Logo

प्राध्यापकका पेसागत क्षमताको बहस

संसारमा एक्काइसौं शताब्दीअनुकूलको प्राध्यापकको पेसागत क्षमताको चर्चा चलेको छ । प्रविधिलेस दुनियाँमा ज्ञान, सीपको उत्पादककर्ता, प्रचारक र प्रयोगकर्ताका रूपमा रहेका प्राध्यापकको युग सापेक्ष पेसागत क्षमता र प्राज्ञिक पेसागत उन्नयनका लागि फरक तरिकाले काम गर्नुपर्ने आवश्यकता छ । यस्तो अवस्थामा तिनको भूमिका के हुन्छ ? कसरी प्राध्यापकले उसका लागि चाहिने पेसागत दक्षताको विकास गर्न सक्छ ? उसको गैरप्राध्यापक साथीले उसका बारेमा के सोच्दा हुन् ? वा प्राध्यापक आफैंले चाहिँ आफ्नो बारेमा के सोच्दा हुन् ?आफैंप्रतिका तिनका धारणा, दृष्टिकोण, बुझाइ र त्यसको उपयोगिता कुन रूपमा भइरहेको होला ? तिनले आफू कार्यरत विश्वविद्यालयको मात्रै होइन, देशको विकासमा कुन तरहमा भूमिका खेलेका होलान् ? विगतका युग र अहिले उत्तरआधुनिक युगमा प्राध्यापकीय भूमिका खासगरी विश्वविद्यालयको विकासको लागि के होला ? विद्यार्थी उत्पादन, विश्वविद्यालयको परिवर्तन र विकासमा तिनका भूमिकालाई कसरी परख गर्ने होला ? समाज परिवर्तनमा तिनको सकारात्मक भूमिका कसरी देख्न पाइएला ? भन्ने बारेमा विश्वव्यापी बहस सिर्जना भएको छ । एकअर्कामा तिनको सम्बन्ध, सुझबुझ कस्तो होला ? अन्तर सुझबुझले तिनको पेसागत विकासमा कुन रूपले भूमिका खेलेको होला ?
नेपालको सन्दर्भमा प्राध्यापकीय भूमिका र क्षमतालाई कसरी परख गर्ने ? सन्तुष्ट हुने अवस्था होला वा नहोला ? तिनले भूमिका खेलेको प्राध्यापकको व्यावसायिक दक्षताको पुनफेसनीकरण गर्न सम्भव छ ? वा कसरी गर्ने हो भन्ने बारे नेपालमा कतै बहस वा चर्चा समेत चलेको छैन ।
वास्तवमा नयाँ युगमा प्राध्यापकको गुण के हुने ? विज्ञताआर्जन एउटा पक्ष हो तर व्यावसायिकता भने कसरी परख भइरहेको भन्नेमा कसरी व्याख्या गर्ने ? राज्यदेखि नागरिकले तिनको प्राध्यापकीय पक्षको लाभ कसरी लिने ? तिनले गरेको प्राज्ञिक नेतृत्व, नेतृत्व शैली र नेतृत्वका बारेमा कसरी व्याख्या गर्ने ? प्राध्यापकको नेतृत्वलाई पनि हेर्नुपर्ने हुन्छ । नेपाल समाजले प्राध्यापकका सकारात्मक सीपलाई हेर्न पाएका छैनन् । प्राध्यापकीय व्यावसायिक गुणलाई पुनर्संरचित गर्न आवश्यक छ ।
विश्वविद्यालयले एउटा प्राध्यापक उत्पादन गर्न गरेको खर्च कति हुन्छ । तत्कालीन अवस्था उपप्राध्यापक, शिक्षण सहायक, टे«नर, आंशिक शिक्षकबाट जागिर सुरुवात गरेकाहरू अहिले प्राध्यापक पदमा छन् वा त्यस पदमा पुगेर सेवा निवृत्त भइसकेका छन् । यसबीचमा तिनको वृत्ति विकासमा राज्यले लगानी गरेको छ । तिनले देश विदेशमा अध्ययन, अनुसन्धानको अवसर पनि पाएका छन् । क्षमता विकास पनि भएको छ, तर विडम्बना तिनले अझै पनि त्यो क्षमतालाई कक्षाकोठामा ल्याएका छैनन्, समाजमा लगेका छैनन् । यसैले नेपालमा अझै पनि प्राध्यापकले खेल्ने भूमिका कम पाएका हुन् कि तिनको आफ्नै क्षमता कम हो भन्नेबारेमा पनि अध्ययन हुन बाँकी छन् । संविधानले देशको समृद्धिको परिकल्पना गरेकोले प्राध्यापकले त्यो भूमिका खेल्न बाँकी छ । प्राध्यापक देशका निधि हुन् । तिनका कर्मले देश पक्कै पनि अग्रगतिमा जान्छ । तर, नेपालको सन्दर्भमा ११ भन्दा बढी विश्वविद्यालय जन्मिसकेका भए पनि प्राध्यापकले औधी राम्रो काम गरे, तिनको अनुसरण गर्नुपर्छ भन्ने अनुयायी छैनन् । यसैले नेपाली प्राध्यापकले आत्मसमीक्षा गर्नु आवश्यक छ । राजनीतिले गिजोलिएको, बिथोलिएको विगतको सन्दर्भ नरहेकोले नेपालका विश्वविद्यालयमा काम गर्ने प्राध्यापकले फरक क्षमता र शैलीका साथ काम गर्दा संविधानले कल्पना गरेको समृद्धिले सार्थकता पाउँला कि ? विद्यालय, विश्वविद्यालय बनाउने भनेको त्यहाँका शिक्षकले नै हो । शिक्षकले विद्यालय, विश्वविद्यालयलाई पाउ हैन, शिरमा राखेर काम गर्नुपर्छ । समय नेपाली प्राध्यापकका क्षमता विस्तारित हुनुपर्छ भन्ने हो ।

प्रतिक्रिया दिनुहोस्