Logo

मुक्तिनाथ विकास बैंक अर्बपति क्लबमा

मुक्तिनाथ विकास बैंक अर्बपति क्लबमा प्रवेश गरेको छ । बैकले आर्थिक वर्ष २०७७/०७८ तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्दै नेपालको बैंकिङ इतिहासमा विकास बैंकहरु मध्ये खुद नाफामा अर्बपति क्लबमा पुग्न सफल पहिलो विकास बैंक बनेको जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्मा बैंकले ६७ करोड ६० लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अहिले चालु आर्थिक वर्षका चैत मसान्तसम्ममा एक अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत सालको तुलनामा ४७.७५ प्रतिशतले बढी हो ।

खुद नाफा उकालो लागेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि उकालो लागेको छ । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १४ पैसा बढेर २७ रुपैयाँ ८७ पैसा पुगेको छ । त्यसैगरी बैंकको वितरणयोग्य मुनाफा ८२ करोड ८७ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षका तुलनामा चुक्ता पुँजी ११.२५ प्रतिशतले बढेको छ । त्यस्तैगरी जगेडा कोष २४.९७ प्रतिशत बढेको छ भने निक्षेप ४३.५० प्रतिशत र कर्जा ५०.७६ प्रतिशतले बढेको बैंकको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । दोस्रो त्रैमासमा रहेको निष्क्रिय कर्जा ०.३० प्रतिशतबाट घटेर तेस्रो त्रैमासमा ०.२१ प्रतिशत पुगेको छ । यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको लाभांश दिने क्षमता १७.२२ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको लाभांश दिने क्षमता ८.९७ प्रतिशत रहेको थियो । बैंकले लघु तथा साना उद्यमीहरु लक्षित गरी उत्पादनमूलक क्षेत्रमा लगानीलाई प्राथमिकतामा राखेको जनाएको छ । बैंकको कुल कर्जामा ५० प्रतिशत हिस्सा २० लाख रुपैयाँ मुनिको र ३३ प्रतिशत हिस्सा १० लाख रुपैयाँ मुनिको कर्जाहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्