Logo

‘६ लाख जनतालाई खानेपानी र सरसफाइपछिको पाठ’

काठमाडौं-सन् २००० देखि २०१५ सम्म साना सहरी खानेपानी तथा सरसफाइ क्षेत्र परियोजनाको कार्यान्वयनबाट सिकेको सफलता र असफलताका पाठहरू भविष्यमा उपयोगी हुनेमा सरोकारवालाले जोड दिएका छन् ।
एसियाली विकास बैक (एडीबी) मार्फत सरकारी निकायसँग मिलेर सन् २००० देखि २०१५ सम्म साना सहरी खानेपानी तथा सरसफाइ क्षेत्र परियोजनामार्फत ५ लाख ९३ हजार जनतालाई पहुँच पुर्याएकोमा बिहीबार इन्डेपेन्डेन्ट इभ्यालुयसन डिपार्टमेन्ट (आईईडी)ले यसबारे सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनबारे सरोकारवालाले यस्तो टिप्पणी गरेका हुन् । खानेपानी मन्त्रालय, एडीबी, एसएनभी नेदरल्यान्ड डेभलपमेन्ट अर्गनाईजेसनका प्रतिनिधिसहितको सरोकारवालासँगको छलफलमा आईईडीले खानेपानी तथा सरसफाइ क्षेत्रका परियोजनाबारे अध्ययन गरेको थियो ।
नेपाल सरकारको १ करोड २० लाख डलर, खानेपानी उपभोक्ताको ६ करोड ९० लाख डलर र एडीबीले ३ करोड २१ लाख डलर खर्चेर १५ वर्षमा २९ आयोजनामार्फत खानेपानी र सरसफाइका साथै ७० हजारलाई सार्वजनिक जनचेतना र ३ हजारभन्दा बढीलाई स्वास्थ्य र सरसफाइबारे जानकारी दिइएको प्रतिवेदनमा उल्लेख छ । १० वटा सहरका १० आयोजनामा २ हजार ५ सय १० घरधुरीमा गरिएको सर्भेक्षण र अन्तरवार्ताबाट गरिएको मूल्यांकनले परियोजनापछि झाडापखालाका घटनामा कमी आएको, विद्यालयको उपस्थिति बढेको र पानी संकलन गर्ने बोझ घटेकाले फुर्सद बढी पाएको तथा उच्चस्तरको सेवा पाएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी प्रतिस्पर्धी संस्था सिर्जना भएको, संस्थागत तालिम र जनचेतना अभियानसँगै संयोजित गर्दै खर्चको साझेदारीको सिद्धान्त विकास हुनुका साथै आयोजनाको तर्जुमाको क्रममा प्राविधिक डिजाइनका त्रुटि सच्चाउन र बृहत् दिगोपना सुनिश्चित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । मूल्यांकनले लागत साझेदारी, वित्तीय पारदर्शीतासहितको प्रगतिशील महशुल र गरिब लक्षित समावेशी आयोजना तथा रणनीतिक योजना र प्रभाव मूल्यांकन आवश्यक रहेकोमा जोड दिएको छ ।
आईईडीका मूल्यांकन विशेषज्ञद्वय टोमु उडा र गारेन्ट किलरोयले मूल्यांकन प्रतिवेदन पेश गर्दै १५ वर्षे परियोजनाका सफलता र असफलताका दुवै अवस्था देखाएको बताउँदै गरिब लक्षित परियोजनासहित दिगोपनतालाई विशेष ख्याल गर्नुपर्ने बताए । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले मूल्यांकनबाट सिकेको पाठको आधारमा आगामी परियोजना लक्षित गर्नुपर्ने बताउँदै परियोजनाको दिगोपनतालाई विशेष ध्यान दिनुपर्ने बताए । उनले डिजाइनका साथै परियोजनाको मर्मत संभार महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्