सुझाव संकलन औपचारिकतामात्रै’ «

सुझाव संकलन औपचारिकतामात्रै’

वीरगन्ज-प्रदेश २ सरकारले प्रदेशको राजधानी र नामाकरणका विषयमा सुझाव संकलन गर्न गठन गरेको संवाद तथा सुझाव आयोगको काम औपचारिकतामा मात्रै सीमित भएको छ । सरकार गठन भएको ९ महिनापछि स्थायी राजधानी र प्रदेश नामाकरण गर्न गठन गरेको सुझाव आयोगले बिहीबार वीरगन्जमा आयोजना गरेको कार्यक्रममा सबै क्षेत्रका सरोकारवालाहरुलाई नसमेटिएको भन्दै आलोचना भएको छ ।
प्रदेश २ सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा संयोजकत्वमा रामप्रवेश बैठा र मोहनलाल चौधरी सदस्य रहने गरी ३ सदस्यीय आयोग गठन गरेको थियो । आयोगको टोलीले राजधानी र नामको टुंगो लगाउन प्रदेश २ भित्रका विभिन्न स्थानमा गएर राजनीतिक दल, नागरिक समाज, संघसंस्था तथा आमजनतासँग सल्लाह र सुझाव संकलन गर्ने भनिए पनि वीरगन्जमा गरिएको कार्यक्रममा भने थोरैलाई मात्रै जानकारी गराएर औपचारिकता मात्रै पूरा गर्न खोजेको आरोप लागेको छ ।
सबै तह, वर्ग र क्षेत्रबाट सुझाव संकलन गरि उनीहरुबाट प्राप्त भएका सुझाव सहितको प्रतिवेदन आयोगले ४५ दिनभित्र पेश गर्नुे पर्नेछ । प्रदेश सरकार गठन भएको ९ महिना बितिसक्दा समेत राजधानी, नामाकरण र भाषाबारे सदनमा छलफलका लागि प्रतिपक्षी दलहरुसँगै सत्तापक्षका सांसदहरु समेत सरकारको आलोचना गर्न थालेपछि सरकारले उक्त आयोग गठन गरेको थियो । प्रदेशको राजधानी र नामको लागि बोलाइएको कार्यक्रममा सीमित व्यक्तिहरुको मात्रै उपस्थिति रहेको थियो । जिल्लाका राजनीतिक दलहरुलाई पनि ढिलो जानकारी गराएको बताएका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति अजय द्विवेदीले पत्र प्राप्त भएको भएपछि आयोगले सुझाव मात्रै संकलन गर्ने भएकोले सकभर जनताको भावना, स्थानीय भाषा तथा भूगोललाई केन्द्रमा राखेर नै राजधानी र नाम हुनुपर्ने बताउँदै सुझाव भन्दा पनि सरकारले गर्ने काम प्रभावकारी हुने बताए । त्यस्तै, नेकपा पर्सा कार्यदल सदस्य छोटेलाल प्रसाद यादवले सुझाव आयोगको कार्यक्रम औपचारिकतामात्रै भएको बताए । राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएर अपमान गरेको उनले गुनासो गरे । उनले भने, “कार्यक्रम सुझावको लागि सुझावमात्रै थियो । समाधानको लागि सुझाव थिएन । प्रभावकारी र जिम्मेवारी देखिएन औपचारिकतामा मात्रै सीमित देखियो ।”
कार्यक्रममा सहभागी वीरगन्ज राजधानी संघर्ष समितिका सदस्य एवं नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले पनि सुझाव संकलनमा एकदलीय प्रतिनिधित्व धेरै रहेको बताए । सुझाव संकलन कार्यक्रम ठिकै भएपनि जुन हिसाबले उपस्थिति हुनुपर्ने हो त्यो खालको उपस्थिति नदेखिएकोले प्रभावकारी होला भन्नेमा उनले आशंका व्यक्त गरे । उनले सुझाव संकलन कार्यक्रम सर्वपक्षीय हुनुपर्नेमा एकदलीय (फोरममय) जस्तो देखिएको प्रतिक्रिया दिए । कार्यक्रमको बारेमा प्रदेश २ को सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल पर्साका वरिष्ठ उपाध्यक्ष सुन्दर प्रसाद कुर्मीले सामाजिक सञ्जाल फेसबुकमै गैरसरकारी संस्थाको जस्तो कार्यक्रम भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्