Logo

सामाजिक कार्यमा नेपाली सेना

सल्यान सीमखर्कमा कार्यरत नेपाली सेनाले समय–समयमा विभिन्न खालका सामाजिक कार्य गर्दै आएको छ । आफ्नो स्थापनाकालदेखि नै गौरबमय इतिहास बोकेको सबुज गणले आफू तैनाथ भएका बिभिन्न स्थानमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ ।
विगत वर्षमा पनि सल्यानमा कार्यरत नेपाली सेनाले महत्वपूर्ण कार्य गर्दै आएको र २०७७ सालमा पनि यस गणबाट निकै महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि यस गणले स्थानीय तहका पदाधिकारी एवं स्थानीय जनप्रतिनिधिहरूसँग आवश्यक समन्वय गरी आइस्योलेसन, क्वारेन्टाइन र सहायता कक्षको सुरक्षार्थ फौज तैनाथ तथा शव व्यवस्थापनमा उच्तस्तरको योगदान गरेको थियोे । साथै कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन कार्यमा समेत यस गणका फौज परिचालन भएको थियो । जनहित कार्यअन्तर्गत यस गणका फौजले बिभिन्न किसिमका स्वास्थ्य समस्या परेका व्यक्तिहरूलाई रक्तदान गर्दै आएको छ ।
बिपत व्यवस्थापनअन्तर्गत सबुज गणले सल्यानका बिभिन्न स्थानमा भएका बाढी, पहिरो तथा आगलागी नियन्त्रण कार्यमा समेत उद्धार कार्य तथा जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान दिएको छ । गणले आफ्नो जिम्मेवारी क्षेत्र जिल्लाको बिकट बाफुखोला इलाकामा साउन महिनामा गएको बाढी तथा पहिरोका कारण करिब ३५ घर जोखिममा परेकोमा गणबाट फौज खटाई प्रभावित क्षेत्रका जनताहरूलाई उद्धार गरी जनधनको ठूलो क्षति हुनबाट जोगाएको सबुज गण सल्यानका प्रमुख गणपति कञ्चन कृष्ण बस्नेतले कारोबार राष्ट्रिय दैनिकलाई जानकारी दिए ।
सल्यानका बिभिन्न ठाउँमा खलंगा, मार्के, लुहापिङ्ग, खैराबाङ, छत्रेश्वरी, शैलेश्ररी, स्यानीखाल, बनगाड, तथा गौरागाउँस्थित सामुदायिक वनहरू तथा व्यक्तिगत घरमा भएको आगलागी नियन्त्रण कार्यमा सबुज गणका फायर फाइटिङ टोली परिचालन गरिएको बस्नेतले बताए ।
यस गणले जिल्ला वनस्पति कार्यालय, सल्यानको सहयोगमा सीमखर्कस्थित ब्यारेक हाताभित्र पर्यावरण संरक्षण तथा स्वच्छ वातावरणको अबधारणा अनुरुप बोटानिकल गार्डनको अवधारणा मा व्यारेक सुन्दरता अन्तर्गत सबुज शान्ति बाटिका, स्टार पोखरि तथा सबुज डबलिको निर्माण गरिएको सबुज गण सल्यानका प्रमुख बस्नेतले जानकारी दिए ।
सल्यानको दार्मा गाउँपालिका–५ ढाकाडामको त्रिवेणीमा गणको आर्थिक लागत र गणका सकलदर्जाको ४ महिनाको श्रमदानबाट निर्माण सम्पन्न भएको ४–कोठे पक्कि प्रसूति गृहको निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको सह–सेनानी भेषराज पाण्डेले बताए ।

कर्णाली प्रदेश मै पहिलो पटक सल्यानमा रातको समयमा लैंगिक सुविधा युक्त हेलिप्याड
कर्णाली प्रदेश मै पहिलो पटक सल्यानमा रातको समयमा लैंगिक सुविध युक्त हेलिप्याड निमार्ण कार्य सुरु भएको सबुज गण सल्यानका प्रमुख गणपति कञ्चन कृष्ण बस्नेतले जानकारी दिए । उनले भने ‘कर्णाली प्रदेशका १० वटा जिल्लामा रातको समयमा लैंगिक सुविधायुक्त हेलिप्याड निर्माण नभएको र सल्यानमा निमार्ण कार्य सुरु भइरहेको हँुदा कर्णाली मै रातको समयमा लैंगिक सुविधायुक्त हेलिप्याड भएको जिल्ला सल्यान हुने,’ बस्नेतले जानकारी दिए ।
सवुज गणको हाताभित्र रहेको हेलिप्याडलाई स्तरोन्नति गरी रातको समयमा लैंगिक सुविधायुक्त हेलिप्याड बनाउनका लागि शारदा नगरपालिका संग आबश्यक पहल र समन्वय गरी नगरपालिकाको आर्थिक सहयोगमा हाल कार्यसमेत सुरु गरिएको बस्नेतले बताए । साथै बागचौर नगरपालिका र कालिमाटी गाउँपालिकाहरूमा पक्की हेलिप्याड निर्माणको लागि स्थानिय जनप्रतिनिधि सहितको टोलिबाट स्थलगत अबलोकनसमेत भई निर्माणको चरणमा जाने तयारी भइरहेको बस्नेतले बताए । यसबाट जिल्ला विपद् व्यवस्थापन कार्यमा सहजता आउने विश्वास लिइएको छ । – मेघा रेउले

प्रतिक्रिया दिनुहोस्