Logo

बाँकेमा भोलिदेखि एक साता लकडाउन

Google map view

कोरोना संक्रमणको दोस्रो लहर भयावह रूपमा फैलिन थालेपछि बाँकेमा विहिबार देखि बन्दाबन्दी (लकडाउन ) हुने भएको  छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न केन्द्रमा सिफारिस गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लामा संक्रमितहरूको संख्या दैनिक रूपमा ह्वातै बढेपछि एक साता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरिएको हो ।

जिल्लाभरि नै लकडाउन गर्ने कि नेपालगन्ज उपमहानगरपालिकाभित्र अथवा जहाँ बढी जोखिमयुक्त स्थान छ त्यही मात्र गर्ने भन्ने विषयमा आवश्यक छलफलबाट समन्वय गरी टुंगो लगाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

संक्रमणलाई नियन्त्रणमा लिन २ सयभन्दा बढी संक्रमित भएको स्थानमा  स्थानीय प्रशासनले लकडाउन गर्न सक्ने प्रावधान रहेको छ । पछिल्लो समय बाँकेमा दैनिक सय बढी संक्रमित फेला पर्ने गरेका छन । दैनिकरुपमा  संक्रमितहरूको मृत्यु समेत हुनेक्रम नरोकिँदा स्थानीयका साथै सरोकारवालाहरू त्रसित बनेका छन् । जिल्लास्थित स्वास्थ्यकर्मीहरूले संक्रमण नियन्त्रणमा लिन प्रशासनले कडा कदम चाल्नुपर्ने बताउँदै आएका थिए ।

यसैबीच भेरी अस्पताल नेपालगन्जमा मंगलबार करिब ९३ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको कोरोना प्रयोगशालामा मंगलबार १ सय ९३ जनाको परीक्षण गर्दा १ सय ७९ जना अर्थात ९२ दसमलव ७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार सोमबार ३ सय ७५ जनाको परीक्षण गर्दा २ सय १९ अर्थात ५८.४ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । भेरीमा गरिएको परीक्षणमा पछिल्लो ४८ घण्टामा ७० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको कोरोना प्रयोगशालामा कुल ५ सय ६८ जनाको परीक्षण गर्दा ३ सय ९८ जनामा भाइरस पोजेटिभ पाइएको हो ।

प्रतिक्रिया दिनुहोस्