प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप: दाहाल «

प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप: दाहाल

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाए ।

शुक्रबार ‘बागमती प्रदेश कराते च्याम्पियनसिप–२०२१ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हितविपरीतका गतिविधि गर्ने काम भएको बताए । प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा संलग्न भएको खबरहरू आएको भन्दै उहाँले सो खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको बताए । नेपालीहरूलाई राष्ट्रहित विरोधी षड्यन्त्र स्वीकार नभएको पनि अध्यक्ष दाहालले बताए । उनले भने, ‘तानाशाही र निरङ्कुश शक्तिहरू एकचोटी परास्त भए तर तिनीहरू पूरै परास्त अझै भएका छैनन् । उनीहरूको कसरत, षड्यन्त्र नेपाल र नेपाली जनताकाविरुद्ध चलिराखेको छ । देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरीत गतिविधि गर्ने काममा स्वयं सरकारका नेतृत्व गर्ने प्रमुखहरू नै लागेका खबरहरूले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा, उनीहरूको आत्मसम्मान र राष्ट्रिय स्वाधिनतामाथि प्रश्नचिन्ह खडा गर्ने दुस्साहस भएको छ । तर, सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता, बलिष्ठ नेपाली जनतालाई यी सबै षड्यन्त्र स्वीकार्य छैन ।’

अध्यक्ष दाहालले केही मानिसहरूले संघीयतालाई खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको पनि बताए । तर, परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली जनतालाई मान्य नहुने बताए । उनले भने, ‘अहिले पनि केही मानिसहरूले त्यस्तो सपना देख्छन् । संघीयतालाई खारेज गर्ने, स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरि केन्द्रका केही सीमित व्यक्तिहरूको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको छ । केही मुट्ठीभर मान्छेहरूले षड्यन्त्रपूर्ण तरिकाले यसलाई उल्ट्याउन खोज्ने कुरा नेपाली जनतालाई मान्य छैन ।’

अध्यक्ष दाहालले आर्थिक विकास र समृद्धिको लागि खेल क्षेत्रको भूमिका र महत्व बढ्दै गएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्