‘डीएनए एकिन पछिमात्र शव व्यवस्थापन गर्नू’ «

‘डीएनए एकिन पछिमात्र शव व्यवस्थापन गर्नू’

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बेवारिसे शवको वायोमेट्रिक औंठाछाप र डीएनए नमुना संकलन भएको एकिन भएपछि मात्रै शव व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
बिहीबार समितिको बैठकले अस्पतालमा रहेका बेवारिसे शवको विस्तृत विवरणसहित छुट्टै वेब पेज वा डोमेन बनाई सञ्चार माध्यमबाट बढिभन्दा बढी सूचना सम्प्रेषण गरी हरेक शवको वायोमेट्रिक औँठा छाप र डीएनए नमुना संकलन भएको एकिन भएपछि मात्रै शव व्यवस्थापनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी, बेवारिसे शव व्यवस्थापन निर्देशिका छिटो पारित गरेर कार्यान्वयनमा ल्याउन र बेवारिसे शवको सम्बन्धमा जिल्लास्थित सरकारी वकिल कार्यालय, जिल्ला अस्पताल र नेपाल प्रहरीको फरक फरक तथ्यांक भएकाले तिनै निकायबीच समन्वय गरी एउटै तथ्यांक आउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ । समितिको निर्देशनबारे जानकारी दिँदै समिति सभापति शशी श्रेष्ठले भनिन्, “हाल अस्पतालमा रहेका बेवारिसे शवको प्रष्ट मुखाकृति देखिने फोटो एवं हुलियासहितको अभिलेख विवरण नेपाल प्रहरीको वेबसाइटमार्फत सार्वजनिक गरिँदै आएकोमा अब उप्रान्त अस्पतालमा रहेका प्रत्येक पहिचान नखुलेका बेवारिसे शवको विस्तृत विवरणसहित छुट्टै वेब पेज वा डोमेन निर्माण गरी सञ्चारका विभिन्न माध्यम तथा सामाजिक सञ्जालबाट बढीभन्दा बढी सूचना सम्प्रेषण गरी हरेक शवको वायोमेट्रिक औँठाछाप र डीएनए नमुना संकलन भएको एकिन भएपछि मात्र शव व्यवस्थापन गर्ने व्यवस्था मिलाउने । बेवारिसे शवसम्बन्धी जिल्लास्थित जिल्ला सरकारी वकिल, जिल्ला अस्पताल र नेपाल प्रहरीको वेबसाइटमा फरक फरक तथ्यांक उपलब्ध हुने गरेकाले ती निकायबीच समन्वय गरी एउटै तथ्यांक आउने व्यवस्था मिलाउने ।” समितिले जघन्य अपराध तथा फौजदारी कसुरजन्य घटनाका बेवारिसे शवको हकमा कम्तीमा २० वर्ष अभिलेख राख्न पनि निर्देशन दिएको छ । राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शून्यमा पु¥याउन समितिले निर्देशन दिएको छ । सभापति श्रेष्ठले भनिन्, “जघन्य अपराध तथा फौजदारी कसुरजन्य घटनाका बेवारिसे वा पहिचान नखुलेका शवको कम्तीमा २० वर्ष अभिलेख रहोस् । राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई यथासम्भव छिटो सम्पन्न गरी वायोमेट्रिक प्रणाली औँठाछापको माध्यमबाट पहिचान नखुलेका बेवारिसे शवहरुको संख्या शून्यमा पु¥याउने ।” बैठकले कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्