Logo

कालिगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्ड मर्मत हुँदै

नेपाली सेनाले ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गरेको दुई वर्ष पछाडि कालिगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्डको सडक मर्मत कार्य थालिएको छ । दुई वर्ष अगाडिदेखी सडक विभागको जिम्मामा गएको मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक खण्ड मर्मको काम सुरु भएको हो ।
चैतको दोस्रो साताबाट उक्त सडक खण्डको भत्किएका संरचना मर्मतको काम चलिरहेको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले करिडोर मर्मतको काम थालेको हो । करिडोर मर्मतको जिम्मेवारी लामा÷आईएस÷एसी जेभीले लिएको छ । १० किलोमिटर सडक निर्माणका लागि २ करोड ६५ लाख रुपैयाँ लागत लाग्ने छ । आगामी असार दोस्रो सातासम्ममा मालढुंगा–बलेवा खण्डको १३ हजार १ सय ३५ घनमिटर पहिरो पन्छाइने छ । यस्तै ३७ घनमिटर तारजाली लगाउने र १ हजार ६ सय २२ मिटर मेसिनरी वाल लगाउने काम गरिने निर्माण कम्पनीले जनाएको छ ।
मालढुंगादेखि बलेवा विमानस्थलसम्म बाढी पहिरोका कारण भत्किएका संरचना पुनर्निर्माणको काम सुरु भएको इन्जिनियर सुरेन्द्र गौतमले बताए । दुई वर्षअघि नेपाली सेनाले ट्रयाक खोलेर सडक विभागअन्तर्गत आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना पुनर्निर्माण हुन सकेका थिएनन् । १० किलोमिटर खण्डमा आएको पहिरो पन्छाउने, तारजाली लगाउने र भत्किएका ठाउँहरूमा मेसिनरी पर्खाल बनाउँदा वर्षाको समयमा समेत सडक सञ्चालनमा सहज हुने इन्जिनियर गौतमले बताए । “ट्रयाक खुला भएका सडक बाह्रै महिना चलून् भन्ने हो,” इन्जिनियर गौतमले भने, “अवरोध हटाउनकै लागि मर्मतको काम थालिएको हो ।” विभागले पाँच करोड रुपैयाँको लागतमा १० किलोमिटर खण्ड मर्मतका लागि अख्तियारी पठाएको थियो । सोहीअनुसार ठेक्का प्रक्रिया पूरा गरेर काम सुरु भएको गौतमले बताए ।
योजनाअन्तर्गत आवश्यक ठाउँमा रिटर्निङ वाल, कंक्रिट वाल र सडकमा रहेका ढुंगामाटो पन्छाउने काम रहेको इन्जिनियर गौतमले बताए । मर्मतको काम गरिरहेको कम्पनीले समयमै काम सकिने दाबी गरेको छ । “बजेट थपिँदैन भन्नुभएको छ, मजदुर प्रशस्त रहेकाले काम धमाधम भइरहेको छ,” कम्पनीका सञ्चालक दिपक अदैले भने, “तोकेकै समयमा काम सक्छौं ।” राष्ट्रिय गौरवको आयोजना भए पनि ट्रयाक खुलेर हस्तान्तरण भएपछि मर्मत हुन सकेको थिएन । कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पामा रहेको र यहाँका स्थानीय तहले बेवास्ता गरेका कारण करिडोरको १० किलोमिटर खण्डमा कयौं ठाउँमा अवरोध छन् । बिहीबार वर्षापछि आएको बाढीले कालाखोला क्षेत्रमा क्षति पु¥याएपछि कठिनले सवारी चलिरहेका छन् । “मालढुंगाबाट काम सुरु भएको छ, बढीमा ७ किलोमिटरमा यो वर्ष काम हुन्छ,” गौतम भने ।
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर नेपालका दुई छिमेकी उत्तर चीन र दक्षिण भारत जोडने सबैभन्दा छोटो सडक मार्ग हो । सडक चीनको कोरला नाकादेखि सुनौलीसम्म तीन सय ४२ किलोमिटर लामो छ । उक्त सडक खण्डमध्ये ३६ किलोमिटर सडक बागलुङ जिल्लामा पदर्छ । कठिन भौगोलिक अवस्थाका कारण नेपाली सेनाको निर्माण कार्यदलले जिम्मा पाएको बागलुङ खण्डलाई दुई चरणमा निर्माण गरिएको थियो । नेपाली सेनाले बागलुङ खण्डमा पर्ने मालढुंगादेखि टाकुरीसम्मको १४ किलोमिटर पहिलो चरणमा र टाकुरीदेखि गुल्मीको सिमाना पालुङखोलासम्मको २२ किलोमिटर सडकको दोस्रो चरणमा ट्रयाक खोलेको थियो । == त्रिलोचन रिजाल

प्रतिक्रिया दिनुहोस्