कालिञ्चोकपछि हनुमन्ते पर्यटकको रोजाइमा
नयाँ वर्ष २०७८ को पहिलो दिन दोलखाको हनुमन्ते डाँडामा एकै दिन ५ हजार बढी आन्तरिक पर्यटक पुगे । धार्मिक तथा मनोरम दृश्यावलोकनको आकर्षक क्षेत्र हनुमन्ते नयाँ वर्ष मनाउने बच्चादेखि बूढाबूढीसम्मको रोजाइमा पर्न सफल भयो । आन्तरिक पर्यटकको आकर्षण क्षेत्र बन्दै आएको कालिञ्चोकपछि हनुमन्ते पर्न सफल भयो ।
नयाँ वर्षकै दिन हनुमन्तेलाई पर्यटकीय क्षेत्र घोषणासमेत गरियो । आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दै गएपछि दोलखाबाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेशका सांसादहरू पशुपति चौलागार्इं र विशाल खड्काले संयुक्त रूपमा हनुमानको मूर्तिसमेत अनावरण गरे ।
नयाँ वर्षकै अवसरमा स्थानीयले हनुमन्ते मेला आयोजक समिति नै बनाएर मेलासमेत आयोजना ग¥यो । मेलामा जिरी र वैतेश्वर गाउँपालिकाको सिमाना खावा बजारदेखि झाँकीसहितको नाच हनुमन्तेसम्म पुग्यो । मेलामा स्थानीय ठूलो संख्यामा झाँकीहरू र शेर्पाको सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
दोलखाको गौरीशंकर र वैतेश्वर गाउँपालिकाका साथै जिरी नगरपालिकाको सिमानामा पर्ने हनुमन्ते डाँडाको उचाइ ३ हजार १ सय मिटर छ । यहाँबाट रोल्वालिङ हिमश्रृंखलाका साथै दोलखा, रामेछाप, ओखलढुंगाको अधिकांश भूभागको दृश्यावलोकन गर्न सकिन्छ ।
हनुमन्ते डाँडामा प्राकृतिक हनुमानको मूर्ति रहेको बुढापाकाहरूको भनाइ छ । प्राकृतिक मूर्ति २ दशकअघि टाउको काटेर चोरी भएपछि नयाँ मूर्ति अनावरण गरिएको हो । सांसद पशुपति चौलागार्इंले हनुमन्तेलाई रामायण सर्किटसँग जोडेर थप विकास गर्नका लागि आफूले पहल गरिरहेको बताए । रामायण सर्किटसँग जोड्नसके भारतीय पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ ।
सांसद विशाल खड्काले यसको एकीकृत विकास गरेर समग्र पर्यटन विकास गरेर आर्थिक विकास गर्न सकिने बताए । उनले एकीकृत हनुमन्ते क्षेत्रको डीपीआर बनिसकेकाले अब डीपीआर अनुसार विकास गर्न सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताए । डीपीआरअनुसार केबलकारबाहेक १५ करोड लागत अनुमान गरेको छ ।
रामायण कथामा लंकाका राजा रावणको छोरा इन्द्रजितसँगको युद्धमा लक्ष्मण मुर्छा पर्दा हनुमानले पहाड उठाएर सजिवनी बुटी लगेर उपचार गरेको उल्लेख छ । कथामा उल्लेख गरेको पहाड यही हनुमन्ते पहाड भए तापनि प्रचार प्रसारको अभावमा ओझेल परेको स्थानीय बुढापाकाको भनाइ छ ।
हनुमन्ते आउने पर्यटकलाई लक्षित खावा बजारदेखि हनुमन्तेको वेस क्याम्प मानिने मेहेलेसम्म सडक मार्ग निर्माण गरिएको छ । मेहेलेदेखि हनुमन्ते डाँडासम्म पदमार्ग सिँढी निर्माण गरिनुका साथै विभिन्न क्षेत्रमा पर्यटकीय संरचना निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चरिकोटका प्रमुख शिवप्रसाद सापकोटाले उपभोक्ता समितिमार्फत एकीकृत हुनमन्ते विकास योजनाका लागि चालू आर्थिक वर्षमा १५ लाख खर्च भएको बताए । पदमार्ग र हुनमानको मूर्तिका लागि चालू वर्ष खर्च भएको बताए ।
हनुमन्तेमा जान चहाने पर्यटक सहजै उक्त क्षेत्रमा पुग्न सकिन्छ । चरिकोट–जिरी सडक खण्डअन्तर्गत खावा बजारबाट वेस क्याम्प मेहेलेसम्म यातायातका साधनमार्फत र मेहेलेबाट आधा घण्टा पैदल यात्रापछि हनुमन्तेमा पुग्न सकिन्छ । पर्यटकको आवागमन बढेसँगै पर्यटकको सेवाका लागि स्थानीयले पनि लगानी बढाउन थालेका छन् ।