पहिरो विस्थापित ४५ परिवारलाई नयाँ घर «

पहिरो विस्थापित ४५ परिवारलाई नयाँ घर

गत साउन यता बाढी पहिरोका कारण घरवार गुमाएका बागलुङका ४५ परिवारले नयाँ घर पाउने भएका छन् । वर्षात्का कारण घरमा पूर्णक्षति बेहोरेका ४५ घर परिवारलाई बागलुङ नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने भएको हो ।
घरमा पूर्णक्षति बेहोरेका बागलुङ नगर क्षेत्रका ४५ परिवारले १ लाख ५० हजारका दरले अनुदान पाउने छन् । अनुदान व्यवस्थापनको काम नगरपालिकाको विपद्् व्यवस्थापन समितिले गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ । बाढीपहिरो पीडित नगरवासीलाई स्थानीय सरकारको अनुभूति हुनेगरी बास निर्माणका लागि अनुदान दिन लागिएको नगरपालिकाले जनाएको छ । आर्थिक सहयोगका लागि नगरपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने नगर प्रमुख जनकराज पौडेलले बताए । “गत वर्षको वर्षात्, बाढी तथा पहिरोका कारण नगर क्षेत्रभित्रका ४५ घर पूर्णरूपमा क्षतिग्रस्त भएको पाएका छौं,” नगरप्रमुख पौडेलले भने, “पूर्णक्षतिग्रस्त ति ४५ परिवारको घर निर्माणका लागि नगरपालिकाले एक लाख ५० हजार अनुदान प्रदान गर्नेछ । पीडित परिवारले अनुदान दुई किस्तामा पाउने छन् ।
गत वर्ष बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि नेपाल सरकारले बागलुङलाई विपदग्रस्त जिल्लाको रूपमा सूचिकृतसमेत गरेको थियो । विपदग्रस्त घोषणसँंगै पूर्णरूपमा घरवास गुमाएका परिवारका लागि भन्दै केन्द्र तथा प्रदेश सरकाले राहतको घोषणसमेत गरेका छन् । घोषणाअनुसार पूर्णक्षति बेहोरेका परिवारले संघीय सरकारबाट ४ लाख र प्रदेश सरकारबाट १ लाख प्राप्त गर्नेछन् । घर बनाउने सूचीमा परेका पीडित परिवारले पहिलो चरणमा ७५ हजार रुपैयाँ र दोस्रो चरणमा ७५ हजार रुपैयाँ गरी एक लाख ५० हजार नगरपालिकाको तर्फबाट प्राप्त गर्ने बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माले बतााए । नवनिर्मित घरहरू भूकम्प प्रतिरोधी हुने इन्जिनियर शर्माले बताए । “घर बनाउँदा पहिरो पीडितले भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने प्रावधान छ,” इन्जिनियर शर्माले भने, “नगरपालिकाले प्रदान गर्ने अनुदान रकमले मात्रै सबै घर बन्दैन तर राहत अवश्य मिल्ने छ । प्रदेश र संघीय सरकारले समेत घर बनाउन रकम दिने भएपछि पीडितले राम्रो भूकम्प प्रतिरोधी घर बनाउन सक्ने उनले बताए । संघीय सरकार र प्रदेश सरकारले पीडितको घर बनाउन दिने भनेको रकम केही ढिला भएका कारण नगरपालिकाले पीडितको घाउमा मल्हम लगाउन भए पनि अनुदान दिने निर्णय गरेको बताएको छ ।
अविरल वर्षात्का कारण बाढी, पहिरोजस्ता विपद्का कारण पूर्णरूपमा बसोबास गरिरहेको घरबासमा क्षति पुगेर आश्रित हुनपुगेका र स्थानान्तरण हुनपुगेका ४५ परिवारलाई घर बनाउन रकम दिइनेछ । उक्त घरहरू संघीय सरकार र प्रदेश सरकारले अनुदान दिने लाभग्राहीको सूचीमा समेत छन् । सरकारले बागलुङलाई विपद्ग्रस्त क्षेत्रका रूपमा समेटेर बागलुङका ५ सय ९० घर पुनर्निर्माण गर्नुपर्ने तथ्यांक संकलन गरेको थियो । बाढी पहिरो पीडितको घर निर्माणका लागि बागलुङ जिल्लामा सरकारले कार्यालय स्थापना गर्ने तयारीसमेत थालेको छ । भदौ १७ गते राति ढोरपाटनको भूजीखोला थुनिएर आएको बाढीले झण्डै एक सयभन्दा बढी घर बगाएको थियो । त्यसलगत्तै बागलुङलाई सरकारले विपद्ग्रस्त जिल्लाका रूपमा घोषणा गरेको थियो । – त्रिलोचन रिजाल

प्रतिक्रिया दिनुहोस्