Logo

सांसदबाट हटाए अदालत जाने रामकुमारी झाँक्री

नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने बताइन् ।

पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरू मंगलबार काठमाडौंको बानेश्वरमा आकस्मिक रूपमा भेला भई छलफल गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधाकि तरिकाले बसेको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएको र सोही अनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानुनी लगाइँ लड्ने बताइन् । पार्टीबाट सांसद पद हट्ने गरी कारबाही गरिए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै नेतृ झाँक्रीले अदालतमा जाने बताइन् । प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै आफूहरूमाथि कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने बताइन्  । उनले भनिन्, ‘हामी संसदीय दलभित्र लडछौं, अदालतसम्म पुग्छौं किनभने प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा पनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेजी गराएको हो नि त ।’

नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानून र संविधान अनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यक्तिगत तवरबाट जवाफ पठाउने बताइन् । उनले भने, ‘कुनै यो स्पष्टीकरण दिन लायक स्पष्टीकरण होइन । तर, हामी स्पष्टीकरण दिएनौं भने हामीले आफ्नो प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण कानुनतः, संविधानतः हामीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ ।’

नेतृ झाँक्रीले आफूहरूले २०७५ जेठ ३ गते अगाडिको नेकपा एमालेलाई चिन्ने तर गत फागुन २८ गते थपिएका जम्बोरी मान्छे सहितको नेकपा एमाले नचिन्ने पनि बताइन् । उनले भनिन्, ‘हामी फागुन २८ गते थपेका जम्बोरी मान्छे सहितको बैठकै चिन्दैनौं नि । त्यो नेकपा एमाले चिन्दैनौं । हामीले २०७५ जेठ २ गते अगाडि, ३ गतेको एकता पूर्वको एमाले, त्यसका पदाधिकारी, त्यसका कमिटी, देशभरीको संरचना, जनसङ्गठन त्यसलाई चिन्छौं र त्यसको बैठक बस्यो भने हामी जान्छौं । त्योभन्दा यताको हामीलाई अमान्य हुन्छ ।’

नेतृ झाँक्रीले नयाँ दल गठन गर्ने आफूहरूको कुनै मनसाय नरहेको पनि स्पष्ट पारिन् । दल गठन गरेको भन्ने हो भने दलको संरचना हुनुपर्ने, दलको नाम हुनुपर्ने र दर्ता भएको हुनुपर्ने कुरालाई पार्टी अध्यक्ष ओलीले ख्याल गरेको हुनुपर्ने पनि बताइन् । अध्यक्ष ओलीको इच्छा पार्टीबाट छोडेर जाउन भन्ने रहेको तर आफूहरू एमाले भित्रै लडेर आफ्नो अधिकार स्थापित गर्ने पनि बताए । उनले भने, ‘दल गठन भएको हुनका लागि प्रधानमन्त्रीले कानून विधिलाई नै फलो गर्नुपर्छ होला । त्यसकारण दल गठन हुनका लागि दलको संरचना हुन पर्यो, नाम हुनपर्यो, दर्ता हुनपर्यो, त्यसको प्रक्रिया विधि सबै हुनुपर्छ । हामी त्यस्तो गर्ने मनसायमा पनि छैनौं । यो नेकपा एमालेमा अरू कसैको भन्दा हाम्रो कम योगदान छैन बन्नको लागि । आज जनताको, नागरिकको, मतदाताको, पार्टीका सदस्यहरूको रगत पसिनाद्धारा निर्मित भएको पार्टी हामी खुरुखुरु कसैलाई छोडेर जान्छौं । त्यसकारण उहाँहरूको इक्षा त हामी छेडेर जाऔं भन्ने नै छ । तर हामी छोडेर जान्नौं । यहीँ लड्छौं । त्यसकारण हामीले अर्को पार्टी बनाउने भन्ने कुरै आउँदैन । यही पार्टीमा लडेर हाम्रो अधिकार स्थापित गर्ने हो ।’

पार्टी अध्यक्ष ओलीमा आफूहरूलाई कारबाही गर्ने अधि कार नरहेको पनि नेतृ झाँक्रीले बताइन् । अध्यक्ष ओलीले गठन गरेको नेकपा एमालेको कमिटी नै विधिसम्मत नभएको पनि बताइन् । आफूहरू सहितको केन्द्रीय कमिटीले गरेका निर्णयहरू मान्य हुने तर अवैधानिक तवरले ल्याइएका मान्छेहरू सहितको केन्द्रीय कमिटीले गरेको निर्णय पनि अवैधानिक नै हुने बताए । अहिले नेकपा एमालेमा राजनीतिक र कानुनी लडाइँ भइरहेको पनि बताइन् । उनले भने, ‘उहाँलाई चाहिँ यो हामीलाई कारबाही गर्न स्पष्टीकरण सोध्ने अधिकार पनि छैन । उहाँको कमिटी नै विधिसम्मत छैन एमालेको केन्द्रीय कमिटी । त्यो केन्द्रीय कमिटी हामी सहितको हुनुपथ्र्यो । अवैधानिक मान्छे अवैधानिक ढङ्गले विधान संशोधन गरेर एकलौटी अधिकार आफुमा अन्तरनिहित गराएर पार्टी अध्यक्षले जे गर्नुभएको छ त्यो नै अवैधानिक हो । त्यो अवैधानिक कुराका लागि हामी राजनीतिक प्रतिवाद गर्छौं तर हामी अरु संसदीय दल भित्रको कानुनी लडाइँ पनि सँगसँगै लड्छौं । नेकपा एमाले भित्रको राजनीतिक लडाई हो राजनीतिक हिसाबले प्रतिवाद गर्छौं, नेकपा एमालेको संसदीय दलभित्र चाहिँ राजनीतिक पनि हो र कानूनी पनि हो यो दुईवटा लडाइँ छ र यतापट्टी हामी कानुनी र विधिको लडाइँ लड्छौं ।’

प्रतिक्रिया दिनुहोस्