लघुवित्त संस्थाहरूमा महिलाको बढ्दो सहभागिता
विकास एक निरन्तर प्रक्रिया हो, जसको प्रमुख उद्देश्य मानवीय सुखशान्तिको अभिवृद्धि गर्नु हो । वस्तुतः मानव भन्नाले महिला र पुरुष दुवैको प्रसङ्ग आउने हुनाले समानताअन्तर्गत लैङ्गिक समानता पनि पर्छ, जुन बिना घरपरिवारमा कलह, द्वेष, ईष्र्या र आशन्तिबाहेक केही पनि हुँदैन र कुनै पनि देश विकासको गोरेटोमा अग्रसर हुन सक्दैन ।
वास्तवमा कुनै पनि देशको सर्वतोमुखी विकासका लागि महिला र पुरुष दुवैको समान सहभागिताको आवश्यकता पर्छ, किनभने दुवै विकासरूपी रथका दुई पाङ्ग्रा हुन । यिनीहरूमध्ये कुनै एक पछाडि परेमा त्यसको प्रभाव अर्को पक्षको जीवनमा पनि पर्छ ।
आजसम्म पनि नेपालका अधिकांश महिलाहरू भोक, रोग, शोक र विभिन्न किसिमका शोषणबाट पीडित छन् । यहाँको धेरैजसो काममा पुरुषको पहुँच ८९ प्रतिशत छ भने महिलाहरूको ११ प्रतिशत मात्र छ ।
यहाँ झन्डै ९४ प्रतिशत घरको स्वमित्व पुरुषको छ भने ६ प्रतिशत मात्र महिलाको छ । राजनीतिमा पुरुषको सहभागिता ९० देखि ९५ प्रतिशतसम्म छ भने महिलाहरूको ५ देखि १० प्रतिशतसम्म छ । यहाँका नीतिनियम निर्माण एवम् संवेदनशील क्षेत्रमा महिलाहरूको सहभागिता न्यून छ ।
जतिसुकै विकासको कुरा गरिए पनि यहाँको ग्रामीण विकासमा महिलाहरूको सहभगिता सोचेअनुरूप हुन सकेको छैन । अरू त के कुरा ग्रामीण विकासमा महिलाहरूको सहभागिता बढाउन गठन गरिएका समिति तथा उपसमितिमा समेत उनीहरूलाई प्रोत्साहन दिएको पाइँदैन । तर, लघुवित्त संस्थाहरूमा महिलाहरूको सहभागिता बढ्दो क्रममा छ ।
नेपालमा लघुवित्तको सुरुवात सन् १९९० मा भएको हो । यहाँ उदार अर्थनीति लागू भएपछि उक्त नीतिको फाइदा उठाउँदै निजी क्षेत्रको लगानीमा ‘घ’ श्रेणीका लघुवित्तहरू स्थापना गर्न थालियो ।
हाल यहाँ झन्डै ९० लघुवित्त संस्थाहरू छन् । यिनीहरूमध्ये केही मर्जरमा गइरहेका छन् भने केही थपिँदै पनि छन् ।
कुनै पनि लघुवित्तमा सबैभन्दा पहिले सदस्यहरू बनाइन्छ । त्यसपछि उनीहरूलाई उक्त संस्थाको नीति, ब्याजदर, किस्ता, समूह र बचतजस्ता विषयमा तालिम दिइन्छ । सामान्यतः पाँच जना सदस्यको एक समूह र पाँचवटा समूहको एक सेन्टर बनाउने प्रचलन छ ।
नेपाल राष्ट्र बैंकले १५ लाखसम्म धितोमा र समूहमा प्रतिसदस्य ३ लाखसम्म कर्जा दिने सुविधा दिएको छ । परन्तु झन्डै ८० प्रतिशतभन्दा बढी ऋण बिनाधितो समूह जमानीमा दिइन्छ । यसको मुख्य कारण सबैले थाहा पाउँदा सामाजिक दबाब सिर्जना भई ढिलो या चाँडो कर्जा असुली हुन्छ भन्ने मान्यता छ ।
वाणिज्य तथा विकास बैंकहरूले विपन्नहरूमाथि विश्वास गर्दैनन् भनिन्छ । त्यसैले यी बैंकहरूको करिब ८० प्रतिशत कारोबार सम्पन्न परिवारहरूमा सीमित छ । तर, लघुवित्तहरूको ग्राहक सबै निर्धन छन् ।
