Logo

सेतो मच्छेन्द्रनाथको रथयात्रा

कोभिड–१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबारबाट सुरु हुँदैछ ।

रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित तीनधारा पाठाशाला अघि लगिने तयारी गरिएको छ । रथयात्रा भने मंगलबार बेलुकी ६ बजेबाट सुरु हुनेछ । रथयात्राको पहिलो दिन सेतो मच्छेन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगि राखिनेछ । असनमा पुरयाइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ । मच्छेन्द्रनाथको रथलाई दरबारमार्गबाट असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा पुर्याएपछि अन्त्य गरिन्छ ।

सेतो मच्छेन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्या रथयात्रा निकालेपछि वर्ष हुने धार्मिक विश्वास पनि रहेको छ ।

कोरोना संक्रमण फैलिन नदिन सुरक्षाको सावधानी अपनाउनका लागि जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउने, रथ भन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूहलाई हिँडाउने र एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाईएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्