हङकङका प्रवासीहरूद्वारा दुईजना बिरामीलाई आर्थिक सहयोग «

हङकङका प्रवासीहरूद्वारा दुईजना बिरामीलाई आर्थिक सहयोग

हङकङमा बस्दै आएका प्रवासीहरूले लमजुङका दुईजना उपचाररत बिरामीहरूलाई आर्थिक सहयोग गरेका छन् । लमजुङमा जन्मिएर कामको शिलशिलामा हाल हङकङ बस्दै आएका प्रवासीहरूले आफ्नै जिल्लाका दुईजनालाई आर्थिक सहयोग गरेका हुन् ।

लमजुङ सेवा समिति हङकङमार्फत संकलन भएको पाँचलाख ५९ हजार ९ सय रुपैयाँ जनही २ लाख ७९ हजार ९ सय ५० रुपैयाँको दरले बराबरी दुईजना विरामीहरूलाई सहयोग गरेका हुन । प्रवासीहरूले बेसीशहर–४, का रक्तक्यान्सर पिडित १४ वर्षिय निश्चल गुरुङ र दुधपोखरी गाउँपालिका–६, गौँडाका ३५ वर्षीय प्रित्तम गुरुङलाई सो सहयोग गरेका हुन् । प्रित्तम गाँउमै भिरबाट लडेर गम्भीर घाइते भएर उपचाररत बिरामी हुन् ।

प्रवासमा रहेर पनि आफ्नो जिल्लाबासीहरूको दुःख सुखमा सहभागी हुन र सानो सहयोगले बिरामीको उपचारमा ठूलो राहात पुगोस भन्ने उद्देश्यसहित लमजुङ सेवा समिति हङकङले सम्पर्क समिति लमजुङ मार्फत रकम पठाएको हो । मंगलबार सदरमुकाम बेसीशहरमा एक कार्यक्रमको आयोजना गरी पिडितहरूलाई सो रकम हस्तान्तरण गरिएको थियो ।

लमजुङ सेवा समिति हंङकङ, सम्पर्क समिति लमजुङको अध्यक्ष मीना गुरुङको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा समितिका संरक्षक एवं संविधानसभा सदस्य जमिन्द्रमान घले, समितिका सल्लाहकार रामकुमार गुरुङ, कोषाध्यक्ष मनमाया गुरुङले संयुक्त रूपमा रकम हस्तान्तरण गरेका हुन् । पिडितका तर्फबाट रक्तक्यान्सर पिडित निश्चल गुरुङ आफ्नो आमा सहित आफैले रकम बुझेका हुन् भने उपचारको क्रममा रहेका प्रित्तमको भान्जा बुद्धिबहादुर गुरुङले सो रकम बुझिलिएका थिए ।

बेसीशहरस्थित अर्थली प्याराडाईज विद्यालयमा कक्षा ७ मा अध्यन गर्ने निश्चल दुईवर्ष अघि घाँटीमा समस्या भएपछि उपचारको निम्ती काठमाण्डौ लगिएको र थप परिक्षणको क्रममा व्लड क्यान्सर भएको पुष्टि भएको हो । सुरुमा इशान अस्पतालमा परिक्षण गरिएका गुरुङलाई पछि ग्रान्डी अस्पतालमा लगिएको र हाल कान्ति वाल अस्पतालमा उपचार भइरहेको आमा चिजामाया गुरुङले बताइन् ।

बालकको उपचारका निम्ति २५ लाखभन्दा खर्च भइसकेको भन्दै अब थप उपचारको निम्ति आफूसँग धनसम्पती नभएपछि सहयोगको अपिल गर्दै आएको पिडित परिवारले बताएको छ । बालक अहिले चरणवद्ध उपचारमा रहेको र लामो समय उपचार गराउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।

यसैगरी दूधपोखरीका प्रित्तम पनि दुई महिना अघि गाउँकै भिरबाट लडेर गम्भीर घाईते भएका थिए । शरिरमा घाँटी भन्दा तलको भाग चल्न तथा चलाउन समेत नसक्ने गुरुङको हाल चितवनस्थित अस्पतालमा उपचार भईरहेको छ । पारिवारिक अवस्था कमजोर भएकै कारण उपचारको निम्ति प्रित्तमको परिवारले पनि आर्थिक सहयोगको याचना गर्दै आएको छ ।

लमजुङ सेवा समिति हङकङ मार्फत एकसय सात जनाले रकम संकलन गरी दुईजना विरामीहरूलाई सहयोग गरेका हुन् । समितिले यसअघि पनि जिल्लाका विभिन्न रोगले समस्या भएर उपचारको निम्ती आर्थिक अभावमा रहेका पीडितहरूलाई सहयोग गर्दै आएको छ । सो बाहेक समितिले जिल्लाको स्वास्थ्य, शिक्षा, विपद र खेलकुदका क्षेत्रमा पनि आर्थिक सहयोग गर्दै आएको छ ।

रोजगारीको सिलसिलामा हङकङ वस्दै आएका लमजुङ्गेहरूले सामाजिक सेवा गर्ने उद्देश्यले ४४ लाखको अक्षयकोष समेत स्थापना गरेका छन् । सोही अक्षयकोषबाट प्राप्त व्याजमार्फत् समितिले शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् लगायतका क्षेत्रमा सहयोग गर्दै आएको समतिका संरक्षक जमिन्द्रमान घलेले बताए ।

प्रवासीहरूले जिल्लाबासीको समस्यामा सहयोग गर्न बार्षिक विबिध साँगितिक कार्यक्रमहरू गर्दै आएका छन् । सो बाहेक व्यक्ति विशेषको सहयोगमा पनि जिल्लाका पीडितहरूलाई सहयोग जुटाउँदै आएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्