नेपालमा लगानी भित्र्याउने संयन्त्रको औपचारिक घोषणा «

नेपालमा लगानी भित्र्याउने संयन्त्रको औपचारिक घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लामो समयदेखि देखको १० अर्ब रुपैयाँबराबरको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड (नेपाल विकास कोष) औपचारिक रुपमा घोषणा गरिएको छ । तर कोषको लक्ष्य भने १० अर्ब न्यूनतम रहेको एनआरएनए र अर्थ मन्त्रालयले जनाएका छन् ।
एनआरएनएले पूँजीमात्र नभएर ज्ञान, सीप र प्रविधि भित्र्याई नेपालको पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न स्थापित कोषको सोमबार अर्थ मन्त्रालयमा औपचारिक शुभारम्भ गरिएको छ । गैरआवासीय नेपालीको लगानी, अर्थ मन्त्रालयको समन्वय एवं सहजीकरण तथा सरकारको पनि पाँच प्रतशत सेयर रहने गरी गैरआवासीय नेपालीको सामूहिक लगानीमा कोष स्थापना गरिएको कोषका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले बताए ।
कोषको औपचारिक स्थापनाका बारेमा जानकारी दिन अर्थ मन्त्रालयमा सोमबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीले स्वदेशमा लगानी भित्र्याउन सरकारले आवश्यक सहयोग गर्ने बताउँदै देश विकासका लागि गैरआवासीय नेपालीले लगानी दूतको रुपमा विदेशीको लगानी ल्याउन भूमिका खेल्न आग्रह गरे । “देशको आवश्यकता र रोजगारी सृजना हुने गरी नयाँ क्षेत्रमा लगानी ल्याउनुहोस्, के सहयोग गर्नुपर्ने हो सरकारले गर्छ,” अर्थमन्त्री पौडेलले भने । लगानी भित्र्याउँदा कालोधन नहोस्, बैंकिङ माध्यमबाट पारदर्शी ढंगमा लगानी आओस् र राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा लगानी होस् ।”
यस्तै, कोषका अध्यक्ष एवं एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालीहरु विदेशमा व्यक्तिगत रुपमा जति सफल भए पनि नेपाल समृद्ध नभई नेपालीको सम्मान नहुने अवधारणासहित सुरुमा १० अर्ब भने पनि विस्तारै १ खर्बसम्म लगानी ल्याउने योजनासहित अघि बढेको बताए । “नेपालमा नेपालीले नै लगानी नगरी विदेशी लगानी आउन सक्दैन,” उनले भने, “अब नेपालमा पुँजी, प्रविधि र सीपमात्र होइन, अन्तर्राष्ट्रिय स्तरको कर्पोरेट कल्चर समेत भित्रिने छ ।”
लगानी भित्र्याउने उद्देश्यसहित सन् २००७ देखि कोष स्थापना गर्ने गरी काम अघि बढेकोमा गत महिना कम्पनी दर्ता भएको थियो । दुई वर्षअघि भएको लगानी सम्मेलनमा तत्कालीन लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा हालका केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी र एनआरएनएका तत्कालीन अध्यक्ष भवन भट्टबीच कोष स्थापनाका लागि सम्झौता भएको थियो । २०७५ वैशाख ५ गते अर्थ मन्त्रालयसमक्ष १० अर्ब रुपैयाँबराबरको लगानी भित्र्याउने अठोटका साथ कोषको अवधारणापत्र प्रस्तुत गरिएको थियो ।
संघको प्रयास र अर्थ मन्त्रालयको समन्वयमा चैत ३० मा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड विधिवत् रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको थियो । अधिकृत पूँजी १० अर्ब रहेको कम्पनीमा नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी पनि छ । गैरआवासीय नेपाली प्रवद्र्धक रहेको कम्पनीमा ३ अर्बको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता प्राप्त भइसकेको पनि संघले जनाएको छ । गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन गरिने पनि संघले जनायो ।
एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्टले फन्ड गैरआवासीय नेपालीबाहेकका लागि पनि नेपालमा लगानी गर्ने एउटा माध्यम बन्ने बताए । “यो एउटा स्पेसल पर्पोज भेइकल हो, जसको माध्यमबाट नेपालमा लगानी ल्याउने एनआरएनएको सपना पूरा भएको छ,” उनले भने ।
कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले वाचा गरेझैं संघले नेपालमा लगानी भित्र्याउने काम गर्न सफल होस् भन्ने कामना गर्दै सरकारले यसमा सहजीकरण गर्ने वाचा गरे । कोषलाई होल्डिङ कम्पनीको रुपमा विकास गरेर परम्परागत भन्दा पनि हालको मुलुकको आवश्यकता अनुसार फरक फरक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिँदै उनले विदेशी लगानी भित्र्याउन तथा एनआरएनको लगानीलाई सहजीकरण गर्नै पनि सरकारले लगानी नीतिलाई परिमार्जन गर्दै लगेको बताए । “सरकार र एनआरएनएको यो सहकार्य वैधानिकता र व्यावसायिकताबीचको संगम हो,” उनले भने, “यो कोषसँगै गैरआवासीय नेपालीले स्रोत, ज्ञान, आफ्ना क्रियाकलाप तथा राष्ट्रप्रतिको आशक्ति पनि भित्रने छ ।”
एनआरएनएका अध्यक्ष कुमार पन्तले फन्डको स्थापना भइसकेका कारण विदेशमा रहेका नेपालीले व्यक्तिगतमात्र नभई सामूहिक लगानी ल्याउने वातावरण तयार भएको बताए । उनले यसअघि पनि नेपाल गैरआवासीय नेपालीको लगानी भइरहेका कारण अब ठूलो कोष नै स्थापना गरी लगानी गर्न लागेको जनाए ।

प्रतिक्रिया दिनुहोस्