Logo

नेसनल पेमेन्ट स्विचबाट अन्तरवालेट कारोबार

विद्युतीय भुक्तानीलाई व्यवस्थित बनाउन स्थापना गर्न लागिएको नेसनल पेमेन्ट स्विचले अन्तर भुक्तानी सेवा प्रदायक (वालेट) कारोबारबाट सेवा सुरु गर्ने भएको छ ।
स्विच स्थापना र संचालनका लागि नेपाल राष्ट्र बैंकबाट आशयपत्र पाएको नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले पहिलो चरणमा वालेट कम्पनीहरुको कारोबारलाई एकअर्कामा जोड्ने गरी काम अगाडि बढाएको हो ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपालभित्र हुने सबै प्रकारका विद्युतीय कारोबारको अभिलेख कायम गरी भुक्तानी प्रणालीमा थप सहजीकरण गर्न राष्ट्रिय भुक्तानी स्विचको स्थापना गर्ने घोषणा गरेको थियो । राष्ट्र बैंकले गत साउनमै एनसीएचएललाई आशयपत्र प्रदान गरेसँगै कम्पनीले काम अघि बढाएको थियो ।
स्विच संचालनका लागि प्राविधिक तयारी भइरहेको एचसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले जानकारी दिए । “पेमेन्ट स्विच संचालन एकदमै प्राविधिक र जटिल काम हो,” उनले भने, “हामी प्रारम्भिक चरणकै काम गरिरहेका छौं, आगामी आवसम्ममा अन्तर वालेट भुक्तानी कारोबारबाट सेवा संचालन गर्ने तयारी छ ।” वालेटपछि बैंकहरुको कार्डमार्फत हुने भुक्तानीलाई समेत स्विचमा जोड्ने उनले जानकारी दिए ।
एनसीएचएल विद्युतिय भुक्तानी प्रणाली संचालन गर्न नेपाल राष्ट्र बैंकको सक्रियतामा स्थापना भएको कम्पनी हो । कम्पनीमा राष्ट्र बैंकको १० प्रतिशत, स्मार्ट च्वाइस टेक्नोलोजीको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ । एनसीएचएलले हाल विद्युतीय चेक राफसाफका साथै कनेक्ट आईपीएस, आरटिजिएसलगायतका भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।
राष्ट्र बैंककै सक्रियता र लगानीमा स्थापित कम्पनी भएकाले नेसनल पेमेन्ट स्विच स्थापनाका लागि समेत एनसीएचएललाई नै आशयपत्र दिइएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । कम्पनीले आवश्यक तयारी पूरा गरेपछि लाइसेन्स प्रदान गर्नेछ ।
एनसीएचएलले स्विच संचालनका लागि प्राविधिक रिपोर्ट तयार गरि राष्ट्र बैंकसँग पहिलो चरणको छलफल समेत गरिसकेको छ । छलफलपछि राष्ट्र बैंकको निर्देशन अनुसार काम भइरहेको कम्पनीले जनाएको छ ।
नेसनल पेमेन्ट स्विच नहुँदा हाल बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गर्नका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुले स्विच सेवा प्रदान गर्दै आएका छन् ।
बैंकहरुले कार्डमार्फत विद्युतयि भुक्तानी सेवा प्रदान गर्न भिजा, मास्टरकार्ड, युनियन पे जस्ता अन्तर्राष्ट्रिय भुक्तानी स्विच प्रयोग गर्दा महँगो शुल्क तिर्नु परिरहेको छ ।
विद्युतीय भुक्तानीलाई सर्वसुलभ बनाउनका लागि नेसनल पेमेन्ट स्विच आवश्यक रहेको बताउँछन् नेपाल बैकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल । “भुक्तानी प्रणाली संचालनका लागि बैंकहरुले अन्तर्राष्ट्रिय संस्थाबाट काम गरिरहेका छौं,” उनले भने, “यसलाई सस्तो र सर्वसुलभ बनाउनका लागि आफ्नै स्विच आवश्यक छ, त्यसका लागि काम भइरहेको छ ।”
अनलाइन भुक्तानीप्रति सर्वसाधारणको आकर्षण र सरकारको नीतिगत प्रावधानका कारण कारोबार बढ्दै गएको छ । हाल बैंक तथा वित्तीय संस्थाका अतिरिक्त १० वटा कम्पनीले भुक्तानी सेवा प्रणाली र २३ कम्पनीले भुक्तानी सेवा प्रदायकको काम गर्दै आएका छन् । राष्ट्र बैंकले अनुमति नदिए पनि भुक्तानी प्रणाली संचालकसँग सम्झौता गरि बचत तथा ऋण कारोबार गर्ने सहकारीहरुले पनि विद्युतिय भुक्तानी सेवा संचालन गर्दै आएका छन् ।
पछिल्लो समय अन्तरबैंक रकम ट्रान्सफरदेखि मोवाइलको रिचार्ज, युटिलिटि बिल पेमेन्ट, दैनिक उपभोग्य सामानको खरिद, रेस्टुरेन्टमा बिल तिर्न र गाडीभाडा तिर्न समेत विद्युतिय भुक्तानी हुने गरेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन महिनामा मात्र विद्युतिय भुक्तानीका विभिन्न औजारहरुमार्फत साढे ४ करोड वटा कारोबारबाट २९ खर्ब २० करोड रुपैयाँ भुक्तानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्