विश्व महामारीबीच अन्नपूर्ण आरोहणले जगाएको आशा
आरोहीका लागि सगरमाथाभन्दा खतरनाक मानिएको अन्नपूर्ण (प्रथम)को शिखरमा ६ नेपाली महिलासहित ६८ जना आरोहीले शुक्रबार आरोहण गरेर यस सिजनको सुरुवात गरेका छन् । कोभिड–१९ महामारीका बीच यस सिजनको पहिलो हिमाल आरोहण गरेर कीर्तिमान राख्ने पूर्णिमा श्रेष्ठ, पासाङ ल्हामु शेर्पा, शर्मिला तामाङ, दावा याङ्जेन शेर्पा, दावा फुटी शेर्पा र माया शेर्पालगायत सबै नेपाली चेली बधाईका पात्र छन् । ८ हजार ९१ मिटरको अन्नपूर्ण (प्रथम) हिमाल आरोहण गर्ने सबैले कोरोना महामारीको निराशाबीच एउटा आशा सञ्चार गरेका छन् । शुक्रबार बिहान ११ः४० बजे विश्वको दशौं अग्लो हिमाल अन्नपूर्ण (प्रथम) आरोहण गरेका नेपालीलगायत विदेशी टोलीले नेपालमा मात्र नभएर विश्वमै एउटा सकारात्मकताको उदाहरण पनि दिएका छन् । मानिस यो सृष्टिको सबैभन्दा बुद्धिमान प्राणी त हो नै, त्यसबाहेक पनि मानिसले निराशाबीच पनि कसरी जिउने र जीवनलाई कसरी सकारात्मकतातिर लैजाने पनि जान्दछ । मानिसले विनाश गर्न जानेको छ भने सृष्टि गर्न पनि उसले नै जानेको छ । र, निराशा तथा महामारीका बीच पनि कसरी चुनौतीसँग जुध्ने कला पनि जानेको छ । संसारमा अझै मानिसले जित्न बाँकी धेरै छ र पनि मानिस हारेको छैन । बेला बेलामा आउने महामारीलाई पछार्दै तथा दुसाध्य हिमाललाई आरोहण गर्दै मानिस आफ्नो श्रेष्ठता सावित गर्न सक्षम छ । नेपाली युवा इतिहासदेखि नै बहादुर तथा विवेकी एवं इमान्दार भनेर विश्वमा चिनिएका हुन् । तर पनि नेपालीले हरेकपल्ट आफूलाई सावित गर्दै आएका छन् । नेपाली महिलाहरु पनि कम छैनन् भन्ने यसअघि पनि प्रमाणित भइसकेको हो । यसपटक पनि दुसाध्य अन्नपूर्ण (प्रथम)को शिखरमा आफ्नो पाइला टेकेर नेपाली महिलाले फेरि सावित गरेका छन् । उनीहरु पुरुषभन्दा कुनैपनि अर्थमा कमजोर छैनन् । ६ नेपाली महिलाले पहिलो पटक अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी इतिहास मात्र बनाएका छैनन्, भविष्यलाई पनि एउटा सन्देश दिएका छन् । हालसम्म नेपाली महिलाले आरोहण नगरेको अन्नपूर्ण (प्रथम) हिमालको आरोहण गर्नुले नेपाली महिलालाई भविष्यमा पनि कम नआँक्न प्रेरणा मिलेको छ ।
यसअघि पनि सगरमाथा (८८८४.८६ मिटर), मनास्लु (८१६३ मिटर) र अमादब्लम (६८१२ मिटर)लगायत अन्य हिमालको आरोहण पुरुषसँगै महिलाले पनि गरिसकेका छन् । यसपटक पनि उनीहरुले निराश बनाएनन् । शिखर चुमेर आरोहीहरु आफ्ना टोलीसहित हाल आधार शिविरमा सकुशल फर्किसकेका छन् । अन्नपूर्ण (प्रथम) आरोहण गर्न एकदमै जोखिमपूर्ण र कठिन भएकाले मानिँदै आएकोमा यस सफलताबाट अन्य आरोहीको लागि पनि एउटा उत्साहजनक वातावरण बनेको छ । दुसाध्य भएकैले हालसम्म करिब ३ सयको हाराहारीले मात्र आरोहण गरेको अन्नपूर्ण (प्रथम) सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्गोजले विजय गरेका थिए । कोरोना कहरका बीच पनि यस सिजनमा अन्नपूर्ण हिमाल आरोहणका लागि ४ आरोहण दलका ८ महिला र ३६ पुरुष सहित ४४ जनाले अनुमति लिएका छन् । यसबाट हिमाल आरोहणको आकर्षणलाई कोरोनाले जित्न नसकेको पुष्टि भएको छ । पर्यटनको निराशाजनक अवस्था रहेको यस सिजनमा पनि ७० जनाभन्दा बढीले आरोहण गरेको अन्नपूर्ण (प्रथम) कोरोना कहरको विश्वव्यापी लडाइँमा एउटा प्रतीक पनि बन्ने छ । साथै नेपालको पर्यटनमा गत सालदेखि आएको सुस्तीलाई केही मात्रामा भए पनि सुखद् सन्देश दिन थालेको छ । पर्यटन विभागले हालसम्म ७१ वटा पर्वतारोहण टोलीका ६ सय २६ जना पर्वतारोहीलाई विभिन्न हिमाल आरोहण गर्ने स्वीकृति प्रदान गरेको छ । स्वाभाविक रुपमा सबैभन्दा बढी आरोहीले सगरमाथा आरोहणको स्वीकृति लिएका छन् । ल्होत्से, अन्नपूर्ण तथा धौलागिरी हिमाल आरोहणका लागि पनि विभागले आरोहीलाई स्वीकृति दिएको छ । गत वर्षभन्दा यसपटक आरोहीहरु हिमाल आरोहणमा आकर्षित हुँदा कोरोनाले थलिएको पर्यटन उद्योगमा केही आशा पलाएको छ ।