गरिबको भरोसा बन्दै गएको लघुवित्तहरूको पहुँच ६० प्रतिशतमा पुगेको अनुमान छ । यिनीहरूले खास गरी बचत, कर्जा, बिमा, विपे्रषणका अतिरिक्त गैरवित्तीय सेवाहरू, तालिम, सरसल्लाह र विभिन्न व्यवसाय सुरु गर्ने वातावरण बनाइदिने काम गरेका छन् । त्यसैले यिनीहरूको व्यापकता, निरन्तरता र दिगोपनमा ध्यान दिन आवश्यक छ ।
आथिक दृष्टिकोणबाट नेपालमा पुरुषहरूभन्दा महिलाहरू निकै कमजोर छन् । उनीहरूको आयआर्जन पुरुषहरूको भन्दा कम छ भने बचत पनि निकै नै न्यून छ ।
यहाँका सहरी क्षेत्रका भन्दा पनि ग्रामीण क्षेत्रका महिलाहरूको आयआर्जन धेरै कम छ । विगतमा सरकारले ग्रामीण महिलाहरूको उत्थानका लागि केही प्रयास गरे पनि प्रभावकारी हुन सकेनन् । वास्तवमा सरकारले महिला विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरूभन्दा लघुवित्त कार्यक्रमहरू तुलानात्मक रूपमा बढी प्रभावकारी भइरहेका छन् ।
लघुवित्तहरूमा समावेश भएपछि ग्रामीण महिलाहरू आफ्ना विचार जनसमक्ष निर्धक्कसँग राख्न सक्ने भएका छन् । सम्बन्धित लघुवित्तहरूमा उनीहरूको केही रकम बचत गरिएको छ, जुन सबै जोड्दा झन्डै कुल रु ६९ अर्ब ५९ करोड छ ।
आजकाल ग्रामीण महिलाहरू आफ्ना गर्जो टार्न लघुवित्तहरूका भर पर्न थालेका छन् । उनीहरू आत्मनिर्भर भएकाले आ–आफ्ना परिवारमा उनीहरूको सम्मान एवं हैसियत बढेको छ ।
लघुवित्तहरूको लक्ष्य नै कम आय भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन कर्जा उपलब्ध गराउनु, बचत गर्न सिकाउनु र जोखिम न्यून गर्नु हो । यो लक्ष्य परिपूर्ति गर्न लघुवित्तहरूले मान्यता प्राप्त गरेका छन् ।
हाल ग्रामीण महिलाहरूको गरिबी निवारणका लागि लघुवित्तहरूले महŒवपूर्ण भूमिका खेलिरहेका छन् । हालसम्म यस सम्बन्धमा कुनै मूल्याङ्कन नगरिए पनि केही उपलब्धि भएको अनुमान छ ।
विगतका शताब्दी महिलाहरूको तुलनामा पुरुषहरूका लागि केही सुखद थियो । तर, आज परिस्थिति बदलिएको छ । त्यसैले पुरुषहरूलाई जस्तै महिलाहरूलाई संरक्षण दिन वित्तीय संस्थाहरूसम्बन्धी साक्षरता, सुरक्षा, बचत र ऋणका लागि लघुवित्तहरूले केही योगदान पु¥याएका छन् ।
लघुवित्तहरूले खास गरी ग्रामीण महिलाहरूलाई बचत, कर्जा, बिमा र विपे्रषणका अतिरिक्त गैरवित्तीय सेवाहरूलगायत तालिम, सरसल्लाह र विभिन्न व्यवसाय सुरु गर्न सहज वातावरण बानाइदिने काम गरेका छन् । यति मात्र होइन, यिनीहरूले महिला सशक्तीकरणका लागि केही काम गर्दै आएका छन् ।
नेपालका लघुवित्तहरूले लिने आधार ब्याजदर महँगो छ । वस्तवमा १३÷१४ प्रतिशत ब्याजदरमा कर्जा लिई लगानी गर्दा महँगो भएको हो । त्यसैले उक्त ब्याजदर घटाउन सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
जटिल भौगोलिक अवस्था र विपन्नताको सामना गर्दै नेपालमा सञ्चालित लघुवित्तहरू सामाजिक तथा वित्तीय अवधारणाबाट प्रेरित छन् । विशेषतः दुर्गम क्षेत्रका ग्रामीण महिलाहरूको जीवनस्तर उकास्न यिनीहरूले खेलेको भूमिका सराहनीय छ ।