लुम्बिनी विकास गुरुयोजना परिस्कृत गर्न आग्रह «

लुम्बिनी विकास गुरुयोजना परिस्कृत गर्न आग्रह

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजनालाई परिस्कृत गर्नुपर्ने बताएका छन् ।
आइतबार आफ्नो स्पेन भ्रमणको सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजना पुरानो भइसकेको र धेरै कुरामा परिवर्तन आइसकेको भन्दै लुम्बिनी विकास गुरु योजनामा नयाँ कुरा थप गर्नुपर्ने बताएका हुन् । स्पेनमा बन्न लागेको लुम्बिनीले गौतम बुद्धको जन्मभूमि नेपालमा पर्छ भन्नेकुराकै प्रचार प्रसार गर्ने र नेपालमा पर्यटन विस्तार हुने उनको भनाइ छ । उनले भने, “लुम्बिनी विकास गुरुयोजना पुरानो भइसक्यो अब । नयाँ अझ थप गर्नुपर्छ । किनकि विकास सँगसँगै धेरै कुरामा परिवर्तन आएको छ । नयाँ अझै थप्नुपर्ने हुन्छ । यता पनि सम्पन्न गर्नेतिर हामी जोड गर्छौं र अब त्यो गतिमै जान्छ भन्ने हामीलाई विश्वास छ । हामीले यो बुझ्नुभएन कि, अर्को लुम्बिनी बन्न खोजेको कुरा होइन ।”
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले स्पेनमा बन्न लागेको लुम्बिनीले शान्तिको खोजी गर्न बुद्ध जन्मभूमिमा जानुपर्छ र शान्तिको दिप प्रज्वलन नेपालबाट भएको रहेछ भन्ने कुराको विश्वलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे । स्पेनमा संरचना बन्नासाथ सबै त्यहीं जान्छन् भन्ने नरहेको पनि अध्यक्ष तिमिल्सिनाले बताए । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुइलेरम्मो फर्नान्डेज भारको निमन्त्रणा तथा लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा अप्रिल ६ देखि १२ मा सम्पन्न शान्ति सम्मेलनमा सहभागी हुन स्पेन गएका थिए ।

प्रतिक्रिया दिनुहोस्