कोरोना कहर बढ्दै : संक्रमितले अस्पताल भरियो
कञ्चनपुरमा कोरोना संक्रमित बढ्दै गएका छन् । दिनप्रति दिन छिमेकी मुलुक भारतबाट नेपाल आउने नेपाली नागरिकहरूकोे सङ्ख्या बढ्दै गएपछि कोरोना संक्रमितको सङ्ख्या पनि बढ्दै गएको हो । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि रोजगारीको लागि भारत पसेका नेपाली नागरिक दिनप्रति दिन कञ्चनपुरको गड्डाचौकी नाका भएर सयौको सङ्ख्यामा नेपाली स्वदेश आउने गरेका छन् ।
छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि फागुन चौबीस गतेदेखि हालसम्म गड्डाचौकी नाका भएर नेपाल प्रवेश गर्ने नेपाली नागरिकको सङ्ख्या १३ हजार १ सय ५२ वटा रहेको छ । विगतका दिनमा भन्दा सिमानाका क्षेत्रबाट भित्रिने नेपाली नागरिकको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार चैत महिनापछि वैशाख महिनायता नाका क्षेत्रमा नेपाल आउने नेपाली नागरिकको भीड बढ्दै गएको छ । योसँगै जिल्लामा पनि कोरोना संक्रमितको सङ्ख्या पनि बढ्दै गएको छ ।
“गड्डाचौकी नाका लगायत अन्य क्षेत्रबाट आएका विभिन्न नागरिकमा कोरोना परिक्षण गर्दा हालसम्म २ हजार १७ जना कोरोना संक्रमित भएका छन्, जसमध्ये १ हजार ७ सय ९७ पिसिआर टेस्टमार्फत कोरोना पोजेटिभ आएका छन् भने २ सय २० जना एन्टिजेन टेस्टमार्फत कोरोना पोजेटिभ आएका छन् ।” स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “सिमानाकामा नेपाल प्रवेश गर्ने नागरिकहरूमा कोरोना परिक्षण गर्ने कार्य गरिएको छ, आज (आइतबार) मात्रै जिल्लामा गड्डाचौकी नाका भएर आउने लगायतका २० जनामा कोरोना पोजेटिभ आएको छ ।” भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि बढी जसो भारतबाट नेपाल आउने नागरिकहरूमा मात्रै कोरोना पोजेटिभ आउने गरेको उनले बताए ।
यस्तै कोरोना महामारीको दोस्रो लहर आएपछि जिल्लाको महाकाली अस्पतालमा कोरोना संक्रमित बिरामीले भरिएको छ ।
“कोराना महामारीको अवस्थालाई मध्यनजर गरेर निर्माण गरिएको कोरोना अस्पताल ५० शय्या क्षमताको भएपनि क्षमता भन्दा बढी कोरोना बिरामी भएको अवस्था छ ।” स्वास्थ्य कार्यालय प्रमुख सुनारले भने, “सोमबारसम्म क्षमता भन्दा बढी राखेर उपचार गर्नु परेको थियो भने अहिले आएर सामुदायिक स्वास्थ्य इन्स्टिच्युटमा उपचारको व्यवस्था मिलाएर थप संक्रमितलाई उपचार गरिएको अवस्था छ ।” उनका अनुसार जिल्लाभर अहिले १ सय ७२ जना कोरोना संक्रमितका सक्रिय केस छन् ।
भारतबाट नेपाल आउने नागरिकहरूमा लक्षण देखिनेभन्दा लक्षण नदेखिएरै संक्रमित हुने गरेको अवस्था छ ।
स्वास्थ्य कार्यालयका अनुसार महाकाली अस्पतालमा लक्षण देखिएका कोरोना बिरामीलाई राखिएको छ भने सामुदायिक इन्स्टिच्युटमा भने कोरोना लक्षण नदेखिएका तर कोरोना पोजेटिभ संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयले कोरोना महामारीको अवस्था दिनप्रति दिन जटिल भएको भन्दै प्रत्येक स्थानिय तहमा आइसोलेसन बनाउन स्थानीय तहहरूसँग समन्वय तथा सहकार्य पनि गर्ने जनाएको छ ।
यसैगरी यता महाकाली अस्पतालले भने कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालमा जनशक्तिको कमी भएको जनाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सानो क्षमता रहेको आइसोलेसन ब्याड पनि भरिँदै गएको र अस्पतालमा पनि जनशक्ति कमी भएको बताए ।
“अस्पतालमा एकतर्फी रुपमा आइसोलेसन बेडहरू भरिँदै गएका छन्, स्थिति भयाभय हुने अवस्था भएको छ ।” अध्यक्ष जोशीले भने, “अस्पतालसँग आवश्यक जनशक्ति पनि छैन, कोरोना महामारी बढ्दै जाने हो भने निश्चित रूपमा समस्या आउने सक्ने भन्दै स्थानीय तह तथा प्रदेश सरकार सँग पनि आवश्यक जनशक्ति माग गरेका छांैं ।” यसैगरी अस्पतालमा अहिले ६ वटा आईसीयू बेड छन् भने ७ वटा भेन्टिलटर रहेको अवस्था छ । अध्यक्ष जोशीका अनुसार कोरोना संक्रमित बिरामीलाई आगामी दिनमा उपचारका लागि थप व्यवस्था मिलाउन पनि समस्या हुन सक्ने भन्दै अस्पतालको जनशक्ति लगायत स्वजास्थ्य उपकरण पनि थप्दै जानुपर्ने बताउँछन् ।
५० शय्या क्षमता रहेको महाकाली अस्पतालमा अहिले ४८ जना लक्षण देखिएका कोरोना संक्रमितको उपचार भइरहेको छ भने ११ जना लक्षण नदेखिएका कोरोना संक्रमितको भने सामुदायिक इन्स्टिच्युटमा उपचार भइरहेको छ ।