कर्णालीमा आगलागीबाट ९ महिनामा १ अर्ब ७१ करोडको क्षति «

कर्णालीमा आगलागीबाट ९ महिनामा १ अर्ब ७१ करोडको क्षति

कर्णाली प्रदेशमा बितेको ९ महिनामा आगलागाीका घटनाबाट करिब १ अर्ब ७१ करोड बढीको क्षति भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तसम्म कर्णालीका १० वटै जिल्लाको तथ्यांक आगलागीबाट १ अर्ब ७१ करोड १९ लाख बढी क्षति भएको पाइएको छ । भने आगलागीमा परि विभिन्न जिल्लाका ११ जनाले ज्यान गुमाएका छन् । भने सयौंका हिसाबले पशुचौपाय मरेका छन् ।
भौतिक क्षतिको तुलनमा भने आगलागीबाट मानवीय क्षती नभएको देखिन्छ । लामो समयसम्म परेको खडेरी तथा मानवीय लापरबाहिले गर्दा कर्णालीका जिल्लामा आगलागीका घटना दैनिक बढिरहेका छन् । वन डढेलोका कारण देशभरका अधिकांश सामुदायिक, राष्ट्रिय वनमा आगलागी भएको एकिन क्षति कति भएको भन्ने विवरण आउन सकेको छैन् ।
तर, कर्णाली प्रदेशका १० वटा जिल्लामा भएको आगलागीका घटनाको विवरण भने केलाउने प्रयास गर्दा साढे १ अर्बभन्दा बढीको क्षती व्यहोर्नु परेको अबस्था छ । क्षति भएको तुलनामा तीनै तहका सरकार गरी २० प्रतिशत सम्म राहत उपलब्ध नगराएको अग्नि पीडितको गुनासो छ ।
कुन जिल्लामा कति क्षति ?
बितेको ९ महिनामा आगलागीबाट ९ जनाको मृत्यु र १ अर्ब ७१ करोड बराबरको भौतिक अन्नपात, लत्ताकपडा, भाडा वर्तनको क्षती भएको छ । ९ महिनाको अवधिमा आगलागीमा परी कालीकोटमा ६, सुर्खेतमा २ तथा रुकुम (पश्चिम), सल्यान, र मुगुमा १÷१ जना गरी ९ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ भने १५ जना घाइते भएका छन् । साथै करिब ४ सय ५० जती पशुचौपायाको क्षति भएको छ । जसमा २ सय पशुचौपाय जुम्लाका मात्रै रहेका छन् । त्यस्तै १ सय ७२ वटा घरमा पूर्णरूपमा क्षति भएका छन् । भने, २ सय ४० घरमा आंशिक क्षति भएको छ । पूर्णक्षति हुनेमा जुम्लाका ६१ वटा घर छन् ।
आर्थिक क्षतिको तथ्यांक हेर्दा कर्णालीका १० जिल्ला मध्य जुम्लामा सबैभन्दा बढी क्षति भएको देखिन्छ । माघ १४ गते तिला गाउँपालिका ७ गोठीगाउँ आगलागी हुँदा ३ करोड १८ लाख र चैत २१ गते तिला गाउँपालिकाकै ९ मा पर्ने मुल्ली गाउँ आगलागी हुँदा ३ करोड ४७ लाखको भौतिक क्षति भएको जुम्लाका डिएसपी दान बहादुर थापाले बताए । उनका अनुसार अन्य साना तिना आगलागीका घटना धेरै भए पनि जुम्लामा बस्तीनै सखाप हुने गरी २ वटा आगलागीका घटना भएका छन् । जसका कारण करिब ३ सय परिवार विस्तापित छन् ।
त्यस्तै आगलागीबाट सुर्खेतमा २ करोड ५६ लाख १६ हजार, दैलेखमा १ करोड ३५ लाख ८ हजार, जाजरकोटमा ८१ लाख ४६ हजार, सल्यानमा ४७ लाख ३८ हजार, रुकुमपश्चिममा ३३ लाख ९४ हजार, कालिकोटमा ६५ लाख ७८ हजारको क्षती भएको छ ।
साथै, मुगुमा ३३ लाख ३५ हजार, डोल्पामा ११ लाख ७२ हजार र हुम्लामा ८७ लाख २१ हजार रुपैयाँ बराबरको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुन चन्द ठकुरीले बताए । उनले भने, “यो वर्ष त्यति हिमपात र वर्षा नभएकाले आगलागीका घटना बढेका हुन् । मान्छेकै लापरबाहीको कारण आगलागीका अधिकांश घटना भएको देखिन्छ । अझै पर्याप्त वर्षात नभएकोले सचेत रहन आवश्यक छ ।”
माथिल्लो कर्णालीका जिल्लाका अझै पर्याप्त हरियाली नभएको र मौसम सुक्खा भएकाले आगलागीका घटना बढ्न सक्ने अनुमान गरिएको छ । डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीका अनुसार वन डढेलोबाट भएको क्षतीको एकिन विवरण आएको छ । अझै वनजंगल सहित गाउँघरमा आगलागी बढ्न सक्ने भएकोले सरोकारवाला निकायले सचेतनाका कार्यक्रमहरू गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्