Logo

नेपाली महिलाले अन्नपूर्ण–१ मा राखे कीर्तिमान

नेपाली महिलाले अन्नपूर्ण–१ मा कीर्तिमान राखेका छन् । कारोबारकर्मी पूर्णिमा श्रेष्ठसहित ६८ जना आरोही टोलीले शुक्रबार ८ हजार ९१ मिटरको अन्नपूर्ण (प्रथम) हिमाल आरोहण गरेका थिए । टोलीका श्रेष्ठसहित ६ महिना सहभागीले कीर्तिमान राखेका हुन् । अन्नपूर्ण (प्रथम) हिमाल हालसम्म नेपाली महिलाले आरोहण गरेका थिएनन् ।
कोभिड–१९ महामारीका बीच जारी सिजनको पहिलो हिमाल आरोहण गर्ने महिलामा कारोबारकर्मी श्रेष्ठ, पासाङ ल्हामु शेर्पा, शर्मिला तामाङ, दावा याङ्जेन शेर्पा, दावा फुटी शेर्पा र माया शेर्पा छन् ।
‘शुक्रबार ६ नेपाली महिलासहित शेर्पा गाइड तथा विदेशी आरोही गरी ६८ जना आरोहीहरुले विश्वको दशौं अग्लो हिमाल अन्नपूर्ण (प्रथम) आरोहण गरेका छन्,’ सेभन समिट टेरेक्सका अध्यक्ष मिङ्मा शेर्पाले भने, ‘६ नेपालीले पहिलो पटक अन्नपूर्ण (प्रथम) हिमालको आरोहण गरी इतिहास बनाएका छन् । सो हिमाल हालसम्म नेपाली महिलाले आरोहण गरेका थिएनन् ।’
शेर्पाका अनुसार शुक्रबार दिउँसो १ देखि साढे ४ बजेसम्म बाटो बनाउँदै गएको शेर्पाहरुको समूहलाई पछ्याउँदै आरोहीहरु शिखरमा पुगेका हुन् । टोली आरोहण गरी हाल आधार शिविरमा फर्किने क्रममा रहेको र सोमबार फर्किसक्ने शेर्पाले बताए ।
गोरखा घर भएकी फोटो पत्रकार श्रेष्ठले यसअघि सगरमाथा (८८८४.८६ मिटर), मनास्लु (८१६३ मिटर) र अमादब्लम (६८१२ मिटर) आरोहण गरिसकेकी छन् ।
शुक्रबार ६८ जनाले एकैपटक आरोहण गरेका थिए । अन्नपूर्ण (प्रथम) आरोहण गर्न एकदमै जोखिमपूर्ण र कठिन भएकाले हालसम्म करिब ३ सयको हाराहारीले मात्र आरोहण गरेका छन् । सन् १९५० जुन ३ मा अन्नपूर्ण (प्रथम) आरोहण फ्रान्सेली पर्वतारोही मौरिस हर्गोजले गरेका थिए । पर्यटन विभागले जारी सिजनमा अन्नपूर्ण हिमाल आरोहणका लागि ४ आरोहण दलका ८ महिला र ३६ पुरुष सहित ४४ जनाले अनुमति लिएका थिए ।
चालू सिजनमा ७० जनाभन्दा बढीले आरोहण गरेको हुनसक्ने पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन् । यकिन तथ्यांक आउन बाँकी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्