‘भूमिहिनको तथ्यांक संकलनमा राजनीतिक भेदभाव नगर्नु’ «

‘भूमिहिनको तथ्यांक संकलनमा राजनीतिक भेदभाव नगर्नु’

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले राजनीतिक भेदभाव नगरी भूमिहीनहरुको विवरण संकलन गर्न भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएकी छिन् ।
भूमि सम्बन्धी समस्या समाधान आयोगको ‘वार्षिक प्रगति समिक्षा एवं वार्षिक प्रतिवेदन–२०७७’ सार्वजनिक गर्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले केही स्थानीय तहमा यस्तो समस्या देखिएको गुनासो आएको भन्दै राजनीतिक रुपमा भेदभाव नगरी काम गर्न निर्देशन दिएकी हुन् ।
“कतै कतै दलगत हिसावले भूमिहीनको तथ्यांक संकलन गरेको गुनासो आएको छ” उनले भनिन्, “सुकुम्बासी समस्या दल विशेषको नभएकाले वास्तविकता पत्ता लगाएर विवादरहित भएर तथ्यांक संकलन गर्नुहोला ।”
भूमिहीनहरुको विवरण संकलन गर्दा कुनैपनि कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिहरुले गलत विवरण संकलन गरेमा कारबाही गर्नेतर्फ पनि ध्यान दिन पनि मन्त्री तुम्बाहाम्फेले आयोगलाई निर्देशन दिइन् । उनले विवरण संकलन गर्नु भन्दा अगाडि नै यस सम्बन्धमा जानकारी गराउने र त्यसो गर्दा पनि सही विवरण नदिएको पाइएमा कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइन् । “यदि कुनै जनप्रतिनिधि वा त्यो विवरण सङ्कलन गरिरहदा खटने कर्मचारीहरुले गलत विवरण संकलन गरेमा वा गलत विवरण भर्नका लागि उक्साहट गरेमा यो ऐनमा व्यवस्था भए अनुसार दण्ड सजाय जे व्यवस्था छ त्यो कारबाही हुन्छ” उनले भनिन् ।”
मन्त्री तुम्बाहाङ्फेले सरकार परिवर्तन भएलगत्तै आयोगको नेतृत्व पनि परिवर्तन हुन्छ र आफू अनुकुलको सरकार आएपछि मात्रै काम गर्छु भन्ने मानसिकता बनाउन नहुने बताइन् ।
कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले केही पालिकाहरुमा आफू अनुकुलको सरकार आएपछि मात्रै काम गर्ने मनसाय रहेकाले समस्या भएको बताए । केही पालिकाहरुमा समस्या नै नभएको र केहीमा राजनीतिक भिन्नताको हिसाबले काम हुन नसकेको पनि अध्यक्ष ज्ञवालीले स्वीकार गरे । कतिपय पालिकाको बुझाइमा कमजोरी हुँदा पनि विवरण संकलन हुन नसकेको उनले बताए । आयोगको वार्षिक प्रतिवेदन अनुसार देशभर ४ लाख ६ हजार ५ सय २ जना भूमिहीन दलित र सुकुम्बासीको संख्या रहेको छ । यस्तै अव्यवस्थित बसोबास गर्नेहरुको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्