यवसायीको भनाइ छ ।
सामान्य अवस्थामा बढीमा २५ केजीसम्म बजारमा माग हुने गरेकोमा विवाहको सिजनमा ३० देखि ४० केजीको माग आउने गरेको छ । व्यवसायीहरूले भने दैनिक ३० केजी वितरण गर्नुपर्ने माग गर्दै आएका थिए ।
पछिल्लो समय बजारमा सुनको मूल्य बढ्दै गएको छ । एक महिनाअघि घटेर प्रतितोला ८५ हजार रुपैयाँमा झरेको थियो । अहिले फेरि बढेर ९० हजार नाघेको छ । सोमबार प्रतितोला ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य मंगलबार तोलामा ३ सय घटेर ९० हजार सात सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । यसअघि ०७७ साउन महिनामा सुनको मूल्य बढेर एक लाख ३ हजार ५ सय पुगेको थियो । त्यसपछि क्रमिक रुपमा घट्दै गएको सुनको मूल्य फेरि बढ्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्