सुपारी आयातबारे अध्ययन गर्न उपसमिति «

सुपारी आयातबारे अध्ययन गर्न उपसमिति

संसदीय समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ ।
राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको बैठकले सुपारी निर्यातमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे अध्ययन गर्न रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो । सरकारको नजिकका व्यापारीलाई मन्त्रीस्तरीय निर्णयबाट २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिइएको बारे समितिमा सांसदहरुले प्रश्न उठाएपछि यसबारे अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय भएको हो ।
त्यसअघि समिति सदस्य रायमाझीले सुपारी निर्यातमा नीतिगत भ्रष्टाचार भएको भन्दै त्यसबारे अध्ययन गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका थिए ।
“सरकारले क्याबिनेट निर्णय गरेर २५ हजार मेट्रिक टन सुपारी आयात गर्न व्यापारीलाई इजाजत दिएको छ, के को लागि भन्दा १ किलो सुपारीमा १ सय ५० रुपैयाँ फाइदा हुन्छ” उनले भने, “२५ हजार मेट्रिक टन आयातका लागि ३ सय ८४ वटा फार्मले एप्लाई गरेका मध्ये सरकारसँग नजिक भएका केहीले मात्रै अनुमति पाएका छन् । त्यो सुपारी नेपालमा खपथ गर्नका लागि ल्याइएको होइन ।”
जुन सरकार आएपनि सधैँ सरकार र सरकारका मन्त्रीलाई अनुकुल हुनेगरी बजेट ल्याउने गरिएको भन्दै उनले दिगो विकासका लक्ष्य प्राप्तीलाई प्राथमिकतामा राखे नराखिएको बारे समितिले चासोका साथ अध्ययन गर्नुपर्ने बताए । राजनीतिक दलका नेताहरु मुलुक र जनताकाप्रति जिम्मेवार बन्न नसक्दा पछिल्लो पुस्तामा राजनीतिप्रति नै घृणा उत्पन्न हुन थालेको भन्दै उनले सबैले जिम्मेबार हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी समिति सदस्य दिनानाथ शर्माले सुपारी आयातका सम्बन्धमा भएको भनिएको नीतिगत भ्रष्टाचारका विषयमा अध्ययन गरी सरकारलाई निर्देशन दिनुपर्ने बताए । सुपारी आयातका लागि दिइएको अनुमतिबारे बुझ्नका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्