नेपाली शिक्षाको गुणस्तर
प्रसिद्ध लेखक ड्यानियल प्रेलिप्सियनले भनेका छन्, एउटा मुलुकलाई विनाश गर्न कुनै आणविक हतियार, ठूला मिसाइल वा बम चाहिँदैन । शिक्षाको गुणस्तर घटाई परीक्षामा चिट चोर्न दिए पुग्छ । यसले गर्दा बिरामी चिट चोरेर पास भएको डाक्टरको कारण मर्छ, ठूला भवन चिट चोरेर पास गरेका इन्जिनियरको कारण भत्कन्छन्, चिट चोरेर पास गरेको लेखापालको हिसाबकिताब बिग्रिएर पैसा हिनामिना हुन्छ, चिट चोरेर पास गरेको न्यायाधीशको कारण न्याय हराउँछ र मूलतः चिट चोरेर पास गरेको शिक्षकले त्यस विद्यार्थीलाई बेवास्ता गर्ने हुँदा आगामी भविष्य पनि त्यस्तै हुने हुन्छ । शिक्षा भनेको केही सिक्ने, ज्ञान आर्जन गर्ने, अनुसान्धान र खोज गर्ने तथा आफूलाई ज्ञानी बनाउने एउटा माध्यम हो । तर, समयसँगै यसको परिभाषा परिवर्तन हुँदै छ— शिक्षा भनेको जागिरको न्यूनतम मेरुदण्ड, व्यवसायको एउटा क्षेत्र हुँदै गएको देखिएको छ ।
उच्च शिक्षाकै नाममा लाखौ युवा बिदेसिँदा हाम्रो शिक्षाप्रति गर्व गर्नुपर्ने कुनै आधार देखिँदैन । हाम्रो शैक्षिक प्रणाली अझै पनि निकै पछाडि रहेको छ र शिक्षामा विश्व बजारसामु कुनै फड्को मार्न सकेको देखिँदैन । सर्वप्रथम त हाम्रो शैक्षिक प्रणालीमा आधुनिकीकरणको अभाव रहेको छ । गत २० वर्षअगाडि वैदेशिक विश्वविद्यालयमा पढाइ भएका विषयहरू हाम्रो शैक्षिक प्रणालीमा अहिले देखिन्छ । हाम्रो पाठ्यक्रममा परिमार्जन गर्ने गरेको भेटिँदैन । पहिलो कारण त त्यसका निमित्त बाहिरको पाठ्यक्रम मूल्यांकन नै नगरी होटलमा बसेर निर्माण गरिन्छ, दोस्रो परिमार्जन गर्न नै खोजिÞँदैन, किनभने भोलि त्यसअनुरूपको पढाइ आफैंले गर्नुपर्ने दायित्व आइपर्दा, नसकिने अवस्था सिर्जना हुन सक्ने खतराप्रति कसैको रुचि नहुनु स्वाभाविक पनि हो । अहिले विश्वका प्रख्यात विश्वविद्यालयमा के पढाइ भइरहेको छ भन्ने खोजीनिती गर्नेभन्दा पनि आफूले आफ्नो पालोमा के पढियो भन्ने विषय प्राथमिकतामा पर्ने हुँदा हाम्रो शैक्षिक पाठ्यक्रम परिमार्जन हुन नसकेको हो ।
नेपालको शैक्षिक गुणस्तरमा सुधार नहुनुको अर्को कारण यस क्षेत्रमा समर्पित जनशक्तिको दक्षता पनि हो । जब अन्य कुनै क्षेत्रमा प्रवेश गर्न सकिँदैन, तब मात्र नेपाली युवाको शिक्षा अन्तिम विकल्प रहेको हुन्छ । यसको कारण पक्कै पनि यस क्षेत्रमा रहेको सेवासुविधा नै हो । शिक्षा क्षेत्रमा लगानी हुन्छ, नहुने हैन । तर, शैक्षिक गुणस्तर वृद्धिमा भन्दा पनि भवन निर्माणजस्ता भौतिक क्षेत्रमा बढी हुन्छ । आज त्यही गाउँमा जहाँ विद्यार्थी धेरै फेल हुन्छन्, त्यहाँ उच्च गुणस्तरको भवन बढिरहेको हुन्छ । भवनको उचाइ र शिक्षाको गुणस्तरबीच सम्बन्ध बुन्न खोजिँदा समग्र शिक्षामै प्रश्न उठेको छ । त्यसबाहेक शिक्षा राजनीति गर्ने अर्को स्थान बनेको देख्न सकिन्छ, जहाँ शिक्षक पढाइलाई दोस्रो प्राथमिकता र राजनीतिलाई पहिलो प्राथमिकता दिने गरिएको भेटिन्छ । कसरी गुणस्तरीय शिक्षक ल्याउनेभन्दा पनि कसरी आफू आबद्ध पार्टीको शिक्षक ल्याउने विचार हाबी हुँदा समस्या देखा पर्नु स्वाभाविक हो ।
फेरि नेपाललगायत अन्य विकासोन्मुख मुलुकमा, शिक्षाको उद्देश्य नै अंक प्राप्तिका लागि हो । तीन घण्टाको परीक्षाले एउटा विद्यार्थीको समग्र शैक्षिक गुणस्तर व्याख्या गरेको हुन्छ । यहाँ अंक नै शिक्षाको मेरुदण्ड भनी व्याख्या गरिने गरिन्छ र सफलता पारिभाषित गर्ने माध्यम पनि सोही अंक हो । विद्यार्थीको क्षमता, उसको सिर्जनशीलताजस्ता विषयहरूले यहाँ स्थान पाउँदैन । हिसाबमा कमजोर हुने विद्यार्थी, वादविवादमा अब्बल हुन सक्छन्; विज्ञानमा कमजोर रहेको विद्यार्थी कम्प्युटरमा राम्रो हुन सक्छन् भन्ने तरिकाले सोचिँदैन । एउटा पाठ्यक्रम छ, विद्यार्थीलाई रुचि होस् नहोस्, त्यसमा आफूलाई प्रमाणित गर्नुपर्ने बाध्यता रहिआएको देखिन्छ ।
त्यसबाहेक नेपालको शैक्षिक प्रणाली सिद्धान्त केन्द्रीकृत बढी देखिन्छ, जहाँ आइनस्टाइनले के भने, न्युटनको सिद्धान्त कण्ठ गर्न सक्ने क्षमता नै गुणस्तरीय मानिने गरिन्छ । व्यावहारिक पक्षलाई हाम्रो शैक्षिक प्रणालीले स्थान दिएको देखिँदैन । फलस्वरूप, नेपाली शिक्षा प्रणालीले व्यावहारिक पक्ष अँगाल्न सकेन । डिग्री सकेका विद्यार्थी खाडी मुलुकमा मजदुरी गरेर बाँच्नुपर्ने अवस्था छ, जसले नेपाली शैक्षिक गुणस्तर स्पष्ट झल्काउँछ । नेपाली शिक्षामा अनुसन्धानले कहिले स्थान पाएन । जब एउटा विद्यार्थीलाई विद्यालय जीवनबाट नै खोज र अनुसन्धानमा उत्प्रेरित गरिन्छ तब मात्र उसले आफ्नो एमबीएसमा आफैं आफ्नो थेसिस सक्न सक्छ; तर एकैपल्ट थेसिस गर्नु भनेर भन्दा, उसलाई कठिन लाग्नु स्वाभाविक हो र बाध्य भएर उक्त थेसिस बजारबाट खरिद गरिने गरिन्छ । थेसिस खरिद गरिरहँदा, दोषी देखिने विद्यार्थी वास्तवमा दोषी हैनन्; दोषी त शैक्षिक प्रणाली नै हो । अरू मुलुकहरू अध्यन र अनुसन्धानमा छलाङ मार्दा नेपाल त्यसमा रमितेबाहेक केही बन्न सकेको देखिँदैन । त्यसैले पनि आफैं कोरोनाको भ्याक्सिन निर्माण गर्ने परिकल्पना नेपालले कहिल्यै गर्न सकेन, किनभने यहाँको शैक्षिक प्रणालीमा त्यत्रो क्षमता कहाँ थियो र ?
शिक्षा सुधारका निमित्त सबै पक्षको एउटा बलियो पहल आवश्यक छ, अनि बल्ल नेपाली शैक्षिक गुणस्तरले विश्व बजारमा स्थान प्राप्त गर्ने छन् र अलग्गै पहिचान स्थापना गर्नेछन् । अन्यथा नेपाली शैक्षिक प्रणाली नाममै मात्र सीमित हुने हुन्छ, जहाँ पढ्नुको उद्देश्य केवल अंक बटुल्न र उक्त प्रमाणपत्र दराजभित्र थुपार्नमै सीमित हुने हुन्छ ।