९ महिनासम्म फर्कने साढे ३ लाख, जाने ९० हजार
चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि वैदेशिक रोजगारीमा जाने प्रक्रियाले लय लिन सकेको छैन ।
कोभिड संक्रमणका कारण श्रम गन्तव्यका रोजगादाताले विदेशी श्रमिकको मागलाई घटाएसँगै रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या वृद्धि हुन नसकेको हो । वैदेशिक रोजगारीमा जाने प्रक्रियामा कमी आएसँगै रेमिट्यान्स नघटेको देखिएपनि वृद्धिदर भने घटेको छ ।
गत वर्षको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा चार गुणाले घटेको पाइएको छ । केही समय कोभिड संक्रमण सुस्त भएपनि श्रम गन्तव्यका रोजगारदाताले विदेशी श्रमिकको माग नगर्ने र विभिन्न देशले लागू गरेको स्वास्थ्य मापदण्डका कारण चालु आवको ९ महिना पुग्दासमेत विदेश जानेको संख्या बढ्न नसकेको हो ।
गत वर्षको चैतसम्म वैदेशिक रोजगारीमा जाने नेपाली नेपाली युवाको संख्या ३ लाख ६८ हजार रहेकोमा चालु आवको सोही अवधिमा भने ९० हजार मात्र रहेको पाइएको छ । मलेसियालगायत खाडीका आधा दर्जन श्रम गन्तव्यका रोजगारदाताले नेपाली श्रमिकको माग बढाउन नसकेपछि वैदेशिक रोजगारी जानेको संख्या एक दशकको तुलनामा यो वर्ष सबै भन्दा कमी आएकोे छ ।
गत वर्षको चैतसम्म पुनः श्रम स्वीकृति लिनेको युवाको संख्या १ लाख ७७ हजार ९८० रहेकोमा यो वर्ष सो संख्या ३ गुणा घटेर ५४ हजारमा सीमित रहेको छ । यसैगरी नयाँ श्रम स्वीकृति लिई गत वर्षको चैतसम्म १ लाख ९० हजार ९ सय ८० रहेकोमा यो वर्षको चैतसम्म ३५ हजार ३ सय २५ युवा मात्र रोजगारीका लागि विदेश गएका छन् । नयाँ श्रम स्वीकृति लिनेमा संस्थागत, व्यक्तिगत र वैधानिकीकरण सहितको हो ।
हाल पुनः कोरोना संक्रमण बढ्दै गएकाले चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जान दर अभैm घट्ने देखिएको छ । वैदेशिक रोजगारीमा जाने संख्या भन्दा रोजगारी गुमाएर, सम्झौता सकिएर वा विदामा आउनेको संख्यामा भने वृद्धि भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजानिक गरेको चैतको पछिल्लो साप्ताहिक प्रगति प्रतिवेदनमा हालसम्म विभिन्न श्रम गन्तव्यबाट ३ लाख ५५ हजार श्रमिक नेपाल फर्किएका छन् । यो संख्यामध्ये पनि विदामा आउने भने न्यून रहेका छन् । कोभिडका कारण उडान बन्द हुने भएका कारण हाल बिदामा आउने श्रमिक न्यून हुने गरेका हुन् । बिगत ९ महिनामा रोजगारी खोज्दै विदेश जाने ९० हजार रहेकोमा स्वदेश फर्कनेको संख्या साढे ३ लाख पुगेको छ । बिगतमा रोजगारीमा जाने र आउनेको संख्या बराबर हुने गरेका कारण नेपाल वैदेशिक रोजगारी सन्तुलनमा रहेको थियो । बिगत २ हप्तामा मात्र स्वदेश फर्कनेको संख्या २९ हजार छ ।
वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराई बिगत वर्षको तुलनामा यो वर्ष कम युवा विदेश गएपनि हाल दैनिक पाँच सयको हाराहारीमा श्रम स्वीकृति लिएको बताउँछन् ।