Logo

वैदेशिक रोजगारीमा ३१ करोड व्यक्तिगत ठगिका उजुरी

वैदेशिक रोजगारीमा जाने क्रम सुस्त भइरहेका बेला नियोगबाट मागपत्र प्रमाणिकरण नै नगरी अन्तर्वार्ता, छनोट गरी ठगि गर्ने गरेको पाइएको छ ।
वैदेशिक रोजगारीमा नेपाली श्रमिक जाने प्रमुख श्रम गन्तव्य कतारमा रहेको नेपाली नियोगबाट मागपत्र प्रमाणिकरण नै नगरी युवा छनोट गरी रकम माग गर्ने गरेको पाइएको हो । वैदेशिक रोजगार विभागले रोजगारीका लागि गन्तव्य मुलुक कतारमा कतार प्रहरीको रुपमा काम गर्ने गरी रोजगारीमा लैजाने भनी विभिन्न मेनपावर, व्यक्ति तथा अन्य संस्थाहरुले नेपाली नागरिकलाई प्रलोभनमा पारी राहदानीलगायतका कागजातहरु संकलन गरी ठगि गर्ने गरेको पाइएको जनाएको छ ।
विभागका निवर्तमान महानिर्देशक कुमारप्रसाद दाहालले कानुनी रुपमा मागपत्र प्रमाणीकरण गरी पूर्व श्रम स्वीकृति लिएर मात्र अन्तर्वार्ता लिनु पर्ने भएपनि सो प्रक्रिया पूरा नगरी रकम माग्नेलगायतका अवैधानिक कार्यहरु भइरहेको गुनासो आएको बताए । यसअघि विभागले कतार प्रहरीको नक्कली मागका आधार अन्तर्वार्ता लिएको भन्दै एसओएस, होप इन्टरनेसल र डीडी ह्युमन रिसार्से मेनपावरमा छापा मारेको थियो । कतार प्रहरीको लागि अन्तर्वार्ता लिइरहका केही मेनपावरमा नेपालस्थित कतार दूतावासको गाडीसमेत फेला परेको थियो । यसरी नै युएई, साउदी अरब र अन्य युरोपेली मुलुकहरुमा पठाइदिने भन्दै ठगि गरेका उजुरी समेत बढेको छ ।
वैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा नेपाली कामदार पठाउने कार्य निरन्तर रुपमा जारी रहेको भएपनि कतार प्रहरीका लागि हाल कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भई नआएको विभागले जनाएको छ । विभागले हाल कतार प्रहरीको कुनै पनि पूर्व स्वीकृति प्रदान नगरेको जनाउँदै कतार प्रहरीको नाममा हुन सक्ने सम्भावित ठगिबाट बच्न श्रमिकलाई सचेत गराएको छ ।
कुन गन्तव्य मुलुकमा के कस्तो कामका लागि कति संख्यामा कामदारको माग भएको छ भन्नेबारे विभागको वेवसाइटबाट जानकारी लिन सकिने भएपनि संस्था र व्यक्तिले विभिन्न प्रलोभन देखाएर युवालाई ठग्ने गरेको विभागको भनाइ छ । विभागले कुनै पनि इजाजतपत्रवाला संस्थाले विभागबाट पूर्व स्वीकृति प्राप्त नगरेको जनाएको छ । विभागले अन्तरर्वार्ता मिति तथा स्थान समेतको विवरण हेर्न सक्ने भएपनि यो अवधिमा कुनै पनि संस्थाले अन्तर्वार्ता लिएको नदेखिपनि स्थलगत अनुगमनमा भने अन्तर्वार्ता लिएर राहदानी र रकम संकलन गरेको पाइएको जनाएको छ ।
चालु आवको हालसम्म व्यक्तिगत ठगिका ३ सय ९० उजुरीमा ३१ करोड ४२ लाख ३८ हजार २ सय ४१ रुपैयाँ बराबरको उजुरी परेको छ । यस मध्ये हालसम्म ८६ उजुरी विरुद्ध विभागले अनुसन्धान प्रक्रिया पूरा गरेर मुद्दा दायर गरेको जनाएको छ । यो वर्ष अदालत गएका मुद्दाको दाबी रकम २३ करोड ७ लाख १२ हजार ३७० रुपैयाँ रहेको छ । हालसम्म ५६ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको छ । यसमध्ये ६ जना पीडित र पीडकबीच मिलापत्र भएको छ ।
विभागमा चैतमा मात्र व्यक्तिगततर्पm १ सय १९ उजुरी परेको छ । जसमा ८ करोड २२ लाख ६ हजार ११० रुपैयाँ बराबरको माग दाबी रकम रहेको छ । यसमध्ये चैत महिना ११ वटा ठगिका उजुरी अदालतमा गएका छन् । यसरी अदालतमा बिगो दाबी रकम १० करोड ८६ लाख १७ हजार मुद्दा दायर गरिएको छ ।
कानुनी रुपमा मागपत्र प्रमाणीकरण गरी पूर्व श्रम स्वीकृति लिएर मात्र अन्तर्वार्ता लिनु पर्ने भएपनि सो प्रक्रिया पूरा नगरी कतिपय व्यक्ति र संस्थाहरुले रकम माग्नेलगायतका अवैधानिक कार्यहरु गरिरहेको गुनासो आएको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्