मेलम्चीको पानी वितरण नै असमानुपातिक «

मेलम्चीको पानी वितरण नै असमानुपातिक

पुराना पाइपलाइनबाटै मेलम्चीको पानी वितरण हुँदा उपत्यकाबासीले समान रुपमा खानेपानी उपभोग गर्न पाएका छैनन् ।
नयाँ पाइपबाट वितरण अझसम्म हुन नसकेको र पुराना पाइपलाइनको साइज कम भएको र एउटै पाइपलाइनमा कुनै स्थानमा धेरै÷थोरै उपभोक्तालाई पानी वितरण गर्नुपरेका कारण वितरण असमानुपातिक देखिएको हो । नयाँ पाइपलाइनको परीक्षणको काममा ढिलाइ भइरहँदा तत्कालका लागि पुराना पाइपलाइनको प्रयोग गरेर उपत्यकाबासीलाई खानेपानी वितरण गरिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले परीक्षणको प्रक्रियामा ढिलाइका कारण मेलम्चीको पानी विरण हुँदा सबै उपभोक्तालाई समानुपातिक रुपमा पानी वितरणमा समस्या भइरहेको जनाएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेकाले समानुपातिक वितरणमा समस्या आएको बताए । “हाल मेलम्चीको पानी साढे ८ करोड लिटरमात्रै वितरण गरिरहेका छौ, कतिपय स्थानका उपभोक्ताले धेरै मात्रामा खानेपानी पाएका छन्, त कुनै स्थानका उपभोक्ताले कम पानी पाएका छन्, यस्तो गुनासो बढिरहेको छ,” उनले भने, “पुराना पाइपलाइन सानो साइजको पनि छ, एउटै पाइपलाइनबाट धेरै उपभोक्तालाई पानी वितरण हुन्छ, त कुनै स्थानमा थोरै उपभोक्ता हुन्छन् जहाँ धेरै उपभोक्ता छन् त्यहाँ त पानी कम जाने भयो अनि कुनै स्थानमा लामो समय पानी आयो त कुनैमा आएन भनेर गुनासो बढिरहेको छ ।”
उनका अनुसार पुरानो पोखरीबाट पुरानो पाइपलाइनमा पानी वितरण गर्नु भनेको त्यहाँको पाइप साइजहरू सानो भएकाले समस्या भएको बताए । “जति धारालाई दिनुपर्ने पानी हो त्यति दिनलाई पाइपसाइज पनि त्यहीअनुसार हुनुपर्छ,” उनले थपे, “त्यो पाइपको साइज सानो हुनाले हामीले पर्याप्त पानी दिए पनि पाइपले धान्न सक्ने अवस्था पनि हुँदैन ।”
मेलम्ची खानेपानी उपत्यका आएलगत्तै नयाँ पाइपलाइनको प्रयोगबाट पानी वितरणको प्रक्रिया सुरु गर्ने भने पनि तयारी पूरा नहुँदा पुरानै पाइपलाइन प्रयोग गर्नुपरेको केयूकेएलले जनाएको छ । पुराना पाइपलाइनका कारण पानीको लिकेज बढ्ने र सबै उपभोक्ताले समान रुपमा पानी पाउन नसकेको गुनासो बढेपछि केयूकेएलले चाँडोभन्दा चाँडो नयाँ पाइपलाइनको परीक्षणको काम सम्पन्न गर्न आयोजनालाई अनुरोधसमेत गर्दै आएको छ । मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले भने एक हजार १५ किलोमिटर पाइपलाइन विस्तारको काम सकेर परीक्षण भइरहेको बताएको छ । आयोजना कार्यान्यन निर्देशनालय (पीआईडी) का प्रमुख कमलराज श्रेष्ठले चक्रपथभित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको र परीक्षण काम सम्पन्न गर्न अझै ४ महिना लाग्ने बताए । “कतिपय स्थानमा पाइपलाइन विस्तारको काम सकिएको ५ वर्ष भइसकेको छ, पहिला पानी अभाव थियो परीक्षण भएको थिएन, अहिले परीक्षण गर्दा कतिपय स्थानमा त्रुटि पनि भेट्यांै, पानी लिकेज हुने पनि देख्यांै त्यसले गर्दा परीक्षणको काममा ढिलाइ भएको हो,” उनले भने, “परीक्षणको काम सम्पन्न गर्नका लागि अझै ४ महिना समय लाग्न सक्छ, पानी अभावका कारण परीक्षण गर्न पाइरहेका थिएनांै ।”
श्रेष्ठका अनुसार, अनामनगरस्थित झन्डै १६ सय घरधुरीलाई नयाँ पाइपलाइनबाट मेलम्चीको पानी वितरण भइरहेको छ । नयाँ पाइपलाइनबाट वितरण भएकाले अनामनगरका उपभोक्ताले दैनिक रुपमा मेलम्चीको खानेपानी समानुपातिक रुपमा पाएका छन् । “नयाँ पाइपलाइनबाट गुणस्तरीय पानी पनि जान्छ, आवश्यकता अनुसार पानी वितरण हुन्छ, उपभोक्ताको संख्याअनुसार नयाँ पाइपलाइनको डिजाइन हुन्छ,” उनले थपे । उनका अनुसार, पहिलो चरणको पाइपलाइन विस्तारको काम सकिएको छ भने २ सय २५ किलोमिटरमा परीक्षणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्