Logo

पोखरा महानगर मौन

फेवातालको मापदण्डविपरीत निर्माण भएको भौतिक संरचना हटाउन माग

पोखराका नागरिक समाजले फेवातालको किनारामा मापदण्डविपरीत निर्माण भएका भौतिक संरचना हटाउन पटक–पटक माग गर्दा पनि पोखरा महानगरपालिका मौन बसेको छ । पोखराका नागरिक अगुवा रामबहादुर पौडेल सहितको एक टोलीले आइतबार र सोमबार लगातार रुपमा फेवातालको किनारामा मापदण्डविपरीत निर्माण भएको भौतिक संरचना हटाउन पटक–पटक पोखरा महानगरपालिकामा आग्रह गर्दासमेत महानगर यस विषयमा मौन बसेको हो ।

पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको संरक्षणको मुख्य जिम्मा पाएको स्थानीय सरकार पोखरा महानगरले आफै चासो दियर अवैध रुपमा निर्माण भएका भौतिक संरचना हटाउनु पर्नेमा नागरिक समान जनप्रतिनिधिले समेत पटक पटक जानकारी गराउदा ३ दिनदेखि महानगरले कुनै याक्सन लिन नसक्नु महानगरको पनि अवैध भौतिक संरचना निर्माण कर्तासँगको कुनै लेनदेन हुन सक्ने पोखरेलीले आशंका व्यक्त गरेका छन् । पोखराको नागरिक समाजको एक टोली आइतबार फेवातालको किनारमा निर्माण भएको भौतिक संरचनाको अवलोकन गर्दै अवैध रुपमा निर्माण भएको भौतिक संरचना तत्काल हटाउन नागरिक समाजका अगुवा पौडेलले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रमुख प्रशासकिय अधिकृत महेश बराल लगायतलाई आग्रह गर्दै आए पनि हालसम्म केही काम अघि बढ्न नसकेको पौडेलले गुनासो गरे ।

उनले भने, “सार्वजनीक स्थलमा जोकोही व्यत्तिले आफुखुसी कुनै भौतिक संरचना बनाउन पाइँदैन यदि कसैले भौतिक संरचना बनाएको खण्डमा स्थानीय सरकार र प्रशासनले त्यसलाई कारबाहीको दायरमा ल्याउनुपर्छ ।” सोमबार नागरिक अगुवा पौडेल सहितको एक टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई भेटघाट गरी सार्वजनिक स्थल फेवातालमा अतिक्रमण र मापदण्डविपरीत भौतिक संरचना निर्माण भएकाले त्यसलाई तत्काल रोक्न आग्रह गरे । उनले भने, “पोखरा महानगरपालिकाबाट खै कहिले याक्सनमा काम हुने हो, अब यसलाई प्रशासनले आफ्नो अधिकार प्रयोग गरी सार्वजनिकसम्बन्धी माथी भएको अतिक्रमण तत्काल रोक्नु प¥यो, यसमा नागरिक समाजको भूमिका कहाँ के गर्नुपर्छ हामी तयार छौं ।” प्रमुख जिल्ला अधिकारी गौतमले सार्वजनिक सम्पत्ति संरक्षणमा आवश्यक पर्ने सुरक्षा व्यवस्था मिलाउन आफूहरू हरपल तयार रहेको जनाए ।

फेवाताल अतिक्रमण र फेवातालमा मापदण्डविपरीत ब्लूस्काई प्याराग्लाइडिङको अवतरण गर्ने स्थल तथा दुना टपरी रेष्टुरेण्टको अगाडीको भागमा हाल करिब १ सय मिटर लम्बाइको ४ फुटको पर्खाल निर्माण भएको छ भने करिब २० ट्रकभन्दा बढी ढुंगा माटो राखेर फेवातालको दलदल भाग पुरिएको नागरिक अगुवा पौडेलले जनाए ।

युवा व्यवसायी दीपेस श्रेष्ठ, मनोज श्रेष्ठ, प्रवेश शाक्यसहितको टोलीले व्यवसायीक प्रयोजनको लागि उक्त क्षेत्रमा फेवातालको सतहबाटै पर्खाल निर्माण गरेको अबस्थामा महानगरले यस अघि करिब ५ पटक हटाए पनि हाल उक्त संरचना बनेको हो । आफूहरूले उत्त जग्गा भाडामा लियर गार्डेन बनाउने उद्देश्यले केही काम गर्न सुरु गरेको व्यवसायी दीपेस श्रेष्ठले बताए । यस बिषयमा शनिबार गण्डकी प्रदेश सांसद रामजीप्रसाद बराल (जीबन) ले अवैध रुपमा निर्माण भएको भौतिक संरचनाको बिषयमा पोखराका मेयर मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, पोखराका नागरिक अगुवा राम बहादुर पौडेल, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पुण्यप्रसाद पौडेल लगायतलाई जानकारी गराएका थिए ।

शनिबार र आइतबार पोखरा महानगरपालिकाका मेयर जिसी र प्रमुख प्रशासकिय अधिकृत बरालले मापदण्ड विपरित निर्माण भएको भौतिक संरचनाको बिषयमा छलफल गरेर आवश्यक कारवाही अघि बढाउने प्रतिकृया दिए पनि हालसम्म कुनै कारबाही अघि नबढेको स्रोतले जनाएको छ ।

नागरिक समाज पोखराका अगुवा पौडेलले फेवातालको अतिक्रमण र अवेध भौतिक संरचना निर्माण हुदा स्थानिय तह पोखरा १८ वडा कार्यालय र पोखरा महानगरपालिका मुकदर्शक भएर बसेको दाबी गरे । मुलुकी देवानी संहिता २०७४ मा उल्लेख भए अनुसार कसैले सार्वजनिक र सरकारी वा समुदायिक जग्गामा निजी वा सार्वजनिक प्रयोजनको लागि कुनै संरचना बनाउन हुदैन्। यदि कसैले सरकारी, सार्वजनिक वा सामुदायिक जग्गामा कुनै संरचना बनाउन लागेमा समबन्धित प्रमुख जिल्ला अधिकारी वा स्थानिय तहले त्यस्तो कार्य तुरुन्त रोक्नुपर्ने प्राब्धान रहेको छ ।

फेवातालको सिमाङकन तथा नक्साङकन समितिका संयोजक पुण्यप्रसाद पौडेलले आफूहरूले दुषिद जग्गा पहिचानमा हाल लाग्दै गर्दा मापदण्ड विपरित भौतिक संरचना बनाउने कार्यलाई महानगरले तत्काल रोक्नु पर्ने बताए । आफुले पनि महानगरका मेयर जिसी र प्रमुख जिल्ला अधिकारी गौतमलाई समेत जानकारी गराएको बताए ।

फेवातालको क्षेत्रफल ५ दशमवल ७ सय २६ वर्ग किलोमिटर अर्थात ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा भएको फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्