Logo

वार्षिक ३५ करोड खर्च, आम्दानी १० करोडमात्र

रेल सञ्चालन वैशाखभित्रै

जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी र भारतीय कोनकन रेल्वेज कर्पोरेसनबीच सम्झौता भएको छ ।
गत असोजमा आएर झण्डै ६ महिनादेखि थन्किएको रेल सञ्चालनका लागि सम्झौता भएको हो । नेपाल सरकारले निर्णय गरेबमोजिम परराष्ट्र मन्त्रालय हुँदै भारत सरकारसँगको सहकार्यमा दुई देशबीच सरकार–सरकार (जीटुजी) गत साता सम्झौता भएको महाप्रबन्धक गुरु भट्टराईले बताए । महाप्रबन्धक भट्टराईका अनुसार, सो खण्डमा रेल सञ्चालनका लागि २६ जना जनशक्ति उपलब्ध गराउनेछ । साथै रेलको ट्रयाक मर्मत सम्भार, नेपाली जनशक्तिलाई तालिम दिने, रेल सञ्चालनका लागि आवश्क टुल्स र उपकरण उपलब्ध गराउने, सञ्चालन कार्यविधि र कर्मचारीको जिम्मेवारसहितको मापदण्ड बनाउने गरी एक वर्षका लागि कोनकन रेल्वेजलसँग करार सम्झौता भएको छ ।
सम्झौताअनुसार, जयनगर–जनकपुर रेल सञ्चालनका लागि चालक दल भने करिब २ देखि ३ वर्ष राख्नु पर्नेछ । सम्झौताअनुसार, ३५ करोड १२ लाख रुपैयाँमा दुई पक्षबीच सम्झौता भएको महाप्रबन्धक भट्टराईले बताए । उनले भने, “करिब २ वर्षको अधिकमा सञ्चालन खर्च प्राप्त हुने आशा गरेका छौं, यात्रुको टिकटले मात्र रेलको सञ्चालन खर्च प्राप्त नहुने भएकाले गर्दा रेल स्टेसनमा अन्य व्यापारिक गतिविधि बढाएर आम्दानीको स्रोत खोज्नु पर्छ ।” कम्पनीका अनुसार, सम्झौताबमोजिम हाललाई ५० प्रतिशत रकम मेसिन खरिदमा खर्च हुनेछ ।
मंगलबारबाट नै भारतीय टोलीले नेपाली ७० जना जनशक्तिलाई तालिम प्रदान गर्ने कार्यक्रम छ । जनशक्तिमा करिब ४ करोड रुपैयाँ खर्च हुनेछ । महाप्रबन्धक भट्टराईका अनुसार, पहिलो वर्ष नै आम्दानी हुने कुनै सम्भावना छैन र दोस्रो वर्षदेखि भने आम्दानीको स्रोत बढ्ने छ । रेल सञ्चालनबाटै लगानीको प्रतिफल नआउने भएकोले अन्य व्यापारिक गतिविधि बढाएर आम्दानी बढाउनुपर्ने भट्टराईले बताए । उनका अनुसार, वार्षिक रूपमा नेपालले भारतीय कम्पनीलाई ३५ करोड दिए पनि करिब वार्षिक आम्दानी करिब १० करोड रुपैयाँ मात्र हुनेछ । यसले वार्षिक रूपमा रेल सञ्चालनका लागि २५ करोड घाटा हुने देखिएको छ ।
प्राविधिक र कानुन अभावले सञ्चालन गर्न ढिलाइ भएकाले गर्दा कम्पनीले यसै वैशाखको अन्तिम साताबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको महाप्रबन्धक भट्टराईले बताए । रेल सञ्चालनका लागि २ सय २६ जना जनशक्ति नियुक्ति गर्न स्वीकृति दिएको छ भने सरकारले २६ जना विदेशी दक्ष जनशक्ति नियुक्त गर्न स्वीकृत गरेबमोजिम भारतीय नागरिक छनोट भएका छन् । जसमा ६ जना पाइलट र अन्य चालक दल रहेको भट्टराईले बताए ।
पहिलो चरणमा भारत जयनगरदेखि जनकपुरको कुर्थासम्म ३४ किलोमिटर रेल सेवा सञ्चालन गर्ने तयारी छ । दोस्रो खण्ड कुर्थादेखि बिजलपुरासम्म १७ किलोमिटर रेल चाँडै सञ्चालन हुने कम्पनीले जनाएको छ । १३ सय यात्रु क्षमता भएको रेलले हाल ६ पटक अफ एन्ड डाउन (जनकपुर–जयनगर) गर्न योजना रहेको जनाइएको छ । जनरलमा क्लासमा प्रतिकिलोमिटर २ रुपैयाँ र वातावरण अनुकूल क्लास(एसी)मा बढी भाडादर रहने जनाइएको छ ।
नेपाल सरकारले भारत सरकारसँग जीटूजी अन्तर्गत दुई थान रेलको कुल रकम भ्याटवाहेक करिब ८५ करोड रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । दुवै रेलको पाँच वटा डिब्बा रहेका छन् । लामो समयदेखि रेल सेवा नेपालमा बन्द रहेकोले गर्दा सरकारले पाइलट प्राजेक्टको रुपमा मन्त्रिपरिषद्को सहमति लिएर रेल सञ्चालन गर्ने कम्पनीको तयारी छ । ०७७ सालको असोजमा रेल नेपाल आएको थियो ।

प्रतिक्रिया दिनुहोस्