Logo

नेपालमा बदलिँदो सुरक्षाका स्वरूपहरू

सुरक्षा मानवलगायत सम्पूर्ण सजीवहरूको जीवन रक्षासँग सम्बन्धित विषय हो । कुनै अमानवीय अथवा कुनै अप्रिय घटनाबाट हुने नकारात्मक परिणामबाट बच्नु सुरक्षा हो । कुनै घटना घट्नुअगाडिको र घटना घटिसकेपछि त्यसबाट पर्ने नकारात्मक प्रभावबाट बचेर निर्धक्कसाथ जीवन जिउनबाट वञ्चित नहुनु सुरक्षा हो । आफ्नो शरीरको सुरक्षा, बासस्थानको सुरक्षा, आहारको सुरक्षा र अन्य आवश्यकताहरूको सुरक्षा विशेष गरी मानव जीवनका लागि आवश्यक पर्ने सुरक्षाहरू हुन् । एउटा व्यक्तिको व्यक्तिगत सुरक्षा हँुदै सामाजिक सुरक्षा र देशकै सुरक्षा बन्छ । व्यक्तिगत अथवा प्राणीगत जीवन यिनै विभिन्न सुरक्षा सतर्कता अपनाउनमा व्यतीत रहेको हुन्छ । मानिस सामाजिक प्राणी हो । आफ्ना अधिकारहरूको प्रयोग तथा जीवन निर्धक्कका साथ जिउनका लागि सुरक्षाको जरुरत पर्छ । आफ्ना नागरिकको, आफ्नो देशको सुरक्षा सुरक्षा गर्नु व्यक्ति स्वयंदेखि राज्यको दायित्वभित्र पर्छ । यिनै सुरक्षा प्रदानका लागि सैन्य शक्तिलगायत अन्य सुरक्षा संयन्त्रका लागि देशले ठूलो लगानी गरेको छ । समय परिवर्तनसँगै सुरक्षा चुनौती पनि थपिँदै गएको छ । देशमा आर्थिक, सामाजिक, शैक्षिक विकास भएसँगै सुरक्षा प्रत्याभूति पनि बढ्नुपर्ने तर झन् अपराधका घटना, महामारी, दैवी प्रकोप आदि बढ्दै जानुले सुरक्षा जोखिम बढेको छ ।
नेपाल क्षेत्रफलका हिसाबमा विश्वमा सानो र भूपरिवेष्टित राष्ट्रको सूचीमा पर्छ । विश्वव्यापीकरण, निजीकरण र आर्थिक उदारीकरणको नीति अवलम्बन गरेपश्चात् देशको विकासको गति बढेको छ, साथसाथै सुरक्षाको चुनौती पनि बढेको छ । नेपाल मात्र नभएर विश्वमा नै सुरक्षा जोखिम बढ्दै गएको छ । लगभग सबै देशहरूमा सुरक्षा जोखिम उत्तिकै रहेको छ, मात्र फरक भनेको कुन किसिमको जोखिम भन्ने मात्र हो । विकसित राष्ट्रहरूले सुरक्षा जोखिमसम्बन्धी दरिलो पूर्वसतर्कता अपनाएका हुन्छन् र जोखिमको असर कम पर्छ भने कम विकसित र विकासोन्मुख राष्ट्रहरूमा सुरक्षा जोखिमसम्बन्धी पूर्वसतर्कता अपनाउन नसक्दा त्यसबाट निस्किने नकारात्मक परिणामको असर धेरै हुन्छ ।
नेपालमा जोखिमका स्वरूपहरू परिवर्तन भए सँगसँगै सुरक्षाका स्वरूपहरू पनि परिवर्तन नभएका भने होइनन् । तर, सुरक्षा संयन्त्रलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता देखिन्छ । साइबर अपराध नेपालका लागि नयाँ किसिमको जोखिम हो । साइबर अपराधमा, जोखिम आउनुभन्दा अगाडिको सजगताभन्दा पनि घटना घटिसकेपछि मात्र यस्तो जोखिम हुने रहेछ, यस्तो प्रकारको सुरक्षा उपाय अपनाऊँ भन्ने अवस्था रहेको छ । परेर जानिएको छ, किनकि नेपालमा प्रविधिको प्रयोग बढ्दै गएको केही वर्षअगाडिदेखि मात्र हो र यस क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्तिको पनि अभाव नै रहेको छ । साइबर अपराधको जोखिम एउटा उदाहरण मात्र हो । अन्य यस्ता थुप्रै सुरक्षा जोखिमहरू छन्, जुन घटना घटिसकेपछि यस्तो जोखिम पनि हुँदा रहेछन्, यसको न्यूनीकरणका लागि यस्ता किसिमका सुरक्षा उपाय अपनाउनुपर्ने रहेछ भन्ने कुरा घटना घटिसकेपछि मात्र थाहा हुन्छ ।
देशमा शान्ति तथा अमनचयन कायम गर्नु, नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिनु, देशभर कानुनी राज्य कायम गर्नु, मानव अधिकारको संरक्षण गर्नु प्रत्येक राज्यको उद्देश्य हुन्छ । विभिन्न किसिमका प्राकृतिक विपत्ति, महामारीसँगसँगै नेपालमा तुलनात्मक रूपमा अपराधका घटनाहरू प्रत्येक वर्ष बढ्दै गएका छन्, जसका कारण सुरक्षा निकायलाई देशमा शान्ति सुरक्षा कायम गर्न निकै चुनौती परेको छ ।
नेपालको परिपे्रक्ष्यमा विभिन्न जोखिमहरू र तिनीहरूबाट बच्नका लागि प्रयोग गरिएका सुरक्षाका उपायहरू र थप अपनाउन सकिने अन्य सुरक्षाका स्वरूपहरूसम्बन्धी चर्चा गरौं ।
नेपालमा धरातलीय विविधताका कारण प्राकृतिक प्रकोपको जोखिम सबभन्दा पुरानो र चुनौतीपूर्ण जोखिम हो, जुन हरेक पुस्ताले भोग्दै आइरहेका छन् । समयक्रमसँगसँगै जोखिमको मात्रा भने बढ्दै गइरहेको छ र त्यसैअनुरूप सुरक्षा सतर्कता पनि अपनाउँदै गइएको छ, तर सोचेअनुरूप प्रतिफल पाउन सकिएको छैन । २०७१ सालको महाभूकम्पले देशलाई तहसनहस बनाइदियो, जसको असर आजसम्म पनि कायम नै छ । सोही वर्ष तराई भेगमा डुबानका कारण मानवीय क्षतिलगायत थुप्रै कृषियोग्य जमिन पुरिए, किसानको मेहनत माटोमा परिणत भयो । हालसालै मात्र लमजुङको पाथीभरा क्षेत्रमा भएको आगलागी नियन्त्रणमा ल्याउन हप्ता दिनसम्म सबै सुरक्षा निकायलगायत सर्वसाधारणको संयुक्त प्रयासबाट पनि हम्मेहम्मे प¥यो, जसले सयौँ हेक्टर जंगल सखाप पा¥यो, हजारौँको संख्यामा वन्यजन्तुहरूलगायत उनीहरूको बासस्थान मासियो । चट्याङ, हावाहुरीलगायतका प्राकृतिक प्रकोपले बर्सेनि धनजनको क्षति गरिरहेको हुन्छ ।
—इन्दिरा घिमिरे

प्रतिक्रिया दिनुहोस